अपडेट 
२०७९ चैत्र २८, मंगलवार ०७:४९

नेपाल प्रहरीले मधेश प्रदेशको विभिन्न जिल्लाबाट ६ जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ ।

यस क्रममा प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको प्रहरी टोलीले जिल्लाको अग्निसाइर कृष्णसावरण गाउँपालिका–२ बाट २२ वर्षीय सुनिल राईलाई लागूऔषध बिक्री वितरण गरेको आरोपमा पक्राउ गरेको छ । लागूऔषध ओसार–पसार तथा बिक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा राईले आफ्नै करेसाबारीमा माटोमा गाडेर राखेको लागुऔषधहरु फेला परेको प्रहरीले जनाएको छ । कपडाको झोलामा पोका पारी माटो भित्र गाडेर राखिएको अवस्थामा प्रहरीले लागू औषध लिजेसिक ८० एम्पुल, डाईजेपाम ७८ एम्पुल र फेनारगन ७५ एम्पुल गरी जम्मा २ सय ३३ एम्पुल बरामद गरेको छ । पक्राउ परेका राइलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीमा राखिएको जनाइएको छ । त्यसै गरी प्रहरीले सिरहाको लहान नगरपालिका–४ रघुनाथपुरबाट लागूऔषधसहित २८ वर्षीय जीवन यादवलाई पक्राउ गरेको छ । यादवले आफ्नै घरमा ब्युप्रोनोफिन १२ एम्पुल, डाइजिल्याब ११ एम्पुल र फेनारगन ११ एम्पुलला.औषधि लुकाई छिपाइ राखेको गोप्य सूचनाको आधारमा प्रहरीले खोज तलास गरेको थियो । पक्राउ परेका यादवलाई ईलाका प्रहरी कार्यालय लहानमा राखेर लागूऔषध मुद्दामा कारबाही चलाइने प्रदेश प्रहरी कार्यालय जनकपुरधामद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै महोत्तरीको सम्सी गाउँपालिका–४ स्थित दशगजा नजिकैबाटै दुई युवकलाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गैडाभेटपुरका प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटेको गस्ती टोलीले भारतको कन्हवाबाट नेपालतर्फ पैदल आउँदै गरेको चितवन उपमहानगरपालिका–९का २४ वर्षीय रोहित कार्की र मकवानपुर बकैया गाउँपालिका–७का २९ वर्षीय संजु खड् कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले फेनरागन–५६पिस,नरकिम–५२पिस र डाईजोपाम–५७ पिस गरी जम्मा १ सय ६५ परिमाणमा लागूऔषध बरामद गरिएको जनाइएको छ । पक्राउ परेकाहरुमाथि लागूऔषध मुद्दामा कारबाही चलाइने र अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाइएको जनाइएको छ । यता आइतबारै अबेर राति बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ बाट एक जनालाई गाँजासहित पक्राउ गरेको छ । नारायणघाटबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.प्र.०६–००१ख.००५४ न.को बसलाई ईलाका प्रहरी कार्यालय सिमराबाट खटेको टोलीले चेक जाँच गरेर पर्सा जिल्लाको जगरन्नाथपुर गाउपालिका–६ का ४५ वर्षीय मुन्ना पासवानलाई अढाइ किलो गाँजासहित पक्राउ गरेको छ । पक्राउ परेका पासवानलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालयमा राखेर लागूऔषध मुद्दा चलाइने प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

त्यसै गरी आइतबार वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रहरीले एक युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ । चितवन भरतपुर महानगरपालिका–१० हाकिम चोकका २७ वर्षीय सुमन ठकुरीलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । भारतको रक्सौलबाट वीरगञ्जतर्फ पैदल आइरहेको अबस्थामा चेकजाँच गर्दा खुट्टाको पिँडुलाको भागमा सेतो टेपले बेरेको अवस्थामा ठकुरीलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका ठकुरीको साथबाट प्रहरीले नुर्फिन १५ एम्पुल,डाईजेपाम १५ एम्पुल र फेनारागन १५ एम्पुल गरी जम्मा ४५ एम्पुल लागूऔषधहरु बरामद गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । त्यसैगरी प्रहरीले पर्साबाट ठूलो परिमाणमा लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पटेर्वासुगौली गाउँपालिका–५ देउरियास्थित प्रदेशी राउत थारुको घरबाट आइतबार साँझ पौने ५ बजेको समयमा १ सय १८ किलो चरेस र ४ किलो गाँजासहित उनीहरुलाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुलाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । राउतको घरमा लागूऔषध रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक प्रज्वल थपलियाको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा लुकाइछिपाइ राखेको अवस्थामा १ सय १८ किलो लागूऔषध चरेस र ४ किलो गाँजा फेला परेको थियो । लागूऔषध ओसारपसार तथा किनबेचमा संलग्न रहेको आरोपमा प्रहरीले घरधनी ६० वर्षीय प्रदेशी राउत थारु, मकवानपुर राक्सिराङ गाउँपालिका–८ का ३५ वर्षीय रमेश मोक्तान र मकवानपुर मनहरी गाउँपालिका–८ का २५ वर्षीय रोशन मोक्तानलाई पक्राउ गरेको छ ।

Comment

Related News