अपडेट 
२०७९ चैत्र २८, मंगलवार ०७:१६

मधेश प्रदेशका हरवाचरवाहरुको अधिकार यात्रा निरन्तर रुपमा जारी रहेको छ । हरवाचरवा प्रथा मुक्तिको घोषणा भएको ९ महिना बितिसक्दा पनि सरकारले सो सम्बन्धमा कुनै कार्य अगाडि नबढाएको भन्दै उनीहरु अधिकारको यात्रा शुरु गरेका छन् । “मुक्त हरवा चरवाको न्यायिक पुनरस्थापना हाम्रो सरोकार,भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार’ भन्ने नाराका साथ सिरहा जिल्लाको लहान र पर्साको वीरगञ्जबाट एकैसाथ जनकपुरसम्मको यात्रा निकालिएको छ ।

गत चैत्र २५ गतेदेखि वीरगञ्जबाट शुरु गरेको अधिकार यात्रा–२०७९, सोमबार रौतहटको गरुँडा हुँदै सर्लाहीको सदरमुकाम मलंगवा आइपुगेको छ । उक्त यात्रा मलंगवा पछि सोही दिन जिल्लाकै ब्रह्मपुरी गाउँपालिका हुँदै महोत्तरीको बर्दिबास पुगेर भोलिपल्ट चैत २८ गते प्रदेशको राजधानी जनकपुरधाममा पुगेर २९ गते मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको हरवा चरवा अधिकार मञ्च सर्लाहीका संयोजक नविना माझीले जानकारी दिएकी छिन् । नेपाली कांग्रेसका सभापति एवम तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७९ साउन २ गते हरवा चरवा मुक्तिको घोषणा गरेको थियो । घोषणाको समयमा नेपाल सरकारले प्रतिबद्धता जाहेर गरेको लगत संकलन, सत्यापन, परिचयपत्र वितरण, पुनरस्थापना, सामाजिक विभेदको अन्त्य, मर्यादित जीवन, सामाजिक सशक्तीकरण, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका मुद्दा सम्बोधन हुने अपेक्षा गरेका थिए । तर त्यो सरकारले पूरा नगरेपछि उनीहरु सरकारसँग असन्तुष्ट हुदैँ यात्रामा उत्रिएका हुन् ।

हरवा चरवामा जागरण ल्याउन र सरकारलाई माग पूरा गराउन दबाब दिने उद्देश्यले यात्राको आयोजना गरिएको मञ्चका सर्लाही संयोजक माझीले बताए । यात्राका क्रममा हरवा चरवाको बाहुल्य रहेका स्थानीय तहमा गएर प्रमुख तथा अध्यक्षबाट प्रतिबद्धता लिने, हरवा चरवा बस्तीमा गइ ज्ञापन पत्रमा हस्ताक्षर संकलन गर्ने र हरवा चरवाबाट संकलन गरिएको हस्ताक्षरसहितको ज्ञापनपत्र मधेश प्रदेशका मुख्यमन्त्रीलाई बुझाउने मञ्चका सर्लाही जिल्ला संयोजन माझीले बताए । राष्ट्रिय हरवा चरवा अधिकार मञ्च, केन्द्रीय कार्य समिति लहानद्वारा राष्ट्रिय दलित नेटवर्क (आरडीएन) नेपाललगायत संघसंस्था सँगको सहकार्यमा उक्त यात्रा निकालिएको माझीले जानकारी दिए।

Comment

Related News