
नेपाललाई प्रास्थितिक बनौट अनुसार नेपाल तीन भागमा विभाजित छन् । उत्तरबाट हेर्दा हिमाल, पहाड र तराई रहेका छन् । यी तीनै प्रदेशहरू जलवायु, भौतिक संरचना भूदृश्य र उँचाइमा एक–अर्काभन्दा निकै फरक फरक रहेका छन् । हिमाली प्रदेशको भूमिक्षेत्र समुद्र सतहभन्दा ४,८७७ देखि ८,८४८ मीटरको उँचाइमा अवस्थित छ । यसले नेपालको कुल भूमि प्रतिशतमध्ये ३५५ ओग्टेको भएपनि उपजाउ जग्गा निक कम रहेको छ । यस प्रदेशमा हिमालय श्रृंखलाको चट्टानीय क्षेत्र बढी रहेकोले मानव बसोवासका लागि अनुपयुक्त देखिन्छ । पहाडी प्रदेश समुद्र सतहभन्दा ६१० देखि ४,८७७ मीटरको उँचाइमा अवस्थित छ । नेपालको ४२ प्रतिशत भाग यस प्रदेशले आफूभित्र ओग्टेको छ । यस प्रदेशमा धेरै उपत्यका तथा नदी तटीय क्षेत्र पाइएकाले सो क्षेत्र खेतीपाति तथा बसोवासका लागि निकै सुहाउँदो मानिन्छ । तराई मधेश प्रदेश समुद्री सतह ६० देखि ६१० मी. को उँचाइमा अवस्थित छ । यस प्रदेशले नेपालको कुल जमीन प्रतिशतको २३ प्रतिशत मात्र ओग्टेको छ । तराई मधेश समतल भूमिको कारण तथा चुरिया क्षेत्रबाट, बगेर, आएको लइ पदार्थले गर्दा निकै उर्बर देखिन्छ । यहाँको पाँगो माटो खेतीपातीको लागि उत्तम मानिन्छ । तराई मधेस क्षेत्रको औषत चौडाइ ३० किमी. रहेको छ ।
यसको तापक्रम गर्मी तथा आर्द्र रहेका छन् । केही चुरिया श्रृंखलालाई छोडेर यसका भूदृश्य समतल देखिन्छ । यस प्रदेशमा २१ जिल्लाहरू पर्दछन् । भूस्रोत नक्सा परियोजनाका अनुसार नेपालको कुल उब्जाउँ जग्गाको ५१.७ प्रतिशत तराई मधेशमा नै छ । हिमाल र पहाड मिलाएर जम्मा ४८.३ प्रतिशत उब्जाउ जग्गा भएपनि भूबनौटको हिसाबले खेतीपाती गर्न सजिलो देखिँदैन । यस क्षेत्रमा दिनप्रतिदिन जनसङ्ख्याको तीब्र बृद्धिले गर्दा यो क्षेत्र निकै बढी प्रभावित भएको छ । हालको जनसंख्याको बाँटफाँटलाई हेर्दा नेपालको आधा भन्दा बढी जनसंख्या यसै क्षेत्रमा बसोवास गरेका छन् । तराई मधेसमा भित्री र बाह्य प्रवासनले गर्दा यहाँको उब्जाउ जग्गा विस्तारै खुम्चिँदै आएको छ । एकातिर खेतीपातीको जग्गा घट्दै जानु र अर्को तिर बसाइँ सराईले गर्दा जनसंख्या बृद्धिमा तिब्रता आउनुले तराई मधेस बढी प्रभावित भएको छ । हिमाली र पहाडी प्रदेशबाट तराई मधेसतिर बसाइँ सराइको प्रवाहले पूरै नेपालमा अन्नसंकट उत्पन्न गरेको छ । आजभन्दा ३–४ दशक अघि तराई मधेसका बासिन्दाले आफ् नो देशलाई अन्न पूरा गरी भारतीय सीमा बजारहरूमा बिक्री गर्न लग्थे र त्यहाँबाट आफ्ना घरमा प्रयोग हुने सरसमान तथा लताकपडा ल्याउँथे जसले गर्दा नेपाल भारतको व्यापार समेत सन्तुलनमा थियो । अहिले भारत लगायत अन्य देशहरूबाट एकतर्फी रूपमा नेपालमा पैठारी हुने कामले गर्दा यसको व्यापार घाटा उत्कर्षमा पुगेको देखिन्छ ।
