अपडेट 
२०७९ चैत्र २७, सोमबार ०७:२४

बारा–२ मा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरुले मतदाताको घरदैलोमा मात्र नभइ खेतखलिहनमा पनि पुग्न थालेका छन् । चुनावी मैदानमा रहेका जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रचारप्रसार तीव्र रुपमा बढेको छ । घरदैलो कार्यक्रममा रहेका उम्मेदवार यादवले घरदैलोका साथै खेतखलिहनमा नै पुग्न थालेका छन् ।

तराईको बढदो गर्मीमा उनको सक्रियताले कार्यकर्ताहरुमा उर्जा थपेको छ । दिनभरि घरदैलो र बीचमा बृहत् भेला र बैठक समेत उनले भ्याउने गरेका छन् । बारा २ का नेता, कार्यकर्ताहरु उम्मेदवारको सक्रियताले उत्साहित देखिएका छन् । प्रचारप्रसारमा जसपाका उम्मेदवार यादव धेरै अगाडि रहेको महागढीमाई नगरपालिका–२ का मेथुर कानुले बताए । ‘यादवको विषयमा प्रचार गरिएको भन्दा निकै फरक पाएको छु’ उनले भने, अधिकार र विकासका लागि उनी समर्पित नेता रहेको बल्ल बुझेको छु । मधेशी जनताले अपमान एवम् विभेद खेप्नु परेकोले त्यस विरुद्ध भएको आन्दोलनको नेतृत्व गर्ने नेतासँग कुरा गर्न, फोटो खिंचाउन तथा बाराको विकासका लागि स्थानीय बासिन्दाहरुले उनलाई विभिन्न समस्याहरु बताउने गरेका छन् ।

बारा जिल्लाको सदरमुकाम कलैयाले समेत हाल सम्म कोल्टे फेर्न सकेको छैन् । निर्वाचन क्षेत्र नम्बर २ पूर्वपश्चिम राजमार्गलाई छुदैन् । भारतीय सीमासित जोडिएको बारा–२ मा कुल १ लाख ५ हजार ११ मतदाता रहेका छन् । मतदाताहरुलाई फकाउन उम्मेदवारहरुले अनेक उपाय गरिरहेका छन् । क्षेत्रमा विभिन्न गीतहरुको माध्यमबाट मतदातालाई मनोरञ्जन गराउँदै मत मागेको देखिन्छ । देशको तीन जिल्लामा उपनिर्वाचन वैशाख १० गते हुँदैछ । तनहुँ–१ र चितवन–२ मा पनि चुनावी घमासान छ । तर बारा–२ को चुनाव फरक किसिमको छ । जसपाका अध्यक्ष यादवको उम्मेदवारीले क्षेत्रको चुनावलाई बढी रोचक बनाएको छ ।

नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल पनि वजनदार नेता हुन् । एमाले संगठनमा महत्वपूर्ण नेता मध्ये रहेका पौडेलको पक्षमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचारप्रसार गरिसकेका छन् । ओलीको प्रचारले जसपा र जनमतलाई केही क्षति भएको बताइन्छ । एमालेका नेताहरुले १५ हजार संगठनात्मक मत रहेकाले चुनावमा राम्रो परिणाम ल्याउने दाबी गरेका छन् । एमालेका नेताहरुले जसपासित सोझो प्रतिस्पर्धा रहेको दाबी गर्छन् । यादवको उम्मेदवारीले क्षेत्रको राजनीतिक समीकरण फेरिएको एमालेका नेताहरुको कथन छ । तर जनमत पार्टीका नेताहरुले जित सुनिश्चित रहेको दाबी गर्दै जसपासित नै प्रतिस्पर्धा हुने बताउछन् ।

जनमत पार्टीका अध्यक्ष सी के राउतले उम्मेदवार यादवमाथि निरन्तर हमला गरिरहेका छन् । यादवको विरोध गरेर मात्र चुनाव जित्न सक्ने जनमतका नेताहरुको बुझाइ देखिन्छ । जसपाको सबैभन्दा बलियो पक्ष गत चुनावमा निर्वाचित, तेस्रो रहेका उम्मेदवार हरुको साथ छ । कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धन जसपाका उम्मेदवार यादवको पक्षमा लागेका छन् ।

उपेन्द्र यादव बारा २ बाट चुनाव लड्नु नै हाम्रो लाागि गौरव रहेको करैयामाई नगरपालिका वडा नम्बर ५ का कविसन पासवान बताउछन् । दलित, जनजाति, आदिवासी र मुसलमानको अधिकारका लागि यादव निरन्तर लडिरहेको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश खरेल पनि पर्सा र बारा जिल्लामा चर्चित र परिचित हुन् । उनी पर्सा जिल्लाका प्रहरी प्रमुख रहेको बेला अत्यन्त चर्चित बनेका थिए । रास्वपाले त्यसको लाभ चुनावमा मिल्ने विश्वास गरेको छ ।

जसपाको कमजोर आकलन गरिएको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादव लगायतका नेताहरुले शनिबार यादवलाई समर्थन गर्ने बचनबद्धता प्रकट गर्दै सक्रियताका साथ प्रचारमा जुटेसँगै नाटकीय ढंगले परिवर्तन आएको बताइन्छ । जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाको घर महागढीमाई नगरपालिकामा रहेको छ । वडा नम्बर १ र २ मा कुशवाहाको व्यक्तिगत प्रभाव राम्रो रहेको देखिन्छ । तर करैयामाई र सुवर्ण गाउँपालिका, पचरौता नगरपालिकामा जसपाको बलियो प्रभाव रहेको छ ।

Comment


Related News