अपडेट 
२०७९ चैत्र २५, शनिबार ०७:१०

राष्ट्रिय एकता अभियानले अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएका जनमत पार्टीका सांसद अब्दुल खानलाई निलम्बन गर्न माग गरेको छ ।

सांसद खान निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री पनि हुन् । जनमत पार्टी सरकारबाट बाहिरिएपछि उनले हालै राजीनामा दिएका थिए । शुक्रबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै अभियानले उनलाई तत्काल निलम्बन गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ । सांसद खानले कुनै महिलासँग भर्चुअल माध्यममा अश्लील हर्कत गरेको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रुपमा सेयर भइरहेको छ । सांसद जस्तो सार्वजनिक जीवनमा रहेका व्यक्तिको यस्तो हर्कत क्षमा योग्य नरहेको अभियानले बुझाएको ज्ञापन पत्रमा उल्लेखछ । ‘जनमत पार्टीका समानुपातिक सांसद तथा निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले एक महिलासँग गरेको अश्लील हर्कतको श्रव्य–दृश्य सामग्री (भिडियो) अहिले सामाजिक सञ्जालहरूमा यत्रतत्र भाइरल भइरहेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘उहाँको यस हर्कतले नेपालको संसदीय व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीकै शिर निहुरिएको छ।’ सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूका यस्ता अनैतिक हर्कतले समाजलाई विकृत र विसंगत बनाउन अझ बढी मलजल गर्ने, सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूको निजी जीवन पनि सरल र आदर्शवान हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

सांसद खानको यस हर्कतले भने समाजलाई अझ बढी विसंगत र विकृत बनाउन मलजल गरेको ज्ञापनपत्रमा उल्लेख रहेको छ । उनले तत्काल सांसद पदबाट निलम्बन गरी कानूनी कारबाही अगाडि बढाउन अभियानले सभामुखलाई आग्रह गरेको छ ।

Comment

Related News