हिमाल तथा पहाडको जनसंख्यालाई शहर तथा तराई मधेसतिर झर्नबाट रोकेन भने एक दिन यस्तो समय आउनेछ जहाँ पूरै पहाडी भूभाग खाली हुनेछ र अति जनसांख्यिकीय सक्रमणमा नेपाल फस्नेछ । अब जनसंख्याको बसाइँ सराइतिर लागौं । बसाइँ सराइले गर्दा दुबै क्षेत्र अर्थात उत्पति स्थल र उद् गम स्थल प्रभावित हुन्छन् । उत्पति अर्थात प्रस्थान स्थलमा जनसंख्या घट्न जान्छ भने उद्गम अर्थात पहुँच स्थलमा बढी जनसङ्ख्या थुपर्न जान्छ जसले गर्दा एकातिर खेतीपाती गर्न मजदूरको अभाव हुन्छ भने अर्कोतिर मजदुर बेरोजगारीको सामना गर्न बाध्य हुन्छन् । यसैले देशको विकासमा बसाइँ सराइको निकै महत्व छ तर यसमा सरकारको निगरानी रहिरहनु पर्छ । अब हामी तराई मधेशसम्म कहाँबाट र कसरी बसाइँ सराइ भइराखेको छ त्यतातिर पाठक वर्गलाई लग्न चाहन्छौ । विकसित देशहरूले बसाइँ सराइलाई एकदम नियन्त्रणमा लिई सकेको भएपनि विकसित तथा अल्पविकसित देशहरू अहिले पनि यसलाई वास्ता नगरेको देखिन्छ । जसले गर्दा देशमा चौतर्फी प्रभाव पर्न गएको हेर्न सकिन्छ । अब उप्रान्त नेपालको आन्तरिक बसाइँ सराइतिर जाँदा तराई यसबाट निकै प्रभावित भएका कुरालाई तलका तथ्याङ्कले समेत पुष्टि गरेको छ । नेपालको राष्ट्रिय जनगणना २०११ लाई हेर्दा हिमाल र पहाडबाट क्रमशः ३४९,१३२ र ७२२,४५६ जना बाहिएका छन् भने यी सबै बाहिरएका जनसंख्यालाई तराई मधेसमा भित्राएका छन् ।
यस्ता प्रबृति विगतको जनगणनाहरूमा समेत देखिन्छ । यस्तै प्रवृति २०२१ को जनगणनाले समेत देखाएको छ । एकातिर हिमाल र पहाड खाली हुँदैछ भने तराई मधेस भरिभराउ भएको छ । २०११ को जनगणनामा तराई मधेसको जम्मा जनसंख्या १३,३१८,७०५ (५०.३५) रहेकोमा हाल २०२१ को जनगणनामा बढेर सो जनसंख्या ५३.६१ प्रतिशत अर्थात १५,७३५,१३० भएका छन् । यसरी दिनप्रतिदिन तराई मधेसको जनसंख्या बढ्दै जाँदा तराईमा भएका प्राकृतिक स्रोतमाथि निकै बढी हस्तक्षेप पुग्न गएको देखिन्छ । विगतमा जो तराई पूरै नेपालको लागि अन्नको भंडार अर्थात भखारी रहेकोमा हाल त्यो भंडार रितै देखिन्छ । हाल तराईमा बस्ने मानिसहरू पनि बर्षैभर आफ्नो उत्पादनका अन्न खान पाइरहेका छैनन् । यसरी विगतमा नेपालको हिमाल, पहाडलाई पूरा गरेर बाँकी अन्न भारतमा निर्यात गर्दै गरेकोमा हाल यहाँका जनता शतप्रतिशत भारतमाथि पराश्रित बनेका छन् । भोलिका दिनमा यसमाथि राम्ररी विचार पु¥याउन सकेनौं भने यहाँको अवस्था कस्तो हुने हो एकछिन सोचांै त ! अहिले पनि सोच्ने बेला गएको छैन । जनसंख्या बृद्धिदर दिनप्रतिदिन घट्दै गएकोले यसलाई सुधार्न एउटा शुभ संकेत आएको भन्न सकिन्छ । तर यतातिर कसैको ध्यान गएको देखिँदैन । पर्यावरणलाई जोगाउन तथा बसोवासलाई व्यवस्थित गर्न सरकारको ध्यान पुगेको छैन् । यस कुरामा ध्यान गएन भने भोली आउने भूखभरी जस्ता विकराल समस्यासँग जुझ्नु पर्ने देखिँन्छ ।
