अपडेट 
२०८० बैशाख ४, सोमबार ०७:२९

जनकपुरधाम उपमहानगरपालिकाले गरेको कर्मचारीको स्तर वृद्धि अवैधानिक रहेको महालेखा परीक्षकले ठहर गरेको छ ।

प्रदेश लोक सेवा आयोगबाट कुनै परामर्श नै नगरिकन कर्मचारीको स्तर वृद्धि गरेकोले सो अवैधानिक रहेको भन्दै महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०७८/७९ को ६० औँ वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख छ । मधेश प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा २ (झ) को व्यवस्था प्रतिकूल हुने गरी जनकपुरधाम उपमहानगरपालिकाले कर्मचारी समायोजन (स्तर वृद्धि) ऐन, २०७७ जारी गरेको र प्रमुख प्रशासकीय अधिकृतको २०७८ वैशाख ३० गतेको निर्णयबाट ६९ र २०७८ असोज १ गतेको निर्णयले २६ कर्मचारीको स्तर वृद्धि गरेको पाइएको छ ।

स्तर वृद्धि भएका कर्मचारीलाई माथिल्लो स्तरको तलव भुक्तानी गर्दा १९ लाख ८४ हजार रुपैयाँ बढी व्ययभार पारेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सोही निर्णयअनुसार जेठ महिनादेखि लागु हुने गरी स्तर वृद्धि भएका कर्मचारीले ग्रेड वृद्धि एक वर्ष पछिको जेठ महिनामा मात्र पाउनेमा स्तर वृद्धि भएको दुई महिनामै पुनः २०७८ साउनदेखि ग्रेड वृद्धि समेत थप गरी भुक्तानी गर्दा ६१ कर्मचारीलाई ८ लाख ३७ हजार रुपैयाँ बढी भुक्तानी गरेको पाइएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । संविधानको व्यवस्था बमोजिम उपमहानगरपालिकाका कर्मचारी सम्बन्धी कानून हालसम्म नबनेको र प्रदेश लोक सेवा आयोगबाट परामर्श समेत नलिएकोले उक्त स्तर वृद्धि सम्बन्धी निर्णय कानून सम्मत नदेखिएको महालेखाको ठहर गरेकाले स्तर वृद्धिको वैधानिकतामाथि नै प्रश्न खडा भएको छ ।

कर्मचारीको स्तर वृद्धि गर्नका लागि तत्कालीन नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतबाट आर्थिक चलखेलको आशंका पनि गरिएको छ । स्थानीय तहको कर्मचारी भर्ना तथा बढुवाका लागि प्रदेश लोकसेवा आयोगको संलग्नतालाई अनिवार्य गरिएको छ ।

Comment


Related News

Latest News

Trending News