अपडेट 
२०७९ चैत्र २५, शनिबार ०७:३६

जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर स्थित मल पसलहरुमा राजश्व अनुसन्धान कार्यालयले छापामारी गरेको छ ।

शुक्रबार छापामारी गरी राजश्व अनुसन्धान कार्यालय पथलैयाले भन्सार छलीको १ सय ९१ बोरा भारतीय युरिया मल सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । भन्सार छलीको मल तस्करी गरिरहेको मोटरसाईललाई पछ्याउँदै राजश्व कार्यालयको टोली लक्की मल बिउ बिजन भण्डार जीतपुर र पुजा ईन्टरप्राईजेज जीतपुरमा छापामारी गरेको राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत तेज नारायण यादबले जानकारी दिए । राजश्व कार्यालयको छापा पर्ने बित्तिक्कै अन्य मल पसलहरु जीतपुरमा धमाधम बन्द हुन थालेका थिए । आफूहरुको लक्ष्य कम्तीमा पनि भन्सार छलीको एक हजार भारतीय युरिया मल बरामद गर्नुपर्ने भए पनि जनशक्ति अभावमा पूरा गर्न नसकिएको प्रमुख अनुसन्धान अधिकृत यादवले बताए ।

बीआर २२ ई ६४१८ र बीआर ०५एए ८५८१ भारतीय नम्बर प्लेटको मोटरसाईकल सहित मल तस्करलाई प्रहरी सहित आएको राजश्व अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको छ । बरामद दुबै मोटरसाईकलमा ६।६ बोरा युरिया मल लोड रहेको जनाइएको छ । राजश्व अनुसन्धान टोलीले लक्की मल बिउ बिजन भण्डार जीतपुरका सञ्चालक अखतर हुसेनलाई नियन्त्रणमा लिएको छ । लक्की मल बिउ बिजन भण्डारबाट १ सय १ बोरा र पुजा ईन्टरप्राईजेजबाट ७८ बोरा भन्सार छली गरी ल्याईएको युरिया मल बरामद भएको छ । पक्राउ परेका तीनै जनामाथि राजश्व छलिको कसुरमा मुद्धा चलाईने प्रमुख अनुसन्धान अधिकृत यादवले बताए । राजश्व कार्यालयले बरामद गरेको युरिया मलको बजार मुल्य करिब दुई लाख रहेको छ ।

राजश्व अनुसन्धान कार्यालय पथलैयाले गरेको छापामारीमा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक प्रदिप बहादुर क्षेत्रीको कमाण्डमा सिमरा र ईलाका प्रहरी कार्यालय जीतपुरको टोली खटेको थियो ।

Comment


Related News

Latest News

Trending News