अपडेट 
२०७९ चैत्र २८, मंगलवार ०७:४३

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सी.के.राउत बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ मा स्वाभिमान यात्रा गरिरहेको बेला सोमबार काठमाण्डुस्थित उनको पार्टी कार्यालय अगाडि धर्ना र प्रदर्शन गरिएको छ ।

राष्ट्रिय एकता अभियानद्वारा जनमत पार्टीका समानुपातिक सांसद अब्दुल खानलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरिएको छ । काठमाण्डुमा जनमत पार्टीको सम्पर्क कार्यालय रहेको छ । निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री समेत रहेका खानले एक महिलासँग गरेको अश्लील हर्कतको श्रव्य– दृश्य सामग्री (भिडियो) सामाजिक सञ्जालमार्फत बाहिरिएपछि अभियानले उनलाई सांसद पदबाट बर्खास्त गर्न माग गरेको छ । विरोध प्रदर्शनमा रहेका सहभागीहरुले अश्लील हर्कत गर्ने सांसद अब्दुल खानलाई बर्खास्त गर, संसदको गरिमासँग खेलवाड गर्ने सांसद राजीनामा देउ, सीके राउत होसमा आउ, अश्लील सांसदलाई कारबाही गर जस्ता नारा लगाएका थिए । अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिता साहले निवर्तमान मन्त्रीको यस हर्कतले नेपालको संसदीय व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीकै शिर निहुरिएको तर्क गर्दै उनलाई जनमत पार्टीले तत्काल कारबाही गर्नुपर्ने माग गरिन् । उपाध्यक्ष साहको नेतृत्वमा भएको प्रदर्शनमा राष्ट्रिय विद्यार्थी परिषद्का महासचिव पप्पु यादव, केन्द्रीय सदस्य मिना साह, चन्द्र यदुवंशी लगायत महिलाहरुको सहभागिता रहेको थियो । अभियानले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई ज्ञापन बुझाएर बर्खास्त गर्न माग गरेका थिए ।

हालै सांसद खानको एउटा अश्लील भिडियो सार्वजनिक भएको हो । खानको विरोध भइरहे पनि उनले आफूसित रकम लेनदेनका लागि भिडियो बनाएर सार्वजनिक गरिएको आरोप लगाएका छन् । भिडियो सार्वजनिक गर्नेलाई कारबाहीको माग गर्दै साइवर क्राइममा उजुरी समेत दिएका खान भने सार्वजनिक गतिविधिमा देखिएका छैनन् । उनी जनमत पार्टीका उपाध्यक्ष हुन् । अश्लील हर्कत गर्ने सांसद खानबारे जनमत पार्टी र अध्यक्ष डा.राउतले औपचारिक रुपमा कुनै प्रतिक्रिया जनाएका छैनन् । तर सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेसँगै अब सडकमा समेत विरोध हुन थालेको छ । प्रचण्ड सरकारमा खान खानेपानी मन्त्री थिए । तर मन्त्रिपरिषद् विस्तारमा जनमत पार्टीले मागे अनुसारको मन्त्रालय प्रधानमन्त्री प्रचण्डले दिन अस्वीकार गरेपछि खानलाई सरकारबाट फिर्ता बोलाएको थियो । भिडियो सार्वजनिक हुनु अगावै पार्टीका नेताहरुले थाहा पाएकाले मन्त्रीबाट उनलाई फिर्ता बोलाइएको कतिपयको आरोप छ । तर यसबारे जनमत पार्टीका नेताहरु कुनै प्रतिक्रिया दिन तयार छैनन् । यस विषयमा कुनै सोंच नबनाएको अथवा त्यसबारे बुझ्न नसकेको धारणा उनीहरु व्यक्त गर्छन् । संघीय सरकारमा जनमत पार्टी नरहे पनि मधेश प्रदेश सरकारमा जनमत पार्टी सहभागी छ । मधेश प्रदेश सरकारमा जनमत पार्टीको २ मन्त्री र १ जना राज्यमन्त्री रहेका छन् ।

Comment


Related News

Latest News

Trending News