
मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले मल खरिदका लागि ५० करोडको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको दाबी गरिरहेको बेला मुख्यमन्त्री सरोजकुमार यादवले त्यस सम्बन्धी कुनै प्रस्ताव नआएको बताएका छन् ।
मन्त्री कुशवाहाले सार्वजनिक सञ्जाल मार्फत मल खरिद सम्बन्धी प्रस्तावबारे सार्वजनिक गरेका छन् । बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा भइरहेको उपचुनावको बेला मन्त्री कुशवाहाले प्रदेशका किसानका लागि ५० करोडको मल खरिद गर्न चाहेको धारणा सार्वजनिक गरेका छन् । तर मुख्यमन्त्री यादवले झुटो प्रचारबाजीमा मन्त्री लागेको आरोप लगाएका छन् । मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्ताव नै नल्याइ अनर्गल प्रचार गरेर जनतालाई भ्रममा नपार्न यादवले मन्त्रीलाई सचेत गराएका छन् । बारा–२ मा मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार छन् । प्रदेश सरकारमा रहेर जनमत पार्टीका मन्त्री कुशवाहाले मलखाद खरिदको विषय उठाएर चुनावका मतदातालाई प्रभावित गर्ने प्रयास गरेको आरोप जसपाले लगाएको छ ।