अहिले तराई मधेस लगायत पूरै नेपाललाई आन्तरिक बसाइँ सराइले प्रभावित गरि रहेको देखिन्छ । हिमाल र पहाडका जनसंख्या खासगरी पहाडका नगर हरूमा थुप्रिएका छन् । नेपालको जिल्ला सदरमुकामहरू यस्ता जनसंख्याबाट निकै प्रभावित भएका छन् । त्यतिले मात्र अटाउन नसकेर तराई मधेसको समतल जग्गामा आकर्षित भएका छन् । तराईमा रहेको उर्बर भूमिलाई सुरक्षित गर्नु पर्ने भएपनि नगरेर जथाभावी बसोवास गर्न गाउँका गाउँ बढ्दै आएका छन् । तराईको बनजंगल, नदीनाला, चुरे श्रृंखलालाई नजोगाइकन पर्यावरण पनि सन्तुलित रहन सक्दैन् । चुरे तराई क्षेत्रको बिग्रदो वातावरणीय अवस्थाले गर्दा त्यस क्षेत्रमा पारेको प्रतिकूल प्रभावप्रति संवेदनशील हुनै पर्दछ । यसरी मानवजीवन तथा अन्यजीवजन्तुमा पर्ने प्रभावलाई केन्द्र विन्दुमा राखेर वर्तमान अवस्थालाई विश्लेषण गरी नियन्त्रतिर लाग्नु नितान्त आवश्यक देखिन्छ । तराईको उर्बर भूमिको उत्पादकत्वमा ह्रास आएपछि निकै कठिनाइको सामना गर्नु पर्ने हुन्छ । यसले प्राकृतिक अवस्था खास गरी कमलो भौगर्भिक बनौटमा जलवायु परिवर्तनको असर समेतले संवेदनशीलतामा बृद्धि भइरहेकोमा मानव क्रियाकलाप खास गरी अव्यवस्थित बसोवास, वन पैदावरको अव्यवस्थित दोहन्, भूक्षमता अमैत्री कृषि प्रणाली, घरपालुवा चौपायाको खुला चरिचरन, नदीजन्य पदार्थको अव्यवस्थित उत्खनन्, वन डढेलो, वातावरण–अमैत्री भौतिकपूर्वाधार विकास जस्ता कारणले तराईको वातावरणीय अवस्था नाजुक भइसकेको छ । यहाँ बसोवासमा बृद्धि भएपछि चौतर्फी वातावरणलाई प्रभावित गरेको छ ।
यस क्षेत्रको चुरे श्रृंखला सहितमा ओग्टेको कुल भूभाग मध्ये २०६७ को तथ्याङ्क अनुसार ७३.५६ प्रतिशत वन फुटकर रूख तथा झाडी, बुट्यान समेतले विगत १५ वर्षको अवधिमा वनले ढाकेको क्षेत्र प्रतिवर्ष ०.१८ प्रतिशतको दरले संकुचन हुन पुग्यो । तराई मधेसलाई अलग गरेर हेर्दा कुल भूभागमध्ये २०६७ को तथ्याङ्क अनुसार २०.८८ प्रतिशत मात्र वन, फूटकर रूख तथा झाडी बुट्यान समेतले ढोकेका छन् । विगत १९ वर्षको अवधिमा वनले ढाकेको क्षेत्र प्रति वर्ष ०.