अपडेट 
२०७९ चैत्र ३०, बिहीबार ०७:२३

महोत्तरी जिल्लाको लोहारपट्टीमा मजदुरलाई अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले एक जना निर्माण व्यवसायीलाई (ठेकेदार) पक्राउ गरेको छ ।

जिल्लाको लोहारपट्टी नगरपालिका–६ मा निर्माणाधीन रहेको शिव आश्रममा काम गर्ने मजदुर सोही ठाउँका २१ वर्षीय मोबारक नदाफले काम गरेको ज्याला माग गरेका थिए । ज्याला दिन ठेकेदार आनन्द मिश्रले आलटाल गरेपछि रिसाएर मजदुर नदाफले निर्माण स्थलमा रहेको एउटा औजार लिएर गएको त्यही कुरोलाई बहाना बनाइ ठेकेदार मिश्रले चोरीको आरोप लगाइ अमानवीय व्यवहार गरेका थिए । नदाफलाई ठेकेदारले घरबाट समातेर ल्याइ कालोमोसो दलेर गाउँमा घुमाएर अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले ठेकेदार मिश्रलाई पक्राउ गरेको छ । प्रहरीले मिश्रलाई नियन्त्रणमा लिइ जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद लिइ अनुसन्धानसमेत थालेको जनाएको छ । चैत २३ गते सो घटना भएपछि सामाजिक सञ्जालमा नदाफलाई पोलमा बाँधेको तस्वीर र भिडियो भाइरल भएपछि प्रहरीले सक्रियता देखाएको छ । मिश्रलाई पक्राउ गरी अपमानजनक तथा अमानवीय व्यवहार कसूर मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ । प्रहरी उपरीक्षक प्रकाश मल्लले पीडितका हजुरबुबा गफुर नदाफले दिएको उजुरी तथा सामाजिक सञ्जालमा रहेको भिडियोको आधारमा ठेकेदार मिश्रलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु भइसकेको जनाइएको छ ।

शिव आश्रममा काम गर्ने मजदुर नदाफले धेरै पटक ज्याला माग गरे पनि नदिएपछि फलाम काट्ने मेसिन लगेको र सोही सामग्री लगेको निहुँमा ठेकेदारले चोरी गरेको भन्दै अमानवीय व्यवहार गरेको प्रहरीको भनाइ छ । मजदुर नदाफलाई ज्याला दिने बहानामा घरमा बोलाएर ठेकेदार मिश्रले कुटपिट पछि कालोमोसो दलेर नगर परिक्रमा गराएर पोलमा बाँधेको बताइएको छ ।

Comment


Related News