अपडेट 
२०७९ चैत्र २८, मंगलवार ०७:२८

जनकपुरधाम । जनकपुरधाममा जारी मेयर कप टी–२० क्रिकेट प्रतियोगितामा काठमाण्डुमाथि सप्तरी टिमले रोमाञ्चक जित निकालेको छ ।

सोमबार रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देशीय रंगशालामा पाँच रनले काठमाण्डुलाई सप्तरीले पराजित गरेको छ । टस जितेर सप्तरीले पहिला ब्याटिङ रोजेको थियो । सप्तरीका खेलाडीहरु निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय दुई रनको लक्ष्य काठमाण्डु टिम समक्ष प्रस्तुत गरेको थियो । सप्तरीका लागि रोहन विकले सर्वाधिक ५० बलमा ४०, अभिषेक कार्कीले १२ र विक्रम दासले दश रनको योगदान दिए । सप्तरीका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । काठमाण्डुकालागि बलिङ गरेका इसान पाण्डे र गजेन्द्र बोहराले चार÷चार विकेट लिएका थिए । जवाफी ब्याटिङ गरेका काठमाण्डुले २० ओभरमा ९ विकेट गुमाएर ९६ रन मात्रै बनाउन सकेको थियो । काठमाण्डुका लागि ओपनिङ बाहेकका ब्याट्सम्यानले राम्रो साझेदारी गर्न सकेनन् । कमजोर ब्याटिङ गर्दै काठमाण्डुका लागि अशोक पौडेलले २४, गजेन्द्र बोहराले १७ र समिर कंडेलले दश रन बनाए । काठमाण्डुका अन्य ब्याट्सम्यानले सम्मानजनक रन बनाउन सकेनन् । सप्तरीको जितका लागि राहुल मण्डलले तीन, पप्पु यादव र नितेश यादवले दुई/दुई विकेट लिए । यस खेलको म्यान अफ दी म्याच रोहन विक घोषित भएका छन् ।

यस्तै, मंगलबार भएको पहिलो खेलमा सर्लाहीलाई ७७ रनले विराटनगरले पराजित गरेको थियो । सर्लाही टिम टस जितेर ब्याटिङको लागि विराटनगरलाई आमन्त्रण गरेका थिए । विराटनगर निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५२ रनको लक्ष्य सर्लाही समक्ष प्रस्तुत गरेका थिए । मंगलबारसम्म यो स्कोर प्रतियोगिताको सबैभन्दा उच्च स्कोर रहेको छ । विराटनगरका लागि सुनिल धमलाले ४८ बलमा ५६ रन र फिरदोस अन्सारी नटआउट २८ बलमा ३७ रन बनाएका थिए । सर्लाहीको तर्फबाट बलिङ गरेका सन्दीप खड्का, विशाल पटेल, चक्राधर यादव र सुमन शुक्लाले एक/एक विकेट लिए । एक सय ५२ रनको विशाल लक्ष्य पाएका सर्लाही टिम १९ ओभर चार बलमा सबै विकेट गुमाएर मात्र ७८ रन बनाउन सके । कमजोर ब्याटिङ देखिएको सर्लाहीको कुनै पनि ब्याट्स म्यानले राम्रो साझेदारी गर्न सकेनन् । विशाल पटेलले दश बलमा १३ रन बनाए पनि अन्य कुनै ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । विराटनगरको जितका लागि सुनिल धमलाले तीन, भाष्कर दुब्बेले तीन, दीपकराज जोसी दुई र फिरदोस अन्सारीले एक विकेट लिए । यस खेलको म्यान अफ दी म्याच पनि फिरदोस अन्सारी भएका थिए ।

प्रतियोगितामा १२ वटा टिम सहभागी भएको छ । जसमध्ये धनुषा र बारा सेमिफाइनलमा पुगिसकेका छन् । सबै टिमलाई चार वटा समूहमा विभाजन गरिएको छ । जानकी समूहबाट महोत्तरी र सिरहा पराजित भएर घर फर्किसकेको छ भने वैदेही समूहबाट रौतहट र हेटौंडा पराजित भएर प्रतियोगिताबाट आउट भइसके छ । यस्तै,मिथिला र भूमिजा समूहका टिमहरु प्रतिस्पर्धामा छन् । मिथिलामा काठमाण्डु, सप्तरी र पोखरामा छन् । वैदेही समूहमा हेटौंडा, बारा र रौतहट टिम छन भने भूमिजा समूहमा विराटनगर, सर्लाही र पर्सा क्रिकेट टिम परेका छन् ।

प्रतियोगिताको फाइनल खेल बैशाख १ गते गराउने आयोजक संस्थाको तयारी छ । प्रतियोगिता विजेता टिमलाई नगद अढाइ लाख र उपविजेतालाई डेढ लाखसहित कप र प्रमाणपत्र दिइने छन् । मंगलबार बिहान विराटनगर र पर्साबीच खेल हुने छ । दुबै टिम एक/एक खेल जितेर सेमिफाइनलमा पुग्न प्रतिस्पर्धा गर्ने छन् । मंगलबार दोस्रो खेल काठमाण्डु र पोखराबीच हुने आयोजक संस्थाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News