
प्रादेशिक अस्पताल जनकपुरधामको शवगृहमा लामो समयदेखि सडेर दुर्गन्धित बन्दै गएको वेवारिसे लाशहरुको अन्तिम संस्कार गरिएको छ ।
चालु आर्थिक वर्ष २०७९को बैशाखदेखि हालसम्म शवगृहमा अव्यवस्थित रुपमा राखिएको १६ वटा शवको अन्तिम संस्कार गरिएको छ । वेवारिसे व्यवस्थापन तथा पुनस्र्थापना केन्द्र काठमाण्डुका प्रमुख विनय जंग बस्नेतको अगुवाइमा सो लाशहरुको जनकपुरधाम उपमहानगरपालिका–७ मा रहेको मसान घाटमा मंगलबार अन्तिम संस्कार गरिएको छ । सनाखत हुन नसकेका वेवारिसे लाशह शवगृहमै राखिने गरिएको छ ।
शवगृह व्यवस्थित नहुँदा लाशहरु सड्ने गरेको छ भने कुनै कुनै शवमा हाड मात्रै बाँकी रहँदा जिल्ला प्रहरी कार्यालय धनुषा तथा प्रादेशिक अस्पतालमा मुचुल्का प्रक्रियाहरु पूरा गरी लाशलाई गाड्ने गरिएको थियो तर विनय जंग बस्नेतको टोलीले लाशहरुलाई सदगति दिने उद्देश्यले हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । केन्द्रले अहिले सम्म देशभरिका विभिन्न जिल्लाको ७ सय १४ वटा वेवारिसे शवको विधिवत् अन्तिम संस्कार गरिसकेको केन्द्रका प्रमुख बस्नेतले बताए । ‘जब सम्म संस्कार हुँदैन तबसम्म उसको आत्माले मुक्ति पाउन सक्दैन त्यसैले हामीले वेवारिसे लाशलाई सदगति दिनका लागि यस अभियानमा लागेका छौं ।’,उनले भने । कानूनी प्रक्रिया पूरा गरेर लाशहरुलाई व्यवस्थित गरिएको बताउँदै उनले भने,‘मृत्यु सत्य हो र यो घटनाबाट दुनियाको कोही पनि वञ्चित हुन सक्दैन त्यसैले वेवारिसे छ भन्दैमा अमानवीय व्यवहार गर्नु हुँदैन।’ राज्यले वेवारिसे लाशको सनाखत गर्न खोजतलास गरे पनि सनाखत हुन नसकेका लाशहरुलाई हामीले सदगति दिनका लागि अन्तिम संस्कार गर्ने गरेको उनले बताए ।
विगत दश वर्षदेखि यस अभियानमा लागेका बस्नेतलाई यस अभियानमा सघाउन उनका श्रीमती,बहिनी तथा एक जना पुरुष साथीले सहयोग गर्दै आएका छन् । यता प्रादेशिक अस्पतालको शवगृहमा रहेको १७ वटा वेवारिसे शवमध्ये केही दिन अगाडि धनुषाको ढल्केबरमा सवारी द्ुर्घटनामा परी मृत्यु भएको शव आफन्तले बुझेर लगेका छन् भने १६ वटा लाशको अन्तिम संस्कार गरिएको छ ।