
जनकपुरधाम उपमहानगरपालिका–२३ बस पार्क नजिक निर्माण गरिएको हनुमान मन्दिरमा मुर्ती स्थापना तथा प्राण प्रतिष्ठा गरिने भएको छ ।
मन्दिर निर्माण गर्न सक्रिय लोकतान्त्रिक समाजवादी पार्टीका नेता मनोज कुमार चौधरीको अगुवाईमा मन्दिरको प्राण प्रतिष्ठा समारोहबारे जानकी मन्दिरको प्रागंणमा शनिबार सर्वपक्षीय बैठकको आयोजना गरिएको छ । सो बैठकले आगामी बैशाख ११ गतेदेखि पाँचदिवसीय समारोहको आयोजना गरेर मन्दिरमा मुर्ति स्थापनाको साथै प्राणप्रतिष्ठा गरिने भएको छ ।
बैठकमा भएको निर्णय अनुसार मन्दिरको भुँइतल्लामा हनुमानजीको मुर्ति स्थापना गरिने छ भने पहिलो तल्लामा रामदरबारमा मुर्ती स्थापना गरिनेछ । त्यसैगरी मन्दिरको दाँया तर्फ विश्वकर्माबाबाको मुर्ती र वाँया तर्फ भगवान शंकरको लिंग स्थापना गरिने निर्णय गरिएको छ । शंकर भगवानको मन्दिर नजिकै प्रतिकात्मक रुपमा कैलाश पर्वतको निर्माण गरिने जानकारी समेत बैठकमा दिइएको छ ।
बैठकले गरेको निर्णय अनुसार बैशाख ११ गते कलशयात्रा,१२ गते जलाधिवास,१३ गते पुष्पाधिवास,१४गते अन्नादिवास तथा १५ गते नगर दर्शन गर्दै मन्दिरमा विशेष पूजापाठ गर्दै मुर्तिहरुको प्राण प्रतिष्ठा गरिने बताइएको छ । मुर्तिहरुको प्राण प्रतिष्ठाकालागि भारतको प्रसिद्ध तुलसी पीठका पीठाधिश श्रीमद् जगतगुरु रामभद्राचार्यको विशेष उपस्थितिमा गरिने मुल समारोह समितिका संयोजक मनोज कुमार चौधरीले बताए ।
कार्यक्रम सफल पार्न लोसपा नेता चौधरीकै संयोजकत्वमा २ सय १ सदस्यीय मुल समारोह समिति बनाइएको छ । त्यस्तै कलशयात्रा तथा शोभायात्राको लागि क्रमशः फुल कुमारी साह र मनिषा देवीको संयोजकत्वमा उपसमिति बनाइएको छ ।
त्यसैगरी विश्व हिन्दु परिषदका पवन कुमार ठाकुरको संयोजकत्वमा अर्थ संकलन समिति,गायक नविन कुमार मिश्रको संयोजकत्वमा भजन सन्ध्या तथा मञ्च व्यवस्थापन उपसमितिको गठन गरिएको छ । त्यस्तै मोहन ठाकुरको संयोजकत्वमा भोजन व्यवस्थापन समिति र जनकपुरधाम उपमहानगरपालिकाको संयोजकत्वमा सरसफाइ उपसमिति बनाइएको छ । यता अनुगमन,निरीक्षण समितिमा सामाजिक तथा राजनीतिक अभियन्ता डा.विजय कुमार सिंह,जानकी मन्दिरका उत्तराधिकारी महन्त रोशन दास वैष्णव,जिल्ला प्रहरी कार्यालयका प्रमुख,जिल्ला प्रशासन कार्यालय धनुषाका प्रम्ुखसम्मिलित उपसमिति बनाइएको छ ।