अपडेट 
२०७९ चैत्र २६, आईतवार १८:३०

रौतहटको माधवनारायण नगरपालिका–४ मानपुरको बिसुनपुर्वा गाउँमा आइतबार भएको भीषण आगलागीमा २१ घर जलेर नष्ट भएका छन् ।

आगलागीमा मानवीय क्षति नभए पनि पशु र खाद्यान्न लगायत लत्ताकपडा, नगद र गरगहना जलेर क्षति पुगेको पीडित परिवारले जनाएका छन् । लामो समयसम्म वारुणयन्त्र नपुगेपछि क्षति बढेको हो ।

मानपुरका स्थानीय जिउत मुखिया विनको घरबाट सल्किएको आगो क्रमश: अन्य २० घरमा पुगेको थियो । जितउको घरमा खाजा बनाउन लाग्दा आगो सल्किएको हुनसक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले आगलागीको कारण खुलिनसकेको बताए ।

आगलागीमा मानवीय क्षति नभए पनि केही खसी, बाख्रा मरेका छन् । स्थानीय प्रत्यक्षदर्शी पारस भण्डारीका अनुसार आगलागी सुरु हुनासाथ वारुणयन्त्र पठाउन स्थानीयले प्रहरीलाई अनुरोध गरेका थिए । तर सदरमुकाम गौर र चन्द्रनिगाहपुरमा मात्र वारुणयन्त्र भएकाले अपेक्षित समयमा आगो नियन्त्रणमा अउन सकेन ।

आगलगीबाट स्थानीय हरेसी मुखिया, महेशी मुखिया, ईन्द्रदेव भगत, दिनकर मुखिया,उपेन्द्र मुखिया, वीरेन्द्र मुखिया बद्री भगत, सुरेन्द्र मुखिया, जितेन्द्र मुखिया, बिकाउ मुखिया, जयकरण मुखिया लगायत २१ जनाको घर जलेर नष्ट भएको भण्डारीले बताए । आगलागी झण्डै २ घण्टापछि नियन्त्रणमा आएको थियो । सुरक्षाकर्मी र स्थानीयहरू मिलेर वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएका हुन् ।

Comment

Related News