
जनकपुरधाममा विभिन्न कार्यक्रमको आयोजना गरी हनुमान जयन्ती मनाइएको छ ।
सो अवसरमा बिहीबार जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिर, राम मन्दिर, संकटमोचनलगायतका हनुमान मन्दिर हरुमा विशेष पूजापाठ गरिएको छ । सो अवसरमा कीत्र्तन भजन, हनुमान आराधना ,गोष्ठी र वृक्षरोपण पनि गरिएको छ । हनुमान जयन्तीको अवसरमा जनकपुरधाममा बृहत् शोभायात्राको निकालिएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवको अगुवाइमा जानकी मन्दिरबाट बाजागाजाका साथ शुरु भएको शोभायात्रा रामानन्दचोक, पिरारीचोक, भानुचोक, शिवचोक, जनकचोक हुँदै पुनः जानकी मन्दिरको परिसरमा समापन भएको थियो । सो क्रममा जानकी मन्दिर वरिपरिको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । शान्ति व्यवस्था कायम गर्नका लागि स्थानीय प्रशासनले विशेष सुरक्षाको व्यवस्था गरेको थियो ।
स्थानीय प्रशासनले व्यापक रुपमा जनपथ प्रहरी, सशस्त्र प्रहरी परिचालन गरेको थियो । समापन कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्त दासले हनुमान जयन्तीको अवसरमा स्वस्फूर्त रुपमा शोभायात्रामा हजारौं भक्तजनहरुको सहभागिता हुनुले भगवान हनुमानप्रतिको आस्था र महत्वलाई उजागार गरेको बताए । त्यसैगरी हनुमान आराधनाको अवसरमा श्रद्धालुहरुले जनकपुरधामको ठाउँ–ठाउँमा हनुमान चालीसा, सुन्दरकाण्ड पाठ गरिनुको साथै स्थानीयवासीहरुले घर घरमा हनुमानको विशेष पूजा गरेका छन् । मिथिलामा शनिबार र मंगलबार व्रत गर्नेहरुले आज हनुमान जयन्तीको अवसरमा समेत निराहार व्रत बसेर राति मात्रै भोजन ग्रहण गरेर हनुमान जयन्ती मनाएका छन् । हनुमानको पूजापाठबाट शुभ फल मिल्ने, शनिग्रहको दोष नलाग्ने देखि भूतप्रेत पिचासले दुःख नदिनेलगायतको जनविश्वास रही आएको छ ।
चैत शुक्ल पूर्णिमा तिथिमा हनुमान जयन्ती भएकोले विशेष पर्वको रूपमा व्रत, पूजा ,आराधना रामायणको पाठ गरी हर्ष उल्लासका साथ मनाउने गर्दछन् । हनुमान जयन्तीको तिथि कात्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथि र चैत महिनाको शुक्ल पक्षको पूर्णिमा तिथि गरेर दुबै दिनलाई मानिएको छ ।