अपडेट 
२०७९ चैत्र २८, मंगलवार ०७:५४

धर्म अन्तिम अर्थमा संकीर्ण चेतना हो, जस्ले आफूलाई श्रेष्ठ र अरुलाई हेयको दृष्टिले हेर्छ । धर्मभित्रको यो आत्म श्रेष्ठताको चेतना धर्म र ईश्वर नमान्ने नास्तिक वा अनिश्वरवादीहरु प्रति मात्रै होइन, आफूभन्दा भिन्न धर्म प्रतिपनि उस्तै छ । यस विश्वमा धार्मिक समुदायको विकास भएदेखीको इतिहासधार्मिक समुदाय आपसमा युद्धरत् रहँदै आएको इतिहास हो । युरोप र पश्चिमी विश्वमा क्रिस्चियनिटी, यहुदी र इस्लामहरु बीचको वर्चस्वको युद्ध होस वा एसिया, विशेष गरी दक्षिण एसियामा हिन्दु र इस्लामबीचको युद्ध र संघर्षलाई सटिक उदाहरणको रुपमा प्रस्तुत गर्न सकिन्छ । धर्म मानव समुदायमाथी सर्वतोमुखी शासनगर्ने उद्देश्यबाट जन्मिएको हो । यस अर्थमा धर्म सत्ताकै एउटा रुप हो । कुनै बेला धर्म जनसामान्यमाथी प्रत्यक्ष शासन गथ्र्यो, पछि शक्तिशाली योद्धा (क्षत्रीय, सैन्यशक्तिभएका राजाहरु)हरुले शासन आफ्नो हातमा लिएपछि धर्मले राजा वा राजसी सत्ताको प्रथम सहयोगी भएर आफ्नो औचित्यता कायम राख्यो ।

जनतामाथी शासनगर्न राजा वा सत्तालाईपनि दैवीय भ्रम कायम राख्नु आवश्यक थियो, त्यसैले जनताबीच उसले धर्मको सर्वोच्चता कायम नै रह्न दियो । धर्मले दैवीय भ्रमको माध्यमले जनसामान्यको सरल मनोविज्ञानलाई नियन्त्रण गर्छ । यसकारण संसारभरिका पारम्परिक कबिलाई र सामन्तवादी सत्तामा धर्माधिकारी र धार्मिक अदालतहरु आवश्यक भए शासकलाई समेत चुनौती दिनसक्ने स्थितिमा थिए । समग्रमा धर्म राजनीतिक सत्ताको एउटा मनोवैज्ञानिक अङ्ग हो, जस्ले मानिसको भौतिक र चेतना दुबै स्तरमा शासन गर्दै आएको छ । यसै कारण राज्यसत्ताको निम्ती युद्ध र संघर्ष जस्तै धार्मिक वर्चस्वको निम्ति संघर्ष हुँदैआएको देखिन्छ ।धर्मको यो चरित्रगत आक्रामकता नास्तिक र भिन्न धर्मप्रति मात्रै छ भन्नेपनि छैन । वर्चस्वको निम्ति यो संघर्ष एउटै धर्मभित्रको विविध सम्प्रदाय र पन्थभित्रपनि पाइन्छ । क्रिस्चियनिटीभित्र क्याथोलिक र प्रोटेस्टेन्ट र अर्थोडक्सहरु बीचको संघर्ष, इस्लाममा शिया र सुन्नी तथा विविध फिरकाहरुबीचका खुनी संघर्षहरु तथा हिन्दुमा वैष्णवी, शैव, शाक्त वा अन्य सम्प्रदायहरुबीचको रक्तपातपूर्ण संघर्ष र युद्धबाट इतिहासका पानाहरु भरिएका छन् । उल्लेखनीय के हो भने यी सारा धर्महरुले दार्शनिकरुपमा सम्पूर्ण चराचर जगत र ब्रह्माण्ड ईश्वरले रचेको समानरुपमा स्वीकार गर्छन् । यस ब्रह्माण्डमा ईश्वरको आदेश वा इच्छा बिना एउटा पातपनि हल्लिन सक्दैन, भन्ने आर्ष घोषणा प्रत्येक धर्ममा गरिएको छ ।

