अपडेट 
२०७९ चैत्र २४, शुक्रबार ०७:३४

बेला–बेलामा मल नपाएर किसानदेखि राजनीतिक दलले पनि विरोधका कार्यक्रमहरु गर्दै आएको छ । तर जनकपुरधामस्थित कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयको गोदाममा ठूलो परिणाममा रासायनिक मल थन्केर राखिएको छ ।

स्थानीय तहको आन्तरिक विवादको कारण स्थानीय तहमा रहेका सहकारीहरुले मलको खरिद गर्न नसक्दा गोदाममा ठूलो परिमाणमा रासायनिक मलका बोराहरु थन्काएर राखिएको छ । सो कार्यालयका प्रमुख रवि कुमार केसरीले सिजनमा स्थानीय तहले आन्तरिक विवादका कारण सिफारिस नदिँदा धनुषा र महोत्तरी जिल्लामा रहेका २ सय ६ वटा बिक्रेताहरुलाई माग अनुसारको मल उपलब्ध गराउन नसक्दा गोदाममा मल थन्किएको छ । अहिले सो कार्यालयको गोदाममा १ हजार २ सय ९८ दशमलव ४ सय ५० मेट्रिक टन युरिया, १ सय २ दशमलव १ सय ५० मेट्रिक टन डिएपी र ६ दशमलव ५० मेट्रिक टन पोटाश खाद बिक्री नभएर मौज्दात अवस्थामा रहेको छ ।

कार्यालयले २०७९ साउन देखि चैत २१ गते सम्म रु १७ करोड १३ लाख ९३ हजार ३ सय ५ रुपैयाँ मूल्य बराबरको युरिया ३ हजार ८ सय ४१ दशमलव ८ सय ५० मेट्रिक टन,डिएपी २ हजार ३ सय ८ दशमलव ९ सय मेट्रिक टन र पोटास २ सय १५ दशमलव ९ सय ५० मेट्रिक टन बिक्री गरिसकेको छ । संघीय सरकारले धान गहुँ,मकै र तरकारी खेती गर्ने किसानहरुलाई प्राथमिकतामा राखी सहुलियत दरमा रासायनिक मल उपलब्ध गराउँदै आए पनि मल सम्बन्धमा सिफारिस गर्दा स्थानीय तहले विवाद गर्ने र समयमा सिफारिस नगर्दा थोक बिक्रेताहरुले माग गरे जति मल दिन नसक्दा मल बिक्री नभइ थन्केको प्रमुख केसरीले प्रष्ट्याए ।

सरकारले किसानहरुलाई सहुलियत दरमा युरिया मल प्रति बोरा रु ८ सय ४३ ,डिएपी प्रति बोरा रु २ हजार २ सय ९३ र पोटासप्रति बोरा रु १ हजार ६ सय ९३ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । तर धनुषा र महोत्तरीका थोक बिक्रेताहरुले दुर्गम गाउँमा सो मल लादा ढुवानी खर्च बढी लाग्ने,बाटोमा प्रहरीले क्षमता भन्दा बढी लोड गरेको भनेर जथाभावी रकम माँग्ने गरेकाले महगोमा मल बेच्नु पर्ने बाध्यता रहेको बिक्रेताहरुको गुनासो छ । जनकपुर शाखाबाट ७० प्रतिशत मलको कारोबार भए पनि बिक्रेताहरुले मागे जति मल उपलब्ध नगराउँदा अहिले पनि कति ठाउँमा मलको समस्या देखिएको छ । सरकारले उखु किसानलाई प्राथमिकतामा नराख्दा कतिपय किसानहरु खरिद गरी लगेको मल उखु खेतीमा प्रयोग गर्दै आएको छ ।

यता, कृषि सामग्री कम्पनी लिमिटेड ढल्केवर धनुषाको गोदाममा पनि मल थन्काएर राखिएको छ । कम्पनीले चालु आर्थिक वर्षको साउन देखि चैत २१ गते सम्म ४२ करोड ४९ लाख ३ हजार ८ सय २९ रुपैयाँ मूल्य बराबरको युरिया २ हजार १ सय २८ दशमलव ६ सय मेट्रिक टन , डिएपी १ हजार ३ सय ४० दशमलव ५ सय ५० मेट्रिक टन र पोटास १ सय ७४ मेट्रिक टन बिक्री गरेको प्रमूख ध्रुव साहले बताए । उनले अहिले पनि गोदाममा युरियाँ ३ सय ४४ दशमलव ४ सय ५० मेट्रिक टन र डिएपी ९६ दशमलव ९ सय मेट्रिक टन मौज्दात रहेको जानकारी द्यिए । ढल्केवर शाखा कार्यालयले धनुषा र महोत्तरीका उत्तरी क्षेत्रका विभिन्न ६८ वटा थोक बिक्रेता तथा किसानहरुलाई मल उपलब्ध गराउदै आएको छ । तर यस रासायनिक मल मौज्दात रहेकोले मलको अभाव हुने सम्भावना कम रहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News