ध्रुवकुमार झा |
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले भारतीय चोरीको गाडीमा नेपाली नम्बर लगाएर चढिरहेका छन् ।
भारतीय नम्बरको टाटा सुमो जीपमा मारुती भ्यानको नेपाली नम्बर लगाइएको छ । मारुती भ्यानको नम्बर लगाइएको टाटा सुमोमा भने प्रेसको स्टिकर अगाडिको सिसामा टाँसिएको छ । साहले सो गाडी पिराडी चोक स्थित डेनियल ग्यारेजमा राखेका छन् । मारुती भ्यानको बा.११ च ६३९६ नम्बरलाई टाटा सुमोमा लगाइएको छ । सो गाडीको इञ्जिन नम्बर ०२५३३५७८ र चेचिस नम्बर एम ए टी ४४६३६१९९ एन २८२५८ भिक्टा डी आई जी एक्स र २६०० केजी उल्लेख रहेको छ । सो गाडीको भारतीय नम्बर बी आर ओ ६ पी ए ११४२ रहेको स्रोतले जनाएका छन् । स्रोतका अनुसार साहले भारतीय नम्बर हटाएर मारुती भ्यानको नम्बर लगाएका छन् । उनको प्रयोगमा रहेको सो गाडी केही दिनदेखि डेनियल ग्यारेजमा मर्मतका लागि राखिएको बताइएको छ । ग्यारेज सञ्चालकले मर्मतका लागि राखिएको सो गाडी मर्मत भइ नसकेको बताए । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष भएपछि उनी हाल सरकारी गाडी पनि पाएका छन् । तर बृहत्तर कार्यालयमा आम्दानी समेत नजनाइएको सो गाडीको मर्मत लगायत इन्धन समेतको खर्च बृहत्तरबाट नै व्यहोरि रहेका छन् ।
भारतीय नम्बरको गाडीमा नेपाली नम्बर लगाउनु ठूलो अपराध रहेको बताइन्छ । मारुती भ्यानको नेपाली नम्बरलाई भारतीय टाटा सुमोमा लगाउँदा त्यसको इञ्जिन र चेसिस नम्बर ब्लूबुकमा रहेको नम्बरसित मिल्दैन् । ट्राफिक प्रहरीले चेकजाँच गर्दा सो गाडी चोरीको भने पुष्टि हुन सक्छ । तर प्रेसको स्टिकर लगाइएको कारण प्रहरीले गाडीको जाँच गरेको पाइदैन् । प्रेस लेखेको मोटरसाइकल र चार पांग्रे गाडीहरु छ्याप्पछ्याप्ती देखिन्छ । तर अन्य सवारी साधनको तुलनामा प्रेस लेखिएको मोटरसाइकल र चार पांग्रे गाडीको जाँच कमै भएको पाइन्छ । स्रोतका अनुसार साहले मधुबनी जिल्लाको कमलावरपट्टीबाट सो गाडी ल्याएको बताइएको छ । गाडी धनीले मधुबनी प्रहरी र सडक यातायात कार्यालयमा गाडी चोरीको निवेदन दिइसकेका छन् ।
प्रेस लेखेर मारुती भ्यानको नेपाली नम्बर लगाइएको कारण साह हालसम्म प्रहरीको जाँचलाई छल्दै आएका छन् । नेपालमा भारतीय नम्बरको सवारी साधनलाई १ वर्षमा लगातार ३० दिन अथवा पटक–पटक गरी ३० दिन मात्र चलाउन पाउने प्रावधान छ । त्यसकारण साहले चोरीको गाडीमा मारुती भ्यानको नेपाली नम्बर लगाएको अनुमान गरिएको छ । भारतबाट चोरी गरी नेपालमा ल्याएर नेपाली नम्बर राखेर विगतमा केही गाडीहरु सञ्चालनमा रहे पनि प्रहरीले ती सवारी साधनहरुलाई जफ् तगरी कारबाही गरिसकेका छन् । चोरीको गाडी खरिद गर्ने समेत चोरी अभियोगमा कारबाहीमा पर्ने प्रावधान रहेको ट्राफिक प्रहरीहरु बताउँछन् ।
प्रेसको स्टिकर लगाएर साहले प्रयोग गरिरहेका सो टाटा सुमो गाडी उनका परिवारका सबै सदस्यहरुले प्रयोग गरेको देखिन्छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्षलाई बैठक बाहेकका अन्य सुविधाहरु छैन् । तर उनले सरकारी गाडी, ड्राइभर र इन्धन समेत बृहत्तरको नै प्रयोग गरिरहेका छन् । हाल ग्यारेजमा राखिएको मारुती भ्यान नम्बरको टाटा सुमो गाडीमा पनि बृहत्तरबाट इन्धन हालिएको बताइएको छ । बृहत्तरको अध्यक्षमा साह नियुक्त भएदेखि कार्यालय र उनी स्वयं विवादमा छन् । कर्मचारीहरुको तलब रोक्कादेखि प्रदेश पर्यटनको सूचना केन्द्रको बोर्ड फालेर आवास बनाउनु सम्मको विवादमा साह परेका छन् । अध्यक्ष नियुक्त भएको वर्ष दिन नपुग्दै बृहत्तरको अवस्था दयनीय बनेको छ ।
धनुषा र महोत्तरी जिल्लामा पर्ने बृहत्तर परिक्रमा क्षेत्रको विकास गर्न गठन भएको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् थला परेको छ । तर उनी आफ् नो सेवा सुविधाका लागि कर्मचारीमाथि अनावश्यक दबाब सृजना गरिरहेका छन् । ऐनमा भएको व्यवस्था विपरीत उनले तलब सुविधाको दाबी गरेको बताइन्छ ।