जीवन र जगतबारे भौतिकवादी र अनिश्वरवादीहरुको आलोचना आफ्नो ठाउँमा छँदैछ, यो बेग्लै विषय हो । तर ईश्वर र जगतबारे मूलभूतरुपमा समान घोषणाको कारण संसारभरिका धर्महरु एक अर्काप्रति सहृदयी हुनु पर्ने हो । तर भौतिकीय यथार्थमा यो एक प्रकारको सत्ताको रुप भएको कारण धर्मको शुरुआत देखी नै वर्चस्वको निम्ति एक आपसमा संघर्ष यस्को स्वाभाविक चरित्र बन्न गएको हो । धर्म र शासनको यस गँठजोडको विरुद्ध मानवीय चेतनाको प्रतिरोधी परम्पराको पनि इतिहास रहँदै आएको छ । मानवीय चेतनाको आधुनिक विकास तथा जनता र श्रमिकवर्गको अधिकारको निम्ति विश्वमा भएको विविध जनसंघर्षहरुले विचार र सत्ताको केन्द्रमा मानवीय हित तथा श्रमलाई स्थापित गरेपछि आफ्नो अस्तित्व जोगाउनको निम्ति धर्मले पनि समयानुसार आफूमा मानवीयता अुनरुप परिवर्तन गर्नु परेको हो । ‘बसुधैव कुटुम्बकम्’ (संसारभरीका सबै एउटा परिवार हौँ)जस्ता प्राचीन औपनिषदिक नारा होस वा कबीरको ‘सबमे साँई एक है’ वा ‘ कबीरा कुआँ एक है, पानी भरे अनेक, भाँडै ही मे भेद है, पानी सब मे एक’ वा आधुनिक युगमा भारतमा महात्मा गान्धीको ‘अल्ला ईश्वर तेरो नाम, सब को सन्मति दे भगवान’ वा ‘वैष्णव जन तो तेने कहिए, पीर पराई जाने रे’ जस्ता नारा र अभिव्यक्तिहरु विविध मानवीय धार्मिक विचारकहरुले धर्मको चरित्रमा युगानुकूल मानवीय सुधार गरेका प्रयत्नहरु हुन् । विगत तीन शताब्दीमा विश्वभरीमा भएका मानवीय चरित्रका वैचारिक राजनीतिक आन्दोलनले धर्मलाई सत्ताशीर्षबाट झारेर मानवीय हित र सरोकारलाई स्थापित गर्नु मानव इतिहासमा नयाँ हो । यद्यपि एउटा यथार्थ के हो भने मानवविकासको इतिहास विविध समुदाय र संस्कृतिबीचको अन्तर्विरोध, अन्तर्संघर्ष तथा नयाँ अन्तर्घुलनको साँस्कृतिकताबीच विकसित भएको हो । यससंगै धर्मको मूल चरित्रभन्दा भिन्न शान्तिको बोध गराउने भावसौन्दर्यको विकास भएको हो ।

यसशान्तिमय भावसौन्दर्यको मूल आधार बौद्ध र जैन धर्मको मूल बोध हो । तर यस्को मूलकारण, राजनीतिक संघर्षमा सबै धर्म समुदायको सहभागिताले ल्याएको निकटताको कारण, बिसौँ शताब्दीमा दक्षिण एसियामा प्रत्यक्षरुपमै भएपनि धर्ममा मानवीयतालाई प्रायः सबै धर्माचार्यहरुले स्वीकार गर्नु हो । यसै कारण बीसौँ शताब्दीमा मन्दिर, मस्जिद र गुरुद्वाराहरुलाई साहित्यमा शान्ति प्रदान गर्ने स्थलको रुपमा व्याख्या गरियो । धार्मिक सहिष्णुका साहित्य लेखिए, सिनेमा बनाइए र सबै धर्मलाई समान दृष्टिले हेर्ने मानवीय पन्थहरु बिकसित भए । यो सहिष्णुता मृत्युपछिको अलौकिक मोक्ष भन्दापनि यस जगतमा एक आपसमा सहिष्णुता साथ बस्ने र एक अर्काको दुःखमा सामेल हुने मानवीय चेतनाहरु थियो । मानवीय चेतनाको यस वैश्विक प्रवाहमा संकीर्ण धार्मिकता तथा धर्माचार्यहरु केही अंशमा भएपनि नैपथ्यमा जान बाध्य भए । यद्यपि उदाहरणहरुले के देखाएका छन् भने धार्मिकता र मानवीय दुई समानान्तर धाराहरु हुन् । कबीरले धार्मिकतालाई जतिसुकै मानवीय र पाखण्डमुक्त बनाउन खोजेपनि उनि सफल हुनसकेनन् । कबीरको जन्म हिन्दु वा मुसलमान कुन धर्ममा भएको थियो भन्ने प्रष्ट छैन । यद्यपि उनलाई पाल्ने मुसलमान दर्जी थिए भनिन्छ । उनिभने यी धार्मिक संकीर्णताबाट मुक्त निर्गुण, निराकार रहस्यवादी आध्यामिक विचारक थिए । उनि मर्ने बेलाकोसत्य कुरा मिथ कथा जस्तै छ । भनिन्छ, उनको मृत्यपछि उनलाई हिन्दु विधि अनुसार जलाउने वा मुस्लिम विधि अनुसार दफन गर्ने (माटोमा गाडने) भनेर विवाद भएको थियो । कथामा भनिए अनुसार उनको लास हेर्दा त्यो फूलमा परिणत भएको थियो । उनको हिन्दु अनुयायीहरुले आधा फूल लगेर जलाए र मुस्लिम अनुयायीहरुले आधा लगेर कब्रमा गाडे । निश्चय नै यस्तो भएको छैन होला, तर यसमा तीखो व्यंग्य अवश्य लुकेको छ ।कबीरका प्रयासहरुले धर्मको मानवीय असम्वेदशीलतामाथी तीखो प्रहारमात्र गरेका थिए ।

