जनकपुरधामको परिक्रमा सडक निर्माणको माग गर्दै स्थानीयवासीहरुले विरोध प्रदर्शन गरेका छन् ।
धार्मिक तथा ऐतिहासिक महत्वको जनकपुरधाम परिक्रमा सडक निर्माण यथाशीघ्र गर्नुपर्ने माग गर्दै स्थानीयवासीहरुले जनकपुरधाम उपमहानगरपालिका–८ ज्ञानकुप विद्यालय नजिकको सडकमा आइतबार प्रदर्शन गरेका छन् । स्थानीयवासीहरुले सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । उनीहरूले भ्रमरपुराचोकदेखि बलबाटोल प्रहरी चौकी, ज्ञानकुप विद्यालय हुँदै, पिडारीको रेल्वे लिकसम्मको बाटो अवरुद्ध गरेर बिग्रे भत्केका सडकहरु तत्काल निर्माण गरिनु पर्ने माग अघि सारेका छन् । केही महिना अगाडि तत्कालीन शहरी विकास मन्त्री मेटमनि चौधरीले परिक्रमा सडकको रेल्वे ट्रयाकदेखि भ्रमरपुरा चोकसम्म निर्माण गर्ने गरी शिलान्यास गरेको भए पनि सडक ठेक्का लाग्न नसकेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको स्थानीयवासी रामचन्द्र साहले बताए ।
सडक निर्माणको काम यथाशीघ्र पूरा गर्न माग गर्दै स्थानीयवासीहरुले आयोजना गरेको विरोध प्रदर्शनको कारण सो सडकमा आवतजावत पूर्ण रुपमा अवरुद्ध बनेको थियो । तत्काल सडक कालोपत्रे गरी धुलो र हिलोमुक्त बनाउनुपर्ने माग पनि उनीहरूको छ । निर्माणाधीन सडकखण्ड लामो समयसम्म कालोपत्र नहुँदा व्यापार व्यवसाय चौपट हुनुका साथै आवतजावतमा समेत कठिनाइ भएको प्रदर्शनकारीहरुको भनाइ छ । भ्रमरपूराचोकदेखि बलवाटोल प्रहरी चोक सम्मको सडक अस्त–व्यस्त बनेको छ ।