अपडेट 
२०८० बैशाख १, शुक्रबार ०६:५०

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले चढ्दै आएको चोरीको गाडी ग्यारेजबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

जनकपुरधामको वडा नम्बर ८ स्थित पिडारी चोकको डेनियल ग्यारेजमा राखिएको सो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । ग्यारेज सञ्चालकले जिल्ला प्रहरी कार्यालयको टोलीले गाडीलाई तानेर जिप्रकामा लगेको बताएका छन् । ग्यारेज सञ्चालकको वयानलाई वडा प्रहरी कार्यालय मुजेलियाका सहायक प्रहरी निरीक्षक (सई) मेकजन लामाले पनि पुष्टि गरेका छन् । ‘जिल्ला प्रहरी कार्यालयको टोली सहितले टाटा सुमो जीपलाई बुधबार नै लगेको छ’ उनले भने, हाम्रो उपस्थिति रहे पनि गाडी जिप्रकामा लगिएको छ । तर जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले उक्त विषयमा अनभिज्ञता प्रकट गरेका छन् । उनले गाडी जिल्ला र आफ्नो मातहतको कुनै पनि कार्यालयमा नल्याएको दाबी गरे । ‘चोरीको कुनै पनि चार पांग्रे गाडी जिल्लामा ल्याएको छैन्,‘उनले भने, ‘ ल्याइएको भए मलाई नै थाहा हुन्थ्यो, प्रवक्ता मै छु ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक शेखर कुमार साहले भने उक्त गाडीको खोजी तीव्र रुपमा भइरहेको बताएका छन् । ‘गाडीको खोजी व्यापक रुपमा भइरहेको छ’ उनले भने, तर बिहीबारसम्म गाडी कतै फेला परेको छैन् ।

अध्यक्ष साहले मारुती भ्यानको बा.११ च ६३९६ नम्बरलाई टाटा सुमोमा लगाएर प्रयोग गरिरहेका छन् । सो गाडीको इञ्जिन नम्बर ०२५३३५७८ र चेचिस नम्बर एम ए टी ४४६३६१९९ एन २८२५८ भिक्टा डी आई जी एक्स र २६०० केजी उल्लेख रहेको छ । सो गाडीको भारतीय नम्बर बी आर ओ ६ पी ए ११४२ रहेको स्रोतको दाबी छ । अध्यक्ष साहले भारतीय नम्बर हटाएर मारुती भ्यानको नम्बर लगाएर प्रेस लेखेर चढ्दै गरेका थिए । प्रहरीले नियन्त्रणमा लिएको सो गाडी भारतको मधुबनी जिल्लाको कमलाबरपट्टीबाट चोरी भएको रिर्पोट मधुबनी प्रहरीमा दर्ता रहेको छ । चोरीको टाटासुमोमा नेपाली मारुती भ्यानको नम्बर लगाएर अगाडिको सिसामा प्रेसको स्टिकर टाँसेर प्रयोग भएको गाडीको भिडिओ जनकपुर टुडेको वेभसाइटमा हेर्न सकिन्छ ।

स्रोतका अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री सुदन किरातीलाई समेत यस प्रकरण बारे जानकारी गराइएको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को निरीक्षणमा बिहीबार आइपुगेका मन्त्री किरातीलाई चोरीको गाडी अध्यक्ष साहले प्रयोग गरेको समाचारसहितको पत्रिका उपलब्ध गराइएको छ । चोरीको गाडी प्रयोग गर्नेलाई नेपालको कानूनमा कडा सजायको व्यवस्था रहेको छ । प्रहरीले गाडी नियन्त्रणमा लिएपछि त्यसका नक्कली धनीलाई समेत कारबाहीको दायरामा ल्याउनु पर्ने हुन्छ । सार्वजनिक पदधारण गरेका साहले चोरीको भारतीय नम्बरको गाडीमा मारुती भ्यानको नेपाली नम्बर लगाएर प्रयोग गरेको सप्रमाण फेलापरेकाले तत्काल कारबाही गर्नुपर्ने माग हुन थालेको छ । साहको गाडी प्रहरीले नियन्त्रणमा लिइसकेपछि त्यसको प्रयोगकर्ताको खोजी तत्काल गर्नुपर्ने बताइन्छ । त्यसमा लगाइएको गाडीको नेपाली नम्बर बृहत्तरका अध्यक्ष रहेका साहको मारुती भ्यानको हो ।

Comment


Related News

Latest News

Trending News