
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ राष्ट्रिय सभाबाट पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले पेसे गर्नु भएको सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै कृषि तथा पशुपंक्षी विकासमन्त्री भुसालले सो विधेयक प्रतिनिधिसभामा पनि छलफल गरी समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामको दायरालाई समेटने गरी सो विधेयक संशोधन गर्नु परेको पनि स्पष्ट पारे ।
बैठकमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन २०७८/७९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बत्तीसौं वार्षिक प्रतिवेदन पनि पेस गरिएको छ । दुवै प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसालले पेस गरेका हुन् ।