अपडेट 
२०८० बैशाख १, शुक्रबार ०७:२१

जनकपुरधाम जारी मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा धनुषा र बारा टिम पुगेको छ ।

बिहीबार रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देशीय रंगशालामा भएको सेमिफाइनल खेलमा जितेर दुबै टिम फाइनलमा पुगेका छन् । बारा र धनुषाबीच शुक्रबार उपाधिको लागि प्रतिस्पर्धा हुने छन् । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सहज जित निकाल्दै धनुषा फाइनलमा पुगेको छ । धनुषा टिमले सप्तरीलाई सात विकेटले पराजित गरेको थियो । टस जितेर सप्तरी टिमले ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा सप्तरीका खेलाडीहरु सबै विकेट गुमाएर मात्र ७७ रन मात्र बनाउन सकेका थिए । सप्तरीका खेलाडीहरुको कमजोर प्रर्दशन देखिएको थियो । सप्तरीका लागि अभिषेक थापाले २१ बलमा नटआउट ३६ रन बनाए पनि अन्य ब्याट्स म्यानले राम्रो साझेदारी गर्न सकेनन् । धनुषाको तर्फबाट बलिङ गरेका सरद भेषभाकर, कृष्ण कार्की र धनुषाका कप्तानसमेत रहेका हरिशंकर साहले दुई÷दुई विकेट लिए । धनुषाका विपिन खत्रि र विशाल सुशलिङले एक÷एक विकेट लिन सफल भएका थिए । जवाफी ब्याटिङका लागि आएका धनुषा १४ ओभर चार बलमा तीन विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । धनुषाका लागि विशाल सुशलिङ अवजित ३८ र हिमाँशु दत्तले १५ रनको योगदान दिए । यस खेलको म्यान अफ दी म्याच धनुषाका विशाल सुशलिङ घोषित भएका थिए ।

बाराको रोचक जित

दोस्रो सेमिफाइनल खेलमा विराटनगरलाई एक रनले पराजित गर्दै बारा टिम फाइनलमा पुगेको छ । दुबै टीमबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । टस जितेर बारा टिमले ब्याटिङ रोजेको थियो । बाराले २० ओभरमा आठ विकेट गुमाएर एक सय २९ रनको लक्ष्य विराटनगरसमक्ष प्रस्तुत गरेका थिए । बाराका लागि कप्तानसमेत रहेका अनिल साहले २४, निखिल सिंहले २५, रवि साहले २४ र ओपनर साहिल पटेलले २३ रन बनाएका थिए । विराटनगरका लागि बलिङ गरेका दिपेश कंडेल र सिद्धान्त लोहनीले तीन÷तीन विकेट लिए । जवाफी ब्याटिङकालागि आएका विराटनगर टिम २० ओभरमा ९ विकेट गुमाएर एक सय २७ रन मात्र बनाउन सके । दुई रनले लक्ष्य पूरा गर्न सकेनन् । विराटनगरका लागि पुष्प थापाले सर्वाधिक २८ रन बनाए । बाराका लागि बलिङ गरेका रवि कुमार साह तीन, पवन सर्राफ र अनिल कुमार साहले दुई÷दुई विकेट लिए । यस खेलको म्यान अफ दी म्याच बाराका रवि साह घोषित भएका थिए ।

कंडेल सम्मानित

प्रतियोगितामा विराटनगर टिमबाट सहभागी भएका राष्ट्रिय टिमका खेलाडी दिपेश कंडेललाई धनुषा क्रिकेट संघ र जनकपुरधाम उपमहानगरपालिकाले सम्मान गरेको छ । दुबै संस्थाले आकर्षक कदरपत्रसहित नगद ११ हजार दिएर सम्मान गरेको छ । गत फागुन १८ गते नेपाल र यूएईबीच भएको खेलमा दीपेश ह्याट्रिक विकेट लिएका थिए । निर्णायक खेलमा उनले ह्याट्रिक लिएपछि नेपाल अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेरसमूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । कँडेलको खेलको मूल्याङ्कन गर्दै थप प्रोतसाहन मिलोस् भन्ने उद्देश्यले दुबै संस्थाले सम्मान गरेका छन् ।

Comment


Related News

Latest News

Trending News