
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद र देशलाई उपेन्द्र यादव आवश्यक रहेको बताएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्र पुगेर बिहीबार कलैयामा नेता नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकतालाई औंल्याएका छन् ।
बाराको क्षेत्र नं २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका यादवको पक्षमा माहोल बनाउन नेपाल बुधबार साँझ कलैया पुगेका थिए । बारा २ को चुनावी मैदानमा रहेका यादवलाई भेटमा नेपालले गठबन्धनको जित सुनिश्चित रहेको दाबी गरे । यादवलाई विजयी बनाउन अपिल गर्दै नेता नेपालले भने–‘सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ । त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्यधिक मत दिएर विजयी गराउन नेकपा एसको पार्टी पंक्ति एवं बाराबासीलाई आग्रह गर्दछु ।’ नेपालको राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण मानिएको लोकतान्त्रिक गणतन्त्र स्थापनामा मधेश जनविद्रोहको उच्च स्थान रहेको भन्दै उनले मधेश विद्रोह, पहिचान, समावेशी र संघीयता जस्ता महत्वपूर्ण परिवर्तनका एजेण्डालाई संस्थागत गर्न देश र प्रदेशहरुको समयानुकूल विकास गर्न संसदमा जसपा अध्यक्ष यादवको उपस्थिति अपरिहार्य रहेको जिकिर गरे ।
अध्यक्ष नेपालले बुधबार नै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग पनि भेट गरेका थिए । भेटका क्रममा नेताहरुले मधेश सरकारका गतिविधि र बाराको चुनावी अभियानबारे छलफल गरेका थिए । उनले संविधानको रक्षा र गणतन्त्र संस्थागत गर्नका लागि सत्ता गठबन्धन गरिएको बताए । अध्यक्ष नेपालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सम्मको प्राप्त उपलब्धिलाई समाप्त पार्नका लागि दुई पटक सदन विघटन गरेर मुलुकमा एकतन्त्रीय शासन व्यवस्था लाद्न खाजेको उनले आरोप लगाए । गठबन्धन ५ बर्ष नै टिक्नेमा आपूm आशावादी रहेको बताउदै अध्यक्ष नेपालले यो गठबन्धनलाई कमजोर गरेर गठबन्धन फुटाउने सपना नदेख्न सुझाव दिए । किसानहरु अर्थतन्त्रको आधारशिला रहेको बताउदै किसानहरुको खेती सहज रुपमा सिँचाई गर्नका लागि मेची देखि महाकालीसम्म नहरको निर्माण गर्न सरकार लागि परेको जानकारी दिए । सरकारलाई ठूलो आयोजना सफल गर्न उपेन्द्र सदन भित्र आवश्यक रहेको समेत स्मरण गराए । यता, जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपेन्द्र यादवले जिते के हुन्छ र केपी ओलीले जिते के हुन्छ भन्ने कुरा प्रदेशलाई हेरे थाहा हुने बताए ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले ’उपेन्द्र यादवले जिते के हुन्छ’ भन्दै कटाक्ष गरेपछि बस्नेतले उक्त प्रतिक्रिया दिएका छन् । ‘केपी ओलीले बिहीबार आफ्नो मन्तव्य दिने क्रममा दर्जनौं पटक ‘मधेश प्रदेश’को नाम लिए त्यो नाम उपेन्द्र यादवको कारण सम्भव भएको हो । आफ्नो प्रदेशका जनतालाई मधेशी भन्नमा गौरव गर्ने बनाएको उपेन्द्र यादवले हो, बस्नेतले भने । केपी ओलीले जितेर आएको प्रदेश अहिले अशान्त छ । आन्दोलित छ । त्यहाँका जनताले पहिचान र अधिकार मागिरहेका छन् । मान्छेहरु मरिरहेका छन् । यो कस्को कारणले हो, उनले प्रश्न गरे । मधेश प्रदेश नामकरण भएपछि मधेशमा उपेन्द्र यादवलाई जनताले सम्मान गरेका थिए । कोशी प्रदेश नामकरण भएपछि केपी ओली आफ्नो प्रदेशमा जान सक्ने स्थिति नरहेको उनले दावी गरे । त्यहाँका जनताले सांसदलाई कालो झण्डा देखाउने र लखेटने काम गरिरहेका छन् उनले भने–‘कस्ले जिते के हुन्छ भन्ने कुरा यसबाट प्रष्ट भइसकेको छ ।’