
नक्कली परीक्षार्थी राखेर एसईई दिएको भन्दै रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
उनको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिंदै गरेका नक्कली परीक्षार्थी आइतबार पक्राउ गरेपछि शुक्रबार जिल्ला अदालतले मेयर कानुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो ।
प्रेमलाल साह कानुको नाम आएकोले उनीमाथि पनि छानबिन गर्नु परेकोले जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक वीरबहादुर बुढामगरले बताए । मेयर भन्दा पनि उनी परीक्षार्थीको रुपमा देखिएकोले सोही बमोजिमको अनुसन्धान चलिरहेको छ ।
कानुको सट्टामा एसईई दिंदै गरेको आरोपमा गरुडा नगरपालिका-६ पोठियाहीका कमल साह पक्राउ परेका थिए ।मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा सञ्चालन भइरहेको एसईईमा नियमिततर्फका परीक्षार्थी मेयरले आफ्नो परीक्षा उनलाई दिन लगाएको पाइएको हो ।
पक्राउ परेका कमल साह रेडियो नेपालको बर्दिवास शाखामा पाखो तहमा कार्यरत स्थायी कर्मचारी हुन् । साहले प्रहरी अनुसन्धानका क्रममा मेयर प्रेमलाल साहले नै आफूलाई परीक्षा दिन बोलाएको स्वीकार गरेका प्रहरीले जनाएका छन् । मेयरले भरेको परीक्षा फर्म, रजिष्ट्रेशन तथा परीक्षाका अन्य कागजमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।