अपडेट 
२०७९ चैत्र ३०, बिहीबार ०७:२७

जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा उपनिर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादव राष्ट्रिय राजनीतिको केन्द्रमा रहेकाले यहाँको कमीलाई लगभग सबै प्रमुख पार्टीहरूले महसूस गरिरहेका छन् । उपेन्द्र यादव यस उपनिर्वाचनमा पाँच दलीय गठबन्धनको समर्थनमा आफ्ना उम्मेदवारी पेश गरेका छन् । पाँच दलीय गठबन्धनमा क्रमशः नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, तथा स्वयं उपेन्द्र यादवको पार्टी जनता समाजवादी दल, नेपाल रहेका छन् । हुनत सरकार निर्माणका बेला समर्थन गरेका केही पार्टीहरूले पनि आ–आफ्ना उम्मेदवार उठाएर गठबन्धनलाई चुनौती दिन पुगेका छन् । ती दलहरू क्रमशः जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी तथा नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

यी पार्टीहरू एकातिर संघीय सरकारमा सामेल भएपनि गठबन्धनको साझा उम्मेदवारलाई समर्थन गर्न मानेनन् र आ–आफ्ना उम्मेदवार खडा गरेर वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिन गइरहेका छन् । यसरी दोहोरो चरित्रले आफू त कमजोर भइन्छ भइन्छ अर्कोतिर गठबन्धनलाई समेत कमजोर बनाउने खेलमा लागेको देखिन्छ । नेपालको राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण मानिएको लोकतान्त्रिक गणतन्त्र स्थापनामा मधेश जनविद्रोहको उच्च स्थान रहेकोले संसदमा मधेश विद्रोह, पहिचान, समावेशी र संघीयता जस्ता महत्वपूर्ण परिवर्तनका एजेण्डालाई संस्थागत गर्न देश र प्रदेशहरूका समयानुकूल विकास गर्न संसदमा जसपा अध्यक्ष यादवको उपस्थिति अपरिहार्य रहेको बुझिन्छ । अहिलेको सत्ता गठबन्धन ओलीको संविधान विरोधी क्रियाकलापलाई रोक्न निर्माण भएकोले अबको पाँचै वर्ष टिक्नेमा कुनै शंका रहेको देखिँदैन । उपेन्द्र यादवको सपना ‘एक मधेश एक प्रदेश’ रहेकोमा त्यसमध्ये सानो अंश मधेशका आठ जिल्लालाई समेटेर निर्माण गरिएको मधेश प्रदेश उपेन्द्र यादवकै संघर्षको प्रतिफल हो । अहिले यही मधेश प्रदेशले मधेशीको ‘आन बान शान’लाई अगाडि बढाएको देखिन्छ । कतिपयको के भनाइ छ भने उपेन्द्र यादव मधेशको माँग ‘एक मधेश एक प्रदेश’ लाई छाडेर यी आठ जिल्लामा मात्र सीमित हुन पुगेका छन् तर वास्तवमा यस्तो होइन । ‘सम्पूर्ण मधेश एउटै प्रदेश’ को माँग निरन्तर चलिरहने नै छ । अहिले तराई मधेशका ठूल्ठूला आयोजनाहरू अलपत्र परेका हुनाले ती आयोजनालाई सफल गर्न उपेन्द्रजीको सदन भित्रको प्रवेश आवश्यक रहेको महसूस गर्न थालिएको छ । अहिले नेपालमा मधेशी भन्न गौरव गर्ने अवस्था उपेन्द्र यादवले सृजना गरेका हुन् ।

उपेन्द्र यादव एउटा संघर्षशील नेताको रूपमा जनता समक्ष आफ्ना परिचय दिइसकाले पुनः परिचय दिने आवश्यक्ता छैन । तराई मधेशलाई उपेन्द्रले दिए जति कसैले दिन सकेको छैन । यहीं उपेन्द्र यादवले गर्दा नेपालको पहिलो राष्ट्रपति र उपराष्ट्रपतिमा क्रमशः डा. रामवरण यादव र परमानन्द झा पदासीन हुन सफल भएका थिए । जो मधेशीको पहिलो जीत थियो । त्यति मात्र होइन प्रत्येक सरकारमा उचित बाँटफाँटको आधारमा मात्र समावेश भएको देखिन्छ । यही २०७९ को निर्वाचनबाट बनेका सरकारमा प्रमुख मन्त्रालय लिएर सरकारमा जानु, गठबन्धनबाट उपराष्ट्रपतिको पद हासिल गर्नु एउटा मधेशीका लागि ठूलो उपलब्धी होइन् र ! बिगतमा के भनाइ थियो भने मधेशीले अन्य मन्त्री पाए पनि प्रधानमन्त्री तथा गृहमन्त्रीको पदमा जान दिइँदैन । मधेशी अहिलेसम्म उपप्रधानमन्त्री, गृहमन्त्री समेत पाइसकेका छन् भने बाँकी प्रमानमन्त्री पनि पाउने कुन ठूलो कुरो हो र ! तराई मधेशका पार्टीहरू आफूभित्र फुटफाट नभएको भए यसैपालि नेपालको प्रधानमन्त्री समेत बन्न पाउँथ्यो होला । अहिले प्रचण्ड एकतिस सांसदका भरमा प्रधानमन्त्री बन्नु भएको छ भने एकीकृत समाजवादी १० वटा सांसदको भरमा प्रधानमन्त्री बने गठबन्धनको सम्झौता भएकै हो । अहिले मधेशका पार्टीहरू एकजूट भएर संसदीय निर्वाचनमा भाग लिएको भए नेपाली काँग्रेस र एमालेलाई छोडेर देशको तेस्रो पार्टी बन्नमा कुनै शंका थिएन तर यी मधेशी पार्टीहरू टुक्रा टुक्रामा विभक्त भइ लड्दाको प्रतिफल हो आजको निर्वाचित सांसदहरूको संख्या । तराईमा एक दर्जनभन्दा बढी पार्टी छन् । सबै पार्टीको उद्देश्य समान रहेको छ । यिनीहरूका भिन्नता नेतृत्वका लागि मात्र देखिन्छ । भर्खरै सम्पन्न भएको निर्वाचनमा सप्तरीको एउटै निर्वाचन क्षेत्रबाट दुई मधेशी पार्टीका अध्यक्षलाई लड्दा नै जनताले दुबै पार्टी बीचको मतभेदलाई बुझिसकेका थिए । ती मतभेदलाई निर्वाचन पछि पनि मेलमिलापमा बदल्न सकेनन् ।

