अपडेट 
२०७९ चैत्र २५, शनिबार ०७:०३

हुलाकी सडक अन्तर्गतको धनुषा र सिरहा जोड्ने पुल एक वर्ष भित्रै निर्माण गरिने दाबी गरिएको छ ।

हुलाकी सडक संघर्ष समितिले ‘कमला पुलको दुर्दशा र हुलाकी सडकको अवस्था’ विषयमा शुक्रबार काठमाण्डुमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो दाबी गरेका छन् । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले पुल यथाशीघ्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाइएको बताए । निर्माण भइसकेको धनुषा–सिरहा जोड्ने कमला पुल सञ्चालनमा नआउँदै गत वर्ष असारको बाढीले भासिएपछि अहिलेसम्म सो पुल पुनर्निर्माण हुन सकेको छैन । पुल पुनर्निर्माणका लागि पटक–पटक आन्दोलनसमेत हुने गरेको छ । महानिर्देशक ढकालले अबदेखि पुनर्निर्माणका लागि जनताले आन्दोलन गर्नुपर्ने अवस्था नआउने प्रतिबद्धता व्यक्त गरे । “विभागले कमला पुल निर्माणका लागि दिनरात काम गरिरहेको छ ।

निर्माण कम्पनीलाई बोलाएर लगातार काम गर्न हामीले भन्दै आएका छौँ,” उनले भने । कमला पुल पुनर्निर्माणका लागि माटो परीक्षण लगायतका काम भइरहेको र निर्माणको काम चाँडै सम्पन्न भएर सञ्चालनमा आउने उनले स्पष्ट पारे । कमला पुल निर्माण गरिरहेको लुम्बिनी कन्स्ट्रक्सनका प्रमुख विष्णु शर्माले पुल निर्माणका लागि ढिलाइ नहुने प्रतिबद्धता जनाए ।अबको दुई÷तीन महिनापछि वर्षा सुरु हुने र सो समयमा काम नहुने बताउँदै उनले भने ,‘वर्षा सकिने बित्तिकै काम सुरु हुन्छ।’ पुल भत्केकोमा आफूलाई दुःख लागेको बताउँदै एक वर्षभित्र जसरी पनि सञ्चालनमा ल्याउने उनले दाबी गरे । त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादव (धनुषा) र दिनेश यादव (सप्तर ी)ले सिरहा र धनुषावासीका लागि ‘लाइफ लाइन’ रहेको सो पुलको छिट्टै पुनर्निर्माण हुनुपर्नेमा जोड दिए । कमलामा पुल नभएकाले सिरहाबाट १८ किलोमिटरको दूरीमा रहेको जनकपुर पुग्न सिरहावासीलाई महेन्द्र राजमार्ग भएर ८२ किलोमिटर दूरी तय गर्नु पर्ने बाध्यता रहेको बताउँदै साँसदद्वयले पुलको निर्माण तीव्र गतिमा हुनु पर्ने माग अघि सारे ।

२०६८ जेठ १३ गते पप्पु र लुम्बिनी जेभीले २४ करोड ९० लाख ९७ हजार रुपियाँमा पुल निर्माणको ठेक्का लिएका थिए । २०७७ मा मात्र निर्माण भएको सो पुल उदघाटन नहुँदै भासिएको थियो ।

Comment


Related News

Latest News

Trending News