पछि निर्गुण कबीरको अनुयायीहरुले रामानन्दी मतबाट प्रभावित भएर सगुन रामकबीर मतको विकास गरे र मुत्र्तिपूजाका विरोधी कबीरकै मुत्र्तिलाई साकारी परमेश्वरको चमत्कारी बनाएर पूजागर्न थाले । गान्धीको हत्याले त धर्मको स्वाभाविक अमानवीयतालाई नग्न नै गराउँछ । अल्ला ईश्वर तेरो नाम भन्ने गान्धीको सहिष्णु विचार धार्मिक प्रतिक्रियावादलाई पचेन । एकातिर मोहम्मद अलि जिन्नाले इस्लामी संकीर्णतामा आधारित पाकिस्तान देशको निर्माण गरे भने अर्कोतिर हिन्दु धार्मिक प्रतिक्रियावादले आफ्नो पुनरोत्थानको निम्ति गान्धीलाई बाघाको रुपमा ठहर गरेर हिन्दु संकीर्णतावादी धार्मिक राजनीतिकशक्तिहरुको योजनामा गान्धीको हत्या भयो । यस्ता अनेकौँ उदाहरणहरु छन् । यी उदाहरणहरुले के देखिन्छ भने धर्म जतिसुकै उदार भएपनि सत्ता र राजनीतिक अर्थमा अन्ततः संकीर्ण र गैरमानवीय चेतना नै हो । त्यसैले आधुनिक विचारकहरुले धर्मलाई मानिसको वैयक्तिक आस्थाको विषय भएको तथा राजनीतिक सत्ता धर्मनिरपेक्ष हुनुपर्ने अर्थात राज्यसत्ता धर्मभन्दा निरपेक्ष रहेर सबै जनताको हितमा रहनुपर्ने निर्देश गरेका छन् । तर एक्काईँसौँ शताब्दीको विगत दुईदशकमा पूँजीवादी गठबन्धनमा धार्मिक संकीर्णता विश्वभरीका भिन्न भूगोलमा भिन्न भिन्न स्वरुपमा सत्तामा अभिव्यक्त हुनथालेको छ, भने यसले समुदायमा धार्मिक तनाव र उत्तेजना सृजना गरिरहेको देखिन्छ । मध्यपूर्वमा इजरायल र इस्लामीक देशहरु बीचको धार्मिक शत्रुता र युद्ध, इस्लामिक देशहरुको बीचको शिया र सुन्नी तथा विविध फिरकाहरु बीचको संघर्ष, तथा यता दक्षिण एसियामा विशेषगरी भारतमा हिन्दु–मुस्लिम उत्तेजनामा विकसित सत्ताको राजनीतिले धर्मको अमानवीय सम्मोहन बढाउँदै लगिरहेको छ । भारतमा त यस धार्मिक उत्तजनामा पञ्जाबमा खालिस्तानको राजनीतिक धार्मिक माँग र सशस्त्र संघर्षपनि उल्लेनीय छ ।