त्यसैको परिणाम हो वाराको क्षेत्र नं. २ को उपनिर्वाचनमा देखिएका उम्मेदवारहरूको संख्या । निकै प्रतिस्पर्धी भए पनि सामान्यत पार्टीका अध्यक्ष बीचको प्रतिस्पर्धा भएको देखिँदैन । तर तराईमा जनमत पार्टी र जनता समाजवादी पार्टीका अध्यक्षहरू बीचको सोझो प्रतिस्पर्धा एउटै क्षेत्रबाट लडेको देखियो । यो एउटा निकै घटिया खालको प्रतिस्पर्धा थियो । तराई मधेशका यी शीर्षनेताहरूका संसदमा उपस्थिति चाहिन्छ । यी शीर्षनेताहरूमा क्रमशः उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, हृदयेश त्रिपाठी, डा. चन्द्रकान्त राउत, बृषेशलाल लगायत रहेका छन् । यी नेताहरूमध्ये कुनै नेता निर्वाचनमा हार्दा यसको नोक्सानी मधेशका जनताले पाउने गर्छन् । अहिले राजेन्द्र महतो, उपेन्द्र यादव, हृदयेश त्रिपाठी संसदमा छैनन् । के यिनीहरूका अनुपस्थितिले मधेशवादीहरूलाई राम्रो लाग्छ त ! यसको उत्तरमा जो कोहीले एउटै स्वर निकाल्छन् कि यिनीहरू हाम्रा नेता हुन् । यिनीहरू जे जसरी भएपनि संसदमा यहाँहरूका उपस्थिति हुनै पर्छ । अहिले मधेश प्रदेशमा भएका आठवटा जिल्लाहरूमध्ये मात्र होइन, तराईका २२ वटै जिल्लाहरूमा सप्तरी शिक्षा र राजनीतिमा अब्बल मानिन्छ । यसै जिल्लाका धर्ती पुत्रहरू क्रमशः गणतन्त्रवादी नेता स्व. रामराजाप्रसाद सिंह, मधेशवादी नेता गजेन्द्रनारायण सिंह, किसान नेता स्व. कृष्णराज वर्मा, खुशीलाल मण्डल, डा. सि.के. राउत तथा मधेशका क्रान्तिकारी नेता उपेन्द्र यादव हुन् । यी नेताहरूमा एउटा उच्च सोच देखिन्थ्यो÷देखिन्छ । यिनीहरू नेपालका लागि आ–आफ्ना दर्शन दिएर तराई मधेशलाई मात्र जगाएनन् बरू सिंगो नेपाललाई आफ्नो विचारको पक्षमा डो¥याएका छन् । अहिलेको लोकतान्त्रिक गणतन्त्रको दर्शन दिने त सप्तरीकै रामराजाप्रसाद सिंह थिए । बरू उनलाई देश चलाउन कुनै पद मिलेन । देश चलाउन कुनै पद नभेटे पनि आफ्ना विचारले सर्वश्रेष्ठ उँचाइमा पुगेकै हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको सुनिश्चितता, समावेशिता र आरक्षण तगायतका अधिकारहरू सुनिश्चित गराउन उपेन्द्र यादवले अहम् भूमिका निर्वाह गरेका हुन् । काठमाण्डूमा लगभग एक दशक अघिसम्म मधेशीलाई मर्सिया, मैया, विहारी, धोती जस्ता शब्दले अपमान गरेका बेला मधेशीमा साहस बढाइ यस्ता अपशब्दले सम्बोधन गर्ने व्यक्तिहरूलाई खुल्ला रूपले चुनौती दिने कोही व्यक्ति हुन् भने उपेन्द्र यादव हुन् । आज मधेशका जनता नेपाल अधिराज्यभर आफूले गर्वसाथ मधेशी भन्न लञ्जाइ रहेका छैनन् । बहिष्करणमा पारिएका मधेशी, आदिवासी, जनजाती, दलित, महिला, मुस्लिम, थारू, अल्पसंख्यक समुदाय, पिछडावर्ग, सिमान्तकृत समुदाय जस्ता समूहलाई शोषण उत्पीडनबाट मुक्तिका लागि जनता समाजवादी पार्टीका प्रमुख नेताको रूपमा उपेन्द्र यादव निरन्तर संघर्ष गर्दै आइरहनु भएको छ । उहाँले अनेक योजनाहरू तराई मधेशमा ल्याउन शुरू देखिनै सहयोग गर्दै आउनु भएको छ । यति सहयोगी भएपनि आफ्नै जिल्ला सप्तरीबाट मंसिर ४ गतेको निर्वाचनमा हार बेहोर्नु प¥यो । यस हारमा मधेशी बीचको अहम्ताले काम ग¥यो । किन जनता समाजवादी पार्टीका अध्यक्ष र जनमत पार्टीका अध्यक्ष एउटै क्षेत्रबाट लडन तयार भए ? यसको खोजबीन भविष्यमा हुने नै छ । अब बारा क्षेत्र नं. २ को उपनिर्वाचनतिर पाठकवर्गलाई मोड्न चाहन्छु । वास्तवमा बारा २ नं. क्षेत्रको वास्तविक हकदार उपेन्द्र यादव नै हुन् । बाराबासीलाई जनता समाजवादी पार्टीले भर्खर उपराष्ट्रपतिमा पठाएर दिएको प्रतिष्ठाले सम्पूर्ण बाराबासी आफूभित्र गौरवको महसूस गरिरहेका छन् । यस्ता सम्मान कमै जिल्लालाई भेट्छ । पहिलो पटकको राष्ट्रपतीय निर्वाचनमा परमानन्द झालाई उपराष्ट्रपति बनाएर सप्तरीबासीलाई भेटेको थियो ।

