
मधेश प्रदेशका नव निर्वाचित सांसदहरुको तलबबाट पार्टीहरुले पुनःलेबि लिन शुरु गरेको छ । यस अघि विगत दुई आर्थिक वर्ष सांसदहरुले आफ्ना तलबबाट लेबि बुझाई रहेका थिएनन् । तर नव निर्वाचित सांसदहरुसँग प्रदेश सभामा रहेका ठूला दलहरुले लेबि लिन शुरु गरेको छ ।
प्रदेश सांसदको मासिक तलब ६३ हजार २० रुपैयाँ रहेको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेश सभाका सबैभन्दा ठूलो दल नेकपा एमाले आफ् ना सांसदहरुबाट तलबको १२ प्रतिशत मासिक रुपमा लेबि लिने गरेको छ । त्यसै गरी नेपाली कांग्रेसले सांसदको तलबको २० प्रतिशत र जसपाले १५ प्रतिशत मासिक रुपमा सांसदहरुबाट लेबि उठाइ रहेको छ । सो मध्ये जनमत पार्टी सबैभन्दा बढी आफ्ना प्रदेश सांसदहरुको तलबबाट मासिक रुपमा १८ हजार रुपैयाँ असुली गरिरहेको छ ।
त्यसै गरी नेकपा एकीकृत समाजवादी पार्टी मासिक १० हजार, माओवादी केन्द्रले मासिक ६ हजार ५ सय र लोकतान्त्रिक समाजवादी पार्टीले मासिक ७ हजार लेबिको रकम सांसदहरुको तलबबाट लिने गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । एउटै सांसद रहेका पार्टीहरु नेपाल संघीय समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्नमुक्ति पार्टीले भने लेबि निर्णय गरेको छैन । प्रदेश सभा सचिवालयले पार्टीहरुको परिपत्र अनुसार सांसदहरुको तलबबाट मासिक रुपमा लेबिको रकम कट्टा गरी पार्टीको खातामै बुझाउने गरेको छ ।