प्रत्यक्षरुपमा हेर्दा, यी धार्मिक उत्तेजना सामान्य मनोविज्ञानबाट विकसित देखिएपनि यो सत्तामा कब्जाको निम्ति चतुर पूँजीवाद तथा धार्मिक प्रतिक्रियावादको संयुक्त धूत्र्त कारनामा हो । खतरनाक के हो भने यस धार्मिक प्रतिक्रियावादी खेलमा धर्माचार्य र प्रवचकहरुको माध्यमबाट आम जनमानसको मनोमस्तिष्कमा धार्मिक संकीर्णता भरिन्छ । यस भ्रमित चेतनाको कारण उनको निम्ती उनले संगै जीवन बिताएका छिमेकी र मित्रहरु फरक धार्मिकताकै कारण अपरिचित तथा शत्रु तथा कहिल्यै नदेखिने धार्मिक प्रवचक, मुल्ला, पण्डित, पादरीहरु मित्र र हितकर लाग्न थाल्छन् । यसले समाजमा धार्मिक समुदायको रुपमा असुरक्षाको भाव उत्पन्न गराउँछ र एक अर्काप्रति शंकाको स्थायी भावपनि जन्माउँछ । यसै शैलीमा धार्मिक प्रवचकहरु तथा धार्मिक राजनीतिक संगठनका कथित विचारकहरुले इतिहासलाई आफू अनुकूल व्याख्या गर्छन् र धार्मिकताको आधारमा राम्रो र नराम्रो, योग्य र अयोग्य तथा हितकर र अहितकरको भ्रमपूर्ण तर्क प्रस्तुत गर्छन् । यथार्थ के हो भने सामुदायिक ऐतिहासिक सहअस्तित्वले गर्दा सबै सँस्कृति र धर्ममा राम्रा र नराम्रा प्रवृत्ति र मनिसहरु हुने गर्छन् । अझ भनौँ सँस्कृति धर्मको आधारमा होइन, बरु सामुदायिक सहअस्तित्व र श्रमको व्यवहारबाट विकसित भएको हो । तथापि सरल मनोविज्ञानभएको जनसामान्यहरुले धर्मको नाममा धर्माचार्य तथा धार्मिक संगठनहरुले गर्ने सबै कामहरु धार्मिक हुने गर्छन्, त्यसैले यस्मा भाग लिनु पुण्यको काम ठान्छन् । समाजमा धार्मिक उत्तेजना कायम गरेर सत्ता राजनीतिमा वर्चस्व बनाउन खोज्ने शक्तिहरु जनताको यसै सरल मनोविज्ञानको फाइदा उठाउने गर्छन् । विगतको केही वर्षमा नेपालमापनि विविध राजनीतिक धार्मिक संगठनहरु देखिएका छन् ।

धार्मिक जीवनसंग पूर्णतः जोडिएका साधु समाजभन्दा भिन्न यी धार्मिक राजनीतिक संगठनहरुले धार्मिक उत्सवहरुको रुप र चरित्र बदलिदिएका छन् । अहिले धर्म शान्त र सौम्यभन्दा पनि उत्तेजनात्मक र हंगामेदार बढी भएको देखिन्छ । यो फेरी कुनै एउटा धर्मको होइन, सबै धर्म यस्तै स्थितिबाट गुज्रँदै छन् । यसवर्ष रामनवमीमा जनकपुर र बीरगन्जमा जुन असहिष्णु धार्मिक उत्तेजनाका दृश्यहरु देखिए, त्यसले हाम्रो सामाजिकताभित्रको दूरी बढदै गएको संकेत दिन्छ । यी धार्मिक राजनीतिक संगठनहरु, प्रायः सबैमा नेतृत्वगर्नेहरु कुनै न कुनै व्यवसाय वा राजनीतिक संगठनसंग जोडिएका हन्छन्, जस्लाई समाजको शिक्षा, स्वास्थ्य, बेरोजगारी, सामाजिक विषमता, जात, पात आदि सामाजिक समस्यासंग कुनै मतलब हुँदैन र जस्का सबै धार्मिक तर्कहरु धार्मिक उत्तेजना बढाउने खालको हुने गर्छ । यस समग्र गन्थन मन्थनको निष्कर्ष के हो भने हाम्रो छिमेकी वा हामीले चिनेको मानिस राम्रो वा नराम्रो भन्ने तथ्य उसले हाम्रो सुख दुःखमा साथ दिनु वा नदिनु वा जीवनमा गरिने व्यवहारबाट हुने हो, उसका धार्मिक आचरणहरुले होइन ।

तर कुनै अफीमी नसा जस्तो हामी हाम्रा जीवनभरीको साथ, सम्बन्ध र व्यवहारलाई बिर्सेर धार्मिक उत्तेजनामा बग्न थाल्छौँ । कहिले विचार गर्नुभएको छ ? यतिका धार्मिक संस्था हुँदाहुँदै पनि मन्दिर र मस्जिदको बेथिति मात्र होइन, धार्मिक समुदायको समेत जीवनको दुःख झन् झन् किन बढदै गैरहेको छ ? वस्तुतः धर्म र धर्माचार्यहरु शासकवर्गका ढाल हुन्, जस्ले समाजको वास्तविक भौतिक समस्याबाट भटकाएर नक्कली विषयमा रुमल्लिन र आपसी लडाइँमा व्यस्त रहन प्रेरित गर्छ । वस्तुतः यी धार्मिक युद्ध, दंगा तथा साम्प्रदायिक उत्तेजनाहरु पूँजी र धर्मको गठजोडमा विकसित सत्ता राजनीतिको खतरनाक धन्दा हो, जस्ले मानिसको सरल मनोविज्ञानको उपयोग गर्छ । त्यसैले मानिस र समाजको समग्र दुःखबाट मुक्ति धार्मिक भएर होइन, मानवीय भएर तथा उत्पीडित वर्ग र समुदायको एकतामा मात्र सम्भव छ ।चेतना भया ।

Comment


Related News

Latest News

Trending News