अपडेट 
२०७९ चैत्र २८, मंगलवार ०७:१३

अपांगता भएका व्यक्तिहरु अझै पनि समाजमा अपहेलनाको शिकार हुने गरेको जनकपुरधाममा आयोजित एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् ।

सोमबार जनकपुरधाममा राष्ट्रिय बहिरा महासंघ नेपालले आयोजना गरेको अपांगता भएका व्यक्तिहरुको सूचना तथा सञ्चारमा पहुँचको अवस्था तथा आवश्यकता विषय गोष्ठीका वक्ताहरुले सो गुनासो गरेका छन् । गोष्ठीमा महासंघका राष्ट्रिय अध्यक्ष केपी अधिकारीले अहिलेको सूचना तथा प्रविधिको युगमा पनि यहाँका बहिराहरु (अपांगताभएका) अझै पनि सूचना सञ्चारको पहुँचबाट अत्यन्त टाढा रहनु दुर्भाग्यपूर्ण रहेको बताए । आपतकालीन अवस्थामा बहिराहरुले सहयोग माग्ने कुनै संयन्त्र नरहेको बताउँदै उनले भने,‘ विभिन्न देशहरुमा बहिराहरुको लागि भीआरएस सेन्टरको व्यवस्था हुन्छ। जस्तै, कसैको नम्बर चाहियो भने हामी इन्क्वाइरी (१९७ नम्बर) मा फोन गर्छौं, भीआरएस सेन्टरको अवधारणा पनि त्यस्तै हो। तर, यसमा भिडियो कल हुन्छ। तर हामी कहाँ कुनै साधन नै छैन जसले बहिराहरुले राज्यसंग सम्पर्क गर्न सकोस्।’ श्रवण शक्ति भएको व्यक्तिले अडियो कल गरेर १९७ बाट विभिन्न नम्बर लिन सक्ने र आकस्मिक कुनै घटना भयो भने प्रहरीलाई १०० नम्बरमा फोन गरेर जानकारी दिने गरेको अनुसार बहिरा व्यक्तिहरुले भिडियोबाट सांकेतिक भाषामा आफ्ना कुरा राख्न सक्ने व्यवस्था गर्नुपर्ने माग उनले गरे । ‘कतिपयले बहिरा व्यक्तिहरु एसएमएसको माध्यमबाट पनि संचार गर्छन्। तर, सबै बहिरा व्यक्तिहरु शिक्षित र लेख्न सक्ने हुँदैनन्। त्यसैले बहिराहरुको लागि सबैभन्दा उपयुक्त विधि भनेको भिडियो कल हो र यसको व्यवस्थापन हुनैपर्छ ।’उनले प्रष्ट पारे । अहिले नेपाल टेलिकमले परिचयपत्रको आधारमा बहिरा व्यक्तिहरुलाई थ्रिजी सेवामा भिडियो कल गर्दा र एसएमएसमा छुट दिने व्यवस्था गरेको जानकारी दिँदै उनले भने,‘एकीन तथ्यांक त छैन, तर पाँच हजार जतिले परिचयपत्र लिएर सीमकार्ड लिएको अनुमान छ ।’ ‘अझै पनि अधिकांश बहिरा व्यक्तिहरुले संचार गर्नै नपाउने अवस्था रहेको भन्दै सधै सँगै दोभाषे हुन्छन् भन्ने हुँदैन।’उनले भने ‘त्यसैले आकस्मिक कुनै घटना आइपर्दा प्रहरीलाई खबर गर्न समेत सक्दैनन्। हामीले जुनसुकै कार्यालय बहिरा मैत्री हुनुपर्छ भनेका छौँ ।’

गोष्ठीमा मधेश प्रदेश नीति आयोगका सचिव उद्धव रिजालले विगतमा गरिएको कामहरु अपर्याप्त रहेकोको स्वीकार गर्दै नीति आयोगले बहिराहरुको लागि विशेष योजना ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै गोष्ठीमा महिला बालबालिका तथा खेलकुद मन्त्रालयका सामाजिक विकास शाखाका प्रमुख देवकुमारी खत्रीले अपांगता भएकाहरुसंग घरैबाट विभेद शुरु हुने भएकोले जनचेतनामूलक कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिइन् । अपांगता भएको व्यक्ति पनि मानव नै हो भन्ने भावनाको विकासका लागि जनचेतनामूलक कार्यक्रमको आवश्यकता औंल्याइन् । उनले बहिरा महासंघसंग सहकार्य गरी मन्त्रालयले योजनाबद्ध रुपमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । विगतमा अपांगता भएको व्यक्तिहरुको लागि आएको बजेट फ्रिज भएको जानकारी दिँदै आगामी दिनमा बजेटको सदुपयोग गर्न सबै पक्ष चनाखो हुनु पर्ने धारणा उनले व्यक्त गरिन् ।

गोष्ठीमा जानकी महिला जागरण समूहकी मन्दाकिनी कर्णले अपांगता भएका व्यक्तिहरुको कुरा ध्यान दिएर सुन्ने अनिवार्य व्यवस्था हुनुपर्ने,हरेक कार्यालयमा भएको हेल्प डेस्क कर्मचारीलाई अपांगता मैत्री व्यवहार,शब्दाबली सम्बन्धमा कर्मचारीहरुलाई तालिम दिनुपर्ने सहितका माग अघि सारिन् ।

गोष्ठीमा राष्ट्रिय बालअधिकार परिषद् मधेश प्रदेश समन्वय समिति अधिकृत संजीव महतोले सरकारी कार्यालयमा सूचना र संचारको पहँुच पुनरावलोकनको लागि अनुगमन मूल्याँकन गर्ने संयन्त्र निर्माण गर्नुपर्ने बताए । कार्यालय प्रवेशद्वारदेखि बाटोमा तल्लाहरुमा पहुँचयुक्त संकेत चिह्नको व्यवस्था गर्नुपर्ने समेत माग उनले गरे ।

गोष्ठीमा मधेश आमसंचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले सुनिदिने राज्य नै निरीह बनेको बेला कसलाई सुनाउने भन्ने प्रश्न तेस्र्याए । बहिरा महासंघसंग समन्वय गरेर मधेश प्रदेशभरि संचालित रहेको ११ वटा टेलिभिजनमा सांकेतिक भाषामा विषय वस्तु प्रसारण गराउन पहल थाल्नुपर्ने धारणा समेत उनले राखे । जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डलको अध्यक्षतामा भएको सो गोष्ठीमा जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत किरण कुमार मिश्र,रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष नरेश प्रसाद सिंहसहितका विभिन्न सरोकारवाला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News