४५ को दरले संकुचन हुन पुग्यो । यसरी अव्यवस्थित कटान, चरिचरन, आगलागीबाट तराई मधेसको वन आक्रान्त छ । यसरी नेपालको तराई मधेस क्षेत्रमा आन्तरिक बसाइँ सराइले गर्दा खेतीपातीको उर्बर भूमिमा संकुचनका साथै नियमित रूपमा ह्रास बढ्दै गएको देखिन्छ । यसरी हाम्रो तराई मधेस क्षेत्र दिनप्रतिदिन यस्ता अतिक्रमणबाट निकै आक्रान्त छ । यसलाई समयमै जोगाउन सकेनौं भने भोलिको दिनमा हाम्रो परनिर्भता बढ्दै जानेमा कुनै शंका छैन । आजभन्दा चार पाँच दशक अघि नेपालमा वनजंगल, खेतीपातीका उर्बर भूमि, नदीनाला जस्ता प्राकृतिक स्रोत निकै सन्तुलित अवस्थामा रहेकाले नेपाल भारतको व्यापार पनि संतुलित अवस्थामा थियो । आजसम्म आउँदा हामी आफ्ना सारा स्रोत गुमाउँदै विदेशी मुलुकमाथि निर्भर हुन पुगेका छौं । अहिले हाम्रो देशमा जलविद्युत बाहेक कुनै यस्ता स्रोत छैन जसले व्यापार घाटालाई सन्तुलन बनाउन सक्ने छ । तर हिमालदेखि तराई मधेससम्म वातवारणमा बढी अतिक्रमणले गर्दा पानीको मुहानमा समेत असर परेको हुनाले विद्युत उत्पादनमा समेत असर नपर्ला भन्न सकिन्न । नेपालमा हरेक आन्दोलन ताका आफ्नो राजनीतिक उद्देश्य पूरागर्न धेरै प्राकृतिक स्रोतलाई लुटाएको देखिन्छ ।
२००७ सालको प्रजातान्त्रिक आन्दोलनताका राणा सरकार २०३६ को प्रजातान्त्रिक आन्दोलनमा पंचायत सरकार, २०४६÷०४७ को लोकतान्त्रिक आन्दोलनमा श्री ५ को सरकार र २०६२।०६३ को गणतान्त्रिक आन्दोलनमा प्रजातांत्रिक सरकारले नेपालमा धेरै प्राकृतिक स्रोतहरू मास्न लगाए । यस्तै राजा महेन्द्रद्वारा पूर्वपश्चिम राजमार्ग निर्माणले तराई मधेसमा रहेको जंगलको निकै ठूलो भाग मास्न लगाए । यदि त्यसैबेला हुलाकी सडकलाई पुनर्सुधार गरी प्रयोगमा ल्याएको भए आज नेपालको “हरियो वन नेपालको धन” लाई त्यति असर पर्ने थिएन होला । अब अन्तमा मूल शीर्षकतिर लाग्दा तराई मधेस आन्तरिक बसाइँ सराइले गर्दा निकै आव्रmान्त बनेको छ । यहाँ रहेका बस्तीहरूसमेत उजार देखिन लागेको छ । जताततै विनासकै कुरा सुनिन्छ । यसलाई संरक्षण गर्न एउटा दीर्घकालीन योजनाको आवश्यक्ता देखिन्छ । देशमा भएका ठूला ठूला विद्वानहरूलाई बुलाएर यस विषयमा छलफल गर्ने समय आइसकेको छ । यहाँका धरैपिच्छेका युवाहरू विदेशिएका छन् । जो पढेलेखेका युवाहरू छन् उनी बेरोजगार छन् । जुन देशले युवाशक्तिलाई व्यवस्थित गर्न सक्दैन त्यसदेशलाई निकै ठूलो समस्याको सामना गर्नु पर्नेछ । अहिलेको वैज्ञानिक युगमा देशमा रहेका हिमाल, पहाड र तराई मधेसलाई संरक्षित गर्नु जरूरी छ । वातावरण संरक्षण विना दिगो विकासको कल्पना गर्न हवाइ किल्ला बनाउने सरह हुन जानेछ । तराई मधेसको उर्बर भूमि हाम्रो मुटु हो । यसलाई जोगाउनु सबै देशवासीको परम् कर्तव्य हुन आउँछ । इतिश्री ।