अपडेट 
२०८० बैशाख २, शनिबार ०७:२८

बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा उपचुनावको प्रचारका लागि सत्ता गठबन्धनका नेताहरुको दर्जनौ टोली परिचालन भएका छन् । गठबन्धनले एकै दिन डेढ दर्जन बढी वडाहरुमा सभा र छलफल गर्न थालेका छन् । गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव साझा उम्मेदवार छन् । उनको पक्षमा गठबन्धन दलका मध्य र शीर्ष तहका नेताहरु चुनाव प्रचारमा जुटेका छन् ।

नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण दलबल सहित चुनावी प्रचारमा जुटेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले चुनावी मोर्चा सम्हालेका छन् । चुनाव प्रचारमा उनी लोसपा भन्दा जसपाकै नेताको रुपमा आफूलाई प्रस्तुत गर्न थालेका छन् । पचरौता नगरपालिकामा शुक्रवार आयोजित गठबन्धनको चुनावी सभामा जसपाका उम्मेदवार उपेन्द्र यादवले एमाले र जनमतमाथि कडा हमला गरेका छन् । २–२ पटक संसद् विघटन गर्ने एमाले र विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रका लागि घातक रहेको टिप्पणी गरेका छन् । ‘आफ्नो निहित स्वार्थका लागि राष्ट्रपति पदको दुरुपयोग गरी एमालेले २ पटक संसद् विघटन ग¥यो, अहिले पनि जनमत पार्टीको आन्तरिक एजेन्डा मधेश विखण्डन नै रहेको छ’ अध्यक्ष यादवले भने ‘यी दुबै दल लोकतन्त्र र सिंगो मुलुकका लागि अत्यन्तै घातक छन् ।’ अत्यन्त संयमित ढंगले अध्यक्ष यादवले एमाले र जनमतको राजनीतिक गतिविधिबारे टिप्पणीगर्दै भने, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि दुबै दललाई मतदानले ठेगान लगाउनु पर्छ । ‘दुबै दललाई परास्त नगरेसम्म लोकतन्त्र र देश सुरक्षित हुन सक्दैन् ’ उनले भने, कुनै पनि विधेयक संसदबाट पारित भइसकेको अवस्थामा त्यसलाई रोक्ने अधिकार कसैलाई छैन् । नागरिकता विधेयक रोकेर पूर्वराष्ट्रपतिले लाखौ युवालाई अवसरबाट वञ्चित गराएको उनले आरोप लगाए ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट २ पटक नागरिकता सम्बन्धी विधेयक पारित गरी प्रमाणीकरणका लागि पठाउँदा राष्ट्रपति विद्या देवी भण्डारीले रोकेकी थिईन् । एमालेका लागि मात्र राष्ट्रपतिले काम गरेको आरोप विपक्षी दलहरुले लगाएका थिए । जसपाले राष्ट्रपतिको कदम विरुद्ध मधेशमा प्रदर्शन पनि गरेका थिए । बारा जिल्ला इतिहास निर्माण गर्ने किल्ला रहेको उल्लेख गर्दै अध्यक्ष यादवले काठमाण्डु उपत्यकालाई बसोबासयोग्य बनाउने बाराबासी नै रहेको बताए । बाराकै धर्तीपुत्र हरिसिंह देवले काठमाण्डुको सभ्यता र संस्कृति स्थापित गराएको उनले तर्क दिए । ‘मधेश जनविद्रोहमा बाराबासीको ठूलो योगदान रहेको छ’ उनले भने, त्यही योगदानको प्रतिफल स्वरुप मधेश प्रदेशको मुख्यमन्त्री तथा मुलुककै दोस्रो शीर्ष स्थान उपराष्ट्रपति पनि बाराबासीले पाएको छ । प्रतिगमनकारी शक्ति विरुद्ध र लोकतन्त्रको रक्षाका लागि अहिलेको गठबन्धन बनेको जिकिरगर्दै संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध भइरहेका सबै प्रकारको षडयन्त्रलाई ध्वस्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । बारा जिल्लाको विकास निर्माण लगायतका काममा आफ् नो सक्रियता रहने जनाउँदै उनले भने, शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतको क्षेत्रमा बारा जिल्लाले विकासको अनुभूति चाँडै गर्न पाउने छन् ।

गठबन्धनले निर्वाचन क्षेत्र स्तरीय संयुक्त प्रचार प्रसार समितिको कार्यालय सञ्चालन गरेको छ । कार्यालयलाई अध्यक्ष यादव, नेकांका नेता खाण, लोसपाका नेता सोनलले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

Comment


Related News

Latest News

Trending News