त्यसैले यसपालिको उपनिर्वाचनमा उपेन्द्र यादवलाई जिताएर संसदमा पठाउनु बाराबासीको धर्म पनि हो । हुनत लोकतन्त्रमा सबैले आ–आफ्ना कुरा राख्न पाउने छूट हुन्छ तर भूत, वर्तमान र भविष्यलाई विचार गर्दा उपेन्द्र यादव नै अब्बल उम्मेदवार देखिएका हुनाले यहाँको जीतलाई सुनिश्चित गर्नै पर्दछ होइन भने उपराष्ट्रपति बनाउन लगाएको गुणसँग विश्वासघात हुनेछ । यी यस्ता कुराहरूलाई मनन् गरी बाराबासी पकै आफ्ना मत सही ठाउँमा सदुपयोग गर्ने नै छन् । तराई मधेशमा धेरै नेता भए पनि यहाँको सोच बेग्लै किसिमको देखिन्छ । यहाँकै सोचका उपलब्धिहरू हुन राष्ट्रपति, उपराष्ट्रपति, उपप्रधानमन्त्री, मन्त्री, राजदूत, कुटनीतिक नियोगका प्रतिनिधिहरूमा मधेशी जान पाएका छन् । यस्ता सोचलाई संसदभन्दा बाहिर राख्नु कदापि उचित हुँदैन । खास गरी मधेशी नेता डा. राउतलाई भन्न चाहन्छु कि तपाई एउटा ठूलो विद्वान नेता हुनुहुन्छ । तपाई मधेश मात्र होइन राष्ट्रले नै निकै ठूलो अपेक्षा राखेको छ । तर यहाँ प्रतिस्पर्धामा अलिकति बढी नै भयो जो नहुनुपर्ने थियो । निर्वाचनमा जीतहार त भैरहन्छ, दिग्गज नेताहरू कैयौ चोटी हार खाएकै छन् । तर पनि राष्ट्रका लागि आवश्यक सम्झेर पुनः अर्को पल्ट त्यही जनता आफ्ना अमूल्य मत दिएर संसदसम्म पु¥याएकै छन् ।

अन्तमा उपेन्द्रजी मधेश मात्रै होइन पहाड र हिमाललाई समेत समेटेर एउटा राष्ट्रिय पार्टी निर्माणको सोचमा हुनुहुन्छ । पहाड र हिमाल नमिलाइकन बहुमत सीट हासिल गर्न सकिँदैन । त्यसर्थ उपेन्द्रजी भोलीको प्रधानमन्त्री बन्ने र बनाउने सोचमा हुनुहुन्छ । तराई मधेशको मात्र नेतृत्व गरेर देशको शीर्ष पदमा जान सकिँदैन । यस्ता उच्च सोच भएका नेतालाई हालको संसद प्रवेशलाई रोक्नु कदापि उचित मानिँदैन । बाराबासीमा उपेन्द्रलाई संसद पठाउने सोच पलाएकै हुनुपर्छ । इतिश्री ।

Comment


Related News

Latest News

Trending News