अपडेट 
२०७९ चैत्र २५, शनिबार ०७:०६

उद्योग,पर्यटन तथा वन मन्त्री सुनिता यादवले जनकपुरधामको होटलहरु अत्यन्त महंगो रहेकोले पर्यटन व्यवसायलाई प्रभावित गरेको बताएकी छन् ।

होटल संघद्वारा जनकपुरधाममा शुक्रबार आयोजित विचार गोष्ठीमा जनकपुरधाम आएका पर्यटक बरु बर्दिवास गएर बस्छन् यहाँ बस्दैनन् किन होला भन्ने प्रश्न तेस्र्याउँदै उनले भनिन,‘जनकपुर एकदमै महँगो हो भन्ने गुनासो छ,होटलले सामान्य खानाको पनि ८ सय ९ सय लिन्छन् ।’ सबैले खर्च गर्नसक्ने गरी होटलहरुको मूल्य निर्धारण गर्न होटल व्यवसायीहरुलाई आग्रह गर्दै उनले भनिन,‘सबैले खान र बस्न सक्ने अवस्था बनाउन सबैले सोचिदिने हो कि ।’ मधेश प्रदेशलाई अन्य दृष्टिकोण भन्दा पनि धार्मिक पर्यटकीय हिसाबले विकास गर्न सकिने भएकोले सो अनुसार भारत र नेपालको संयुक्त रामायण सर्किटको काम तीव्र रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याइन् । मन्त्री यादवले हामीसंग भएका धार्मिक,ऐतिहासिक र पौराणिक धरोहरहरुको समेत प्रचार प्रसार गर्न चु्केकाले पर्यटकको आगमनमा वृद्धि नभएको बताउँदै प्रचार प्रसारलाई तीव्रता दिन प्रदेश सरकारले निजी क्षेत्रका होटल व्यवसायीहरुसंग समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । ‘विश्व प्रसिद्ध जानकी मन्दिरको बारेमा गुगलमा यसो जानकी मन्दिर छ भनेर मात्रै हेर्न सकिन्छ,जानकी मन्दिरको विशेषता के होला लगायतको केही कुरो हेर्न पाइन्न यसको मतलब हामीले प्रचार प्रसारमा चुकेका छौं।’,उनले गुनासो पोखिन् । मधेश प्रदेशका मुख्य सचिव हेमन्त राज निरौलाले पर्यटनको क्षेत्रमा लगानी भए पनि सोको सदुपयोग नभएको बताए । उनले भने,‘आर्थिक वर्ष २०७७/०७८ सालमा पोखरी सौन्र्यकरणको लागि मात्रै अरबौं रुपियाँ खर्च गरियो उपलब्धि शुन्य छ,जब कि जनकपुरधाममा पोखरीको सौन्दर्यकरण गर्न सकिए मात्रै यहाँ पर्यटकहरुलाई आकर्षित गर्न अन्य धेरै गर्नै पर्दैन ।’ आएको बजेट सदुपयोग गरी ईमान्दारिताका साथ नेतृत्व वर्ग मात्र होइन जनताले पनि कामको बारेमा चासो लिनु पर्ने सुझाव मुख्य सचिव निरौलाले दिए ।

उद्योग,पर्यटन तथा वन सचिव विशाल घिमिरेले मधेश प्रदेशमा ९० प्रतिशत भन्दा बढी धार्मिक पर्यटन व्यवसायको सम्भावना रहेकोले सोही क्षेत्रमा काम गर्नुपर्ने सुझाव दिए । सचिव घिमिरेले सानो समयमै प्रदेशको एक जिल्लाबाट अर्को जिल्लामा सहजै पुग्न सकिने भएकोले सोही अनुसार जलेश्वरदेखि टुटेश्वरसम्म र सप्तरीको कंकालनीदेखि पर्साको ठोरीसम्मको रुट निर्धारण गरेर पर्यटकीय सम्भावनाहरुमा योजनाबद्ध भइ ईमान्दारीपूर्वक काम गर्नुपर्ने आवश्यकता उनले औंल्याए । कुनै पनि ठाउँको पर्यटकीय विकासका लागि निजी र सरकारी क्षेत्र समन्वय गरी अगाडि बढ्नु पर्ने सुझावसमेत उनले दिए । होटल संघ नेपालको मधेश प्रदेश अध्यक्ष विजय झुनझुनवालाको सभापतित्वमा सो गोष्ठी सम्पन्न भएको थियो ।

Comment


Related News

Latest News

Trending News