अपडेट 
२०७९ चैत्र २७, सोमबार ०७:४५

सप्तरी जिल्लाको बोदेबरसाइन नगरपालिकामा एक ज्वाईको निर्घात कुटपिटपछि गम्भीर घाइते भएका ससुराको घटना भएको १४ दिनपछि मृत्यु भएको छ ।

घरायसी विवादमा सप्तरीको बोदेबरसाइन नगरपालिका–६का २३ वर्षीय रामचन्द्र महतोको कुटपिटबाट घाइते भएका सोही नपा–६का ५५ वर्षीय ससुरा छठु महतोको घटनाको १४ दिनपछि शनिबार राति आफ्नै निवासमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्वाई रामचन्द्र र ससुरा छठुबीच गत चैत्र ११ गते घरायसी विवादमा झै–झगडा र कुटपिट भएको थियो । सो क्रममा छठुको नाक, मुख, टाउको र शरीरको विभिन्न भागमा गहिरो चोट लागेको थियो । स्थानीय जीवन ज्योति अस्पतालमा प्रारम्भिक उपचारपछि भोलिपल्ट उनलाई थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्थामा केही सुधार देखिएपछि चिकित्सकले केही औषधि लेखेर घर लैजान सल्लाह दिएपछि चैत्र १८ गते उनलाई घर ल्याइएको थियो । सोही दिनदेखि नियमित औषधि खुवाउन थालेको र अचानक शनिबार राति उनको मृत्यु भएको खबर परिवारजनबाट प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचनाअधिकारी नरेशकुमार सिंहले जानकारी दिए । ज्वाई रामचन्द्रले शुरुमा ससुरा छठुले नै हातपात गरेको र आफूले प्रतिकार गर्दा उनलाई चोटपटक लागेको बयान दिएको प्रहरीले जनाएको छ ।

मृतककी पत्नी मायावतीको जाहेरीले प्रहरीले रामचन्द्रमाथि ज्यान मार्ने उद्योग कसूरमा मुद्दा चलाएको डिएसपी सिंहले बताए । रामचन्द्रलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा ५० हजार धरौटी माग भइ आदेश भएकोमा धरौटी तिर्न नसक्दा आइतबार राजविराज कारागार चलान गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News