अपडेट 
२०७९ चैत्र २३, बिहीबार ०७:३२

महोत्तरीको पिपरामा सडक विस्तारको क्रममा हनुमान मन्दिरको पर्खाल भत्काउदा विवाद भएको छ ।

जनकपुरधाम भिठ्ठामोड सडक खण्डको पिपरा गाउँपालिका–४ मन्दिर भएको स्थानमा ८० फिट सडक विस्तार गर्ने क्रममा सडक विभागले स्थानीय सरकार र प्रहरीको रोहबरमा बुधबार मन्दिरको पर्खाल भत्काएको थियो । बिना कुनै सूचना मन्दिर भत्काएको भन्दै स्थानीयवासीहरुले विरोध जनाएका थिए । स्थानीयवासीहरुले केही बेर चक्का जाम गरी प्रशासन विरुद्ध नाराबाजी गरेका थिए । यता पिपरा गाउँपालिका प्रमुख राम जानकी यादवले कुनै विवाद नरहेको बताएका छन् । सडक विस्तार गर्दा सरोकारवालाहरुले गरेको निर्णय अनुसार नै मन्दिरको पर्खाल र एउटा भवन भत्काइएकोले कुनै विवाद नै नरहेको प्रमुख यादवले स्पष्ट पारे ।

मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको जग्गालाई जोगाउनका लागि मन्दिरको पर्खाल भत्काइएको अभिवक्ता उमेश यादवले आरोप लगाएका छन् । सडक निर्माण गर्दा ऐतिहासिक धर्मस्थल,पौराणिक आस्थाको भवनहरु भत्काउनुको साटो अर्को तर्फबाट जग्गा लिन सक्ने प्रावधान हुँदाहुँदै पनि प्रदेश प्रमुखको जग्गा जोगाउन मन्दिरको पर्खाल भत्काइनु दुर्भाग्यपूर्ण रहेको धारणा उनले राखे । १ ८ . ५ ६ किलोमिटरको जनकपुर भिठ्ठामोड सडक निर्माणको अन्तिम म्याद चैत ३०गते समाप्त भइसकेको छ भने अहिलेसम्म सडक निर्माणले पूर्णता पाउन सकेको छैन । ठेकेदारहरुको लापरबाहीको कारण सडक निर्माण कार्य अधुरो रहेको स्थानीयवासीहरुको आरोप रहेको छ ।

Comment


Related News

Latest News

Trending News