अपडेट 
२०७९ चैत्र ३०, बिहीबार ०७:४०

हरवा चरवाको मधेश यात्रा सम्पन्न भएको छ ।

बुधबार प्रदेशको राजधानी जनकपुरधाममा आगामी रणनीति तयार गर्दै यात्रापछिको समीक्षा बैठक सम्पन्न भएको छ। राष्ट्रिय हरवा चरवा अधिकार मञ्चको नेतृत्वमा यही चैत २५ गतेदेखि न्यायिक पुनःस्थापनाको माग गर्दै पर्सा र सप्तरीबाट एकसाथ यात्रा शुरु गरिएको थियो । उनीहरु मुख्यतः ६बुँदे माग सरकारसँग राख्दै पैदल यात्रा शुरु गरेका थिए । हरवा चरवाले यात्राको सन्देश स्थानीय स्तरमा प्रवाह गर्ने, हरवा चरवा बाहुल्य भएको २४ पालिकामा एकैसाथ नीति तथा कार्यक्रम र बजेट निर्माणको लागि सुझाव दिने र प्रदेश सरकारको दलित विकास बोर्डसँग समन्वय गरी अन्तरक्रिया गरी नीति तथा कार्यक्रममा समावेश गर्न अनुरोध गरिने आगामी रणनीतिको रुपमा अगाडि सारेका छन् । यस्तै, प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै आगामी बजेटमा हरवा चरवाको समस्या सम्बोधनको लागि बजेट राख्न सुझाव पेश गरिने र यी मागहरु पूरा नभए पहिलो चरणमा पालिका स्तर, दोस्रोमा प्रदेश र तेस्रो चरणमा काठमाण्डुसम्म पैदल यात्रा गर्ने बताएका छन् । गत साउन २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा हरवा चरवा प्रथा मुक्त भएको घोषणा गरेका थिए । तर कार्यान्वयन नभएको उनीहरुको गुनासो छ । सो प्रथा मुक्त घोषणा भएको नौ महिना बितिसक्दा समेत कागजमै सीमित भएपछि उनीहरूले पुनः स्थापनाको माग गर्दै मधेश प्रदेशमा पाँचदिने अधिकार यात्राको शुरुवात गरेका थिए ।

Comment


Related News