अपडेट 
२०८० बैशाख ४, सोमबार ०७:३९

सूचना दिन आलटाल गर्ने सप्तरीको राजविराज नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निरन्जन यादवलाई ७ दिनभित्र लिखित जवाफ पठाउन राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ ।

स्थानीय सूचना अभियन्ता एवम् पत्रकार सौरभ यादवले आयोगमा दिएको पुनरावेदनमाथि प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीको चैत २९ गते बसेको संयुक्त इजलासले सो आदेश दिएको छ । यादवले नगरपालिकामा उपलब्ध रहेको सवारी साधन (चालु,ठप्प,र हाल मर्मत)को विवरण,आर्थिक वर्ष ०७८/०७९ र हालसम्म इन्धन र सवारी मर्मतमा खर्च भएको रकमसहितको विवरण,आब ०७८/०७९ र हालसम्म खर्च गरिएको कुल बजेट (योजना शीर्षक अनुसार) को विवरणसहितको भौतिक प्रगति विवरण, आर्थिक वर्ष ०७८/०७९ र हालसम्म फोहोर व्यवस्थापन र सरसफाई शीर्षकमा खर्चिएको बजेट विवरण, नगरपालिकामा रहेको दरबन्दी र हाल कार्यरत रहेको कर्मचारीहरु (स्थायी, अस्थायी, करार र डोर हाजिर) को नाम र ठेगाना सहितको विवरण,जनप्रतिनिधिहरुलाई उपलब्ध गराइएको सवारी साधन (सवारी नम्वर र जनप्रतिनिधिको नाम उल्लेखित) विवरण तथा सवारी फिर्ता गरेको भए सोको विवरणसहितका सूचनाहरु माग गर्दै सूचनाको हक सम्बन्धी ऐनलाई टेकेर सूचना माग गरेका थिए ।

त्यस्तै, सडक बोर्डवाट खर्चिएको कुल बजेट (योजना शीर्षक अनुसार )को विवरणसहितको भौतिक प्रगति विवरण,विगत तीन आर्थिक वर्ष र हालसम्म औषधि र सेनेटरी प्याडको मूल्य उल्लेखित विवरण र खरिद गरिएको प्रक्रियाको आवश्यक कागजात,आर्थिक वर्ष ०७९/८० को हालसम्म खर्चिएको कुल बजेट (योजनाको शीर्षकअनुसार)को विवरणसहित भौतिक प्रगति विवरणसमेत यादवले माग गरेका छन् । गत माघ २२ गते नगरपालिकाका सूचना अधिकारी सुरेशकुमार यादवसँग माग गरिएको सो सूचना उपलब्ध नगराइएपछि तोकिएको समयभित्र सूचना नदिने सूचना अधिकारीलाई कारबाहीको माग गर्दै यादवले गत फागुन २६ गते निमित्त प्रमुख प्रशासकीय अधिकृत निरन्जन यादवसँग सूचना मागेका थिए । तर, प्रमुख प्रशासकीय अधिकृत यादवले पनि तोकिएