
महोत्तरी प्रहरीको नियन्त्रणमा रहेको एक जना थुनुवा अस्पतालबाट फरार भएको छ ।
शुक्रबार जनकपुरधामको आर्या हस्पिटलबाट कर्तव्य ज्यान मुद्दाका आरोपि कृष्णा यादव अस्पतालको शौचालयको झ्याल फोडेर फरार भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरिले जानकारी दिए । उनका अनुसार आरोपि यादवको गोडामा समस्या देखिएपछि उपचारका लागि जनकपुरधामस्थित आर्या हस्पिटलमा लगिएको थियो । लोहरपट्टी नगरपालिका– ९ खुट्टापिपराढी घर भएका उनी गत भदौ २५ गतेदेखि पुर्पक्षको लागि थुनामा थिए । उनको खोजी कार्य तीव्र रुपमा भइरहेको छ ।
पछिल्लो समय मधेश प्रदेशमा प्रहरीकै नियन्त्रणबाट थुनुवा फरार हुन थालेपछि प्रहरीमाथि प्रश्न उठ्न थालेको छ । यही घटनामा पनि प्रहरीको मिलेमतो हुन सक्ने नागरिकको शंका छ । उनीमाथि जनकपुर उपमहानगरपालिका ८ बस्ने अर्जुन साहको हत्या गरेको आरोपमा २०७९ साल भदौ २५ गतेदेखि उनी पुर्पक्षका लागि कारागारमा थिए । फरार कैदी यादवको महोत्तरी र धनुषाका संयुक्त प्रहरी टोलीले व्यापकरुपमा खोजी गरिरहेको छ ।