अपडेट 
२०७९ चैत्र २९, बुधबार ०८:००

एड्स हेल्थ केयर फाउण्डेशन(एएचएफ) नेपालले मधेश प्रदेशका एआरटी सेन्टरहरुलाई गर्दै आएको सहयोग जारी राख्ने भएको छ ।

एएचएफले मंगलबार जनकपुरधाम आयोजना गरेको ‘ प्रोजेक्ट ईन्सपेक्सन मिटिंग विथ स्टेकहोल्डरर्स’ कार्यक्रममा सहयोग जारी राख्ने जानकारी गराइएको छ । मधेश प्रदेशको वीरगञ्जस्थित नारायणी तथा जनकपुरधाम प्रादेशिक अस्पतालको एआरटी सेन्टरलाई सन् २०१८देखि सहयोग गर्दै आएको एएचएफका कार्यक्रम संयोजक विमल कुमार साहले जानकारी दिए । उनका अनुसार २०२२ नोभेम्बर ११ देखि २०२७ नोभेम्बर १० सम्मको लागि परियोजना थप गरिएको बताए । कार्यक्रममा प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.प्रमोद कुमार यादवले राज्यले एचआईभी÷एड्स रोगीहरुको उपचारको लागि गरेको व्यवस्थामा अतिरिक्त सेवामा एचएफए गरिरहेको सहयोग सराहनीय रहेको बताए । उनले तत्कालीन जनकपुर अञ्चल अस्पतालमै एआरटी सेन्टर स्थापना गरिँदा बखतको अवस्था र अहिलेको अवस्थामा धेरै नै परिवर्तन आएको र यसमा अझै सुधार हुँदै जाने विश्वास व्यक्त गरे । ‘सानो कोठाबाट शुरु भएको एआरटी सेन्टर अहिले सुविधा सम्पन्न भएको छ ’ उनले भने । मातृमृत्युको दर होस कि नवजात शिशुको मृत्यु दर सबैमा मधेश प्रदेश अगाडि रहे जस्तै एचआइभीको रोगीहरुको संख्यामा पनि धेरै अगाडि रहेकोले एआरटी सेन्टरलाई गुणस्तरीय बनाउन एएचएफ नेपालले उल्लेखनीय सहयोग गरेको बताए । एचआईभीले पीडित भएर एआरटी औषधि नियमित सेवन गर्नेहरु २० वर्षसम्म अन्य दीर्घरोगी जस्तै बाँचिरहेकोले एआरटी सेन्टर एचआईभी ÷एड्स रोगीहरुका लागि बरदान साबित भएको धारणा उनले व्यक्त गरे ।

मधेश प्रदेशमा ४ हजार ५ सय एचआईभी संक्रमित रहेको अनुमान गरिएकोमा ३ हजार ७ सय जति लिस्टेड भइसकेको र सो मध्ये ३ हजार पाँच सय संक्रमितहरुले नियमित औषधि सेवन गरिरहेको जानकारी उनले दिए । कार्यक्रममा एएचएफका तथ्याँक अधिकृत डा.अजिज प्रसाद पौड्यालले संक्रमितहरुको ईन्स्योरेन्सबाहिरका सहयोगका लागि एएचएफ नेपालले परियोजना विस्तार गरेको बताए । एएचएफले आगामी पाँच वर्ष सम्म यी सबै प्रकारको सहयोगहरु जारी राख्ने बताउँदै उनले भने,‘ यो परियोजना वीरगञ्ज स्थित नारायणी प्रादेशिक अस्पताल तथा जनकपुरधाम प्रादेशिक अस्पतालको एआरटी सेन्टरमा लागु हुनेछ।’ उच्च गुणस्तरको औषधि उपलब्धतामा एडभोकेसी प्रदान गर्ने मिसनका साथ स्थापना गरिएको एएचएफ विश्वमै एचआईभी/एड्स उपचार,हेरचाह प्रदायक सबैभन्दा ठूलो संस्थाको रुपमा स्थापित भइसकेको उनले बताए ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवीन कुमार मिश्र,डा.प्रवीण कुमार यादव,मधेश प्रदेश स्वास्थ्य निर्दैशनालयका राजवीर यादव,प्रादेशिक अस्पताल जनकपुरधामका उपनिर्देशक डा.कृष्णदेव दास,डा.राजीव झासहितका सरोकारवालाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News