
रौतहटमा अज्ञात समूहले एक जनालाई अपहरण गरी कागजमा सहीछाप गराएको खुलासा भएको छ ।
जिल्लाको देवाही गोनाही नगरपालिका–७ प्रेमपुर गोनाहीका ७२ वर्षीय विष्णु पासवानलाई अज्ञात समूहले केही दिनअघि अपहरण गरी कागजमा सहीछाप गराएको खुलासा भएको छ । पीडित पासवानले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी अपहरणबारे जानकारी गराएका छन् । गत चैत १२ गते बेलुका करीब साढे ७ बजेको समयमा गोनाही बजारबाट आफ्नो घर फर्किरहेका पासवानलाई प्रेमपुर गोनाही र देवाही बजारको बीचमा चार जनाको समूहमा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुको समूहले कुटपिट गर्दै गुण्डा शैलीमा अपहरण गरी गाउँ नजिकै रहेको लालबकैया नदीको किनारमा लगेका थिए ।
साइकलमा सवार आफूलाई ती समूहले मुख थुनेर मोटरसाइकलमा बसाएर लालबकैया नदीको किनारमा लगेको र सादा बसहा कागजमा सहीछाप गराएको पीडित पासवानले बताए । सहीछाप गराएपछि उनीहरु आफूलाई नदी किनारमै छोडेर भागेको बताउँदै उनले सहीछाप गराउने समूह मध्येका आफू कसैलाई पनि चिन्न नसकेको बताए । घटना भएको भोलिपल्ट नै आफूले घटनाबारे प्रहरीलाई खबर गरिसकेको र प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेको समेत उनले बताए । पीडित पासवानको तीन जना छोरीहरु छन् । उनको नाममा १२ कठ्ठा जग्गा रहेको छ । पासवानलाई छोरा नरहेको हुँदा उनको नाममा रहेको सबै जग्गा जमिन हत्याउने उद्देश्यले अपहरण गर्ने समूहले उनीसंग कपाली कागजमा सहीछाप गराएको हुन सक्ने आशंका गरिएको छ ।
आफूलाई छोरा नभएकोले आफना सबै सम्पत्ति हत्याउनका लागि अपहरण गर्ने समूहले कपाली कागजमा सहीछाप गराएको हुनसक्ने आशंका रहेको पीडित पासवानले व्यक्त गरे । ती अपहरणकारीको समूहले आफूसंग लाखौंको फर्जी कपाली कागज गराएको हुन सक्ने र पछि आफना जग्गा जमिन रोक्का गराइ कब्जा गर्न सक्ने भएकोले ती अपहरणकारीलाई खोजबीन गरी कपाली कागज बदर गरी आफूलाई न्याय दिलाउन उनले सम्बन्धित निकायसंग गुहार गरेका छन् । पासवानलाई ऋण दिएको भनी कपाली कागज गराएको हुनसक्ने आशंका गरिएको छ । उनीहरुले गराएको सोही कपाली कागजको आधारमा पछि जिल्ला अदालत गौरमा मुद्दा दिएर पासवानको जमिन रोक्का गराउन सक्ने र पछि कब्जा गर्नसक्ने आशंका छ ।
यो भन्दाअघि आफू कसैसंग एक रुपैया पनि ऋण नलिएको प्रष्ट पार्दै पासवानले यदि आफू कर्जा लिएको भनी कसैले कपाली कागज पेश गरी मुद्दा दिएमा सो तमसुक झुटो साबित हुनुपर्ने र त्यस्ता कपाली कागज पेश गर्ने व्यक्तिलाई अपराधी घोष्णा गरी कडा कारबाही गर्नुपर्ने माग उनले गरेका छन्