अपडेट 
२०७९ चैत्र २६, आईतवार ०७:३४

मधेश प्रदेशमा प्रहरीको नियन्त्रणबाट थुनुवा फरार हुने घटना बढ्दै गएको छ ।

तीन महिनाभित्रै प्रहरीलाई छलेर धनुषा र महोत्तरीमा तीन पटक थुनुवा फरार भएका छन् । यी दुई जिल्लाबाट तीन पटकमा आठ जना थुनुवा फरार भएका थिए । जसमध्ये ६ जनालाई प्रहरीले पुनः पक्राउ गरिसकेका छन् भने दुई जना अझै फरार नै छन् । तर पटक–पटक प्रहरीको आँखामा धुलो छर्दै कसरी थुनुवा फरार भइरहेका छन् सो विषयमा ठोस अनुसन्धान हुन सकेको छैन् । प्रहरीको अनुसन्धान औपचारिकतामा मात्रै सीमित हुँदा यस्ता घटना दोहोरिने गरेको जानकार हरुको भनाइ छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्ष फोडेर फरार भएका ६ जना अभियुक्तमध्ये पाँच जनालाई प्रहरीले पक्राउ गरेका छन् भने सोही घटनाका २५ वर्षीय रोशन यादव अझै पक्राउ परेका छैनन् । उनी फरार भएको अढाइ महिना बित्दै छ । धनुषा प्रहरीले फरार रोशन अन्य मुलुकमा गएको कारण पक्राउ गर्न नसकिएको बताउँछन् । ‘हामीहरु सम्भावित देशका प्रहरीहरुसँग समन्वय गर्दै छौं,’ धनुषाका एसपी विश्वराज खड्काले भने,‘अनुसन्धान नजिक पुगे पनि फरार अपराधीले पटक–पटक ठाउँ परिर्वतन गरी बसोबास गरिरहेको कारण हामी पक्राउ गर्न सकेका छैनौं ।’ प्रहरीले अपराधीमाथि विश्वास गर्दा यस प्रकारको घटना हुने गरेको उनले बताए । यस्तै, उपचारको बहना बनाएर अस्पतालबाट शुक्रबार फरार भएका लोहरपट्टी नगरपालिका ९ खुट्टापिपराढीका कृष्णा यादव पनि प्रहरीले फेला पार्न सकेका छैनन् ।

महोत्तरी प्रहरीको नियन्त्रणमा रहेको उनी जनकपुरधामको आर्या हस्पिटलको शौचालयको झ्याल फोडेर फरार भएका थिए । कर्तव्य ज्यान मुद्दाका अभियुक्त उनी गत भदौ २५ गतेदेखि पुर्पक्षको लागि थुनामा थिए । प्रहरीमाथि यस घटनालाई लिएर धेरै प्रश्न उठिरहेको छ । थुनुवालाई सरकारी अस्पतालमा नलगेर निजीमा लग्दा प्रहरीमाथि शंका गरिएको छ । तर प्रहरीमाथि शंका गर्नुपर्ने ठाउँ नरहेको महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताए । फरार भएका अभियुक्तको तीव्र खोजी भइरहेको र एक साताभित्रै पक्राउ पर्ने उनको दाबी छ । यसअघि ईलाका प्रहरी कार्यालय सबैलाको प्रहरी भ्यानबाट पनि एकजना अभियुक्त फरार भएका थिए । प्रहरीले दुई दिनभित्रै बलात्कार मुद्दाका आरोपि सबैला नगरपालिका १३ किरतपुरका राजाबाबु मुखियालाई पक्राउ गर्न सफल भएका थिए । तर प्रहरी भ्यानबाट हथकडी सहित थुनुवा कसरी फरार भयो भन्ने विषयमा प्रहरी मौन छ । सोही दिन ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक विदामा रहेको बुझिएको छ । उनको अनुपस्थितिमा थुनुवा फरार भएपछि ‘सेटिङ्ग’मै भगाइएको स्थानीयबासीको शंका छ । मधेश प्रदेश प्रहरीका प्रहरी उपरीक्षक (एसपी) महेन्द्र कुमार श्रेष्ठले प्रहरीको कमजोरीकै कारण थुनुवा फरार हुने गरेको स्वीकार गरे । तर प्रहरीले जानीजानी नभगाएको उनको दावी छ । ‘प्रहरीलाई छलेर उनीहरु भागिरहेका छन् ।

थुनुवाहरु सजायको त्रासले झन अर्को अपराध गरिरहेको छ,’ उनले भने, ‘प्रहरीको लापरवाही देखिए पनि नियत भगाउनु पर्ने हुँदैनन् ।’ तर पनि फरार हुने ठाउँमा जिम्मेवारी पाएका प्रहरी विभागीय कारवाहीमा परिरहेको उनले बताए । प्रहरीसँग भएको असावधानीको विषयमा गम्भीर भएको र आगामी दिनमा यस्ता घटना हुन नदिन ठोस कदम लिने उनले बताए । स्रोतसाधन अभावले गर्दा यस्ता घटना हुने गरेको उनको जिकिर छ । दरबन्दी भन्दा कम प्रहरी हुनु र भएकैसँग पर्याप्त स्रोतसाधन नरहेको उनले बताए । ‘ हामीले फरार भएकाहरुलाई विभिन्न कोण र उपकरण प्रयोग गरी खोजिरहेका छौं,’उनले भने,‘नेपालभित्र छ भने चाँडै फरार अपराधी प्रहरी नियन्त्रणमा आउँछ । नभए हामी भारतीय प्रहरीसँग पनि समन्वय गरिरहेका छौं ।’

Comment

Related News

Latest News

Trending News