अपडेट 
२०७९ चैत्र २८, मंगलवार ०७:५१

रौतहटको माधवनारायण नगरपालिकाका आगलागी पीडितलाई राहत वितरण गरिएको छ ।

माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले सोही पालिकाको विसुनपूर्वा मानपुरका आगलागी पीडितहरुलाई राहत सामग्री वितरण गरेका छन् । मेयर यादवले सोमबार घटनास्थलमै पुगेर पीडितहरुलाई नगरपालिकाको तर्फबाट राहत सामग्री वितरण गरेका छन् । आइतबार दिउँसो भएको भीषण आगलागीमा परेर सो ठाउँका २१ वटा घर तथा गोठ जलेर नष्ट भएको थियो । आगलागीबाट करिब २० घरधुरी घरवारविहीन बनेको छ । आगलागीबाट घरसहित घरभित्र राखिएको खाद्यान्न सामग्री, लत्ताकपडा, नगद, गरगहना गरी लाखौं मूल्यको सम्पत्ति जलेर खरानी भएको थियो । मेयर यादवले आगलागीबाट प्रभावित प्रति घर परिवारलाई एक÷एक थान ब्ल्याङ्केट, कम्बल, त्रिपाल, पुरुषका लागि सर्ट, पैन्टको कपडा, धोती, कुर्ता, गमछा, गन्जी तथा महिलाहरुका लागि साडी सेट लगायतका लत्ताकपडा वितरण गरेका छन् । त्यस्तै आगलागी पीडितहरुलाई प्रति परिवार एक/एक थान ग्यास सिलिण्डर, चुल्हो, चामल, दाल, नुन, खाने तेल, आलु, प्याज लगायतका खाद्यान्न सामग्री तथा भाडावर्तन वितरण गरिएको मेयर यादवले बताए ।

राहतले पीडितहरुलाई केही समयको लागि भए पनि सहयोग पुगोस भन्ने उद्देश्यले राहत सामग्री प्रदान गरिएको र आवश्यकताको आधारमा फेरि राहत उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए । आगलागीमा परी स्थानीय जिउत मुखियाको फुसको घरबाट सल्केको आगोले हरेशी मुखिया, मनोज मुखिया, महेशी मुखिया, प्रेम मुखिया, योगेन्द्र मुखिया, विकास मुखिया, उपेन्द्र मुखिया, जयकरण मुखिया, इनरदेव मुखिया, मोतिलाल भगत, धनराज मुखिया लगाएतको गरी २१ वटा घर जलेर नष्ट भएको छ । त्यसैगरी जनता समाजबादी पार्टी नेपालका मधेश प्रदेश सदस्य शोभा देवी साहले जिल्लाको परोहा नगरपालिका–३ तेजापाकडका अग्नि पीडित संग भेटेर सहयोग गरेका छन् ।

रौतहट जिल्लाको परोहा नगरपालिका–३ तेजापाकडमा आइतबार बिहान भएको आगलागी प्रभावित छ जना पीडितलाई भेटेर नगद र त्रिपाल सहयोग भेटेर प्रदेश सांसद साहले व्यक्तिगत रुपमा नगदसहित त्रिपाल सहयोग गरेका छन् । घरमा खाना पकाएर निभाएको आगो सल्किएर राम बिगन महतोको घरबाट शुरु भएको आगोले छ जनाको फुसको घर गोठ पूर्ण रुपमा जलेर नष्ट भएको थियो । राम बिगन महतोको घरमा रहेको अन्न, लता कपडा,२ थान साइकल, नगद गर गहना सहित १२ लाख ८५ हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको पीडितले जानकारी गराए । प्रदेश सांसद साहले पीडितहरुलाई प्रदेश सरकारबाट सहयोग गराउने प्रतिबद्धता जनाए । विगत केही दिनदेखि भइ रहेको आगलागीबाट रौतहटमा दजएनौ घर जलेर नष्ट भएको छ भने १ जना बालिकाको जलेर मृत्यु समेत भइसकेको छ ।

Comment

Related News

Latest News

Trending News