अपडेट 
२०७९ चैत्र २७, सोमबार ०७:५४

मधेश प्रदेशको अलग– अलग स्थानमा भएको आगलागीमा लाखौंको क्षति भएको छ ।

सप्तरी जिल्लाको कंचनरुप नगरपालिका–७ स्थित एउटा धान र गहुँ कुट्ने मिलमा आइतबार बिहान आगलागी हुँदा १२ लाख भन्दा बढीको सम्पत्ति जलेर खरानी भएको छ । विद्यतु सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीयवासी विश्वनाथ न्यौपानेद्वारा संचालित सो मिलमा आइतबार बिहान २ बजेको समयमा अचानक विद्युत सर्ट भइ आगो लागेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचनाअधिकारी नरेशकुमार सिंहका अनुसार मिलमा भएको घरका साथै खाद्यान्न कुट्ने मेसिन तीन थान, मोटरसाइकल एक थान, पानी तान्ने मोटर २ थान तथा ५ क्विन्टल धान र एक क्विन्टल गहुँ लगायतका सामग्री र खाद्यान्न पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगोलाई कंचनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाको बारुणयन्त्र तथा स्थानीयवासी र प्रहरीको सहयोगमा २ घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यस्तै रौतहटको माधवनारायण नगरपालिकामा आगलागी हुँदा २१ घर जलेर नष्ट भएको छ । माधवनारायण नगरपालिका–४ स्थित मानपुरमा स्थानीय जिउत मुखिया बिनको घरबाट सल्किएको आगोले बस्तीको २१ वटा घर जलेर नष्ट भएको छ । आइतबार दिउँसो २ बजे आगलागी भएको थियो । आगलागीमा परेर घर, चौपाया अन्न, लत्ताकपडासमेत जलेर नष्ट भएको स्थानीयवासीहरुले बताए । आगलागीबाट स्थानीय हरेसी मुखिया, महेशी मुखिया, इन्द्रदेव भगत, दिनकर मुखिया,उपेन्द्र मुखिया, वीरेन्द्र मुखिया बद्री भगत, सुरेन्द्र मुखिया, जितेन्द्र मुखिया, बिकाउ मुखिया, जयकरण मुखिया लगायत २१ जनाको घर जलेर नष्ट भएको छ । आगो झण्डै ३ घण्टापछि नियन्त्रणमा लिइएको छ । आगो नियन्त्रणमा लिन स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा चन्द्रपुर र गौर नगरपालिकाको वारुणयन्त्र परिचालन गरिएको थियो ।

त्यसैगरी बढदो गर्मी र चैत महिनामा चलेको हावाहुरीसँगै महोत्तरी जिल्लाको छुट्टा–छुट्टै स्थानमा भएको आगलागीको घटनामा लाखौंको सम्पत्ति जलेर नष्ट भएको छ । जिल्लाको सोनमा गाउँपालिकाको सोनमा गाँउमा तिनवटा र मनरा शिस्वा नगरपालिका–१० सकरीको एक घरमा आगलागी भएको छ । हावाहुरीको कारण घरको छेउबाटै पोलमा बिछ्याइएको ११ हजार पावरको बिजुलीको तार एक आपसमा छोएर सर्टसर्किट भइ सोनमाका इन्दल ठाकुर, इन्द्रजित ठाकुर र मनोहर ठाकुरको परालको थुप्रोमा आगलागी भएको प्रहरीले जनाएको छ । त्यस्तै, सकरीका लक्ष्मी साहको घर जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीका कारण करिब १५ लाखभन्दा बढीको क्षति भएको महोत्तरी प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगे पनि गाँउपालिका र नगरपालिकाको बारुण यन्त्र समयमा नपुगेपछि ठूलो क्षति हुन पुगेको स्थानीयवासीहरुको गुनासो छ । सोनमाका इन्दल ठाकुर, इन्द्रजित ठाकुर र मनोहर ठाकुरको परालको थुप्रोमा आगलागी भएको छ । आगलागीमा परेर लाखौं मूल्यबराबरको क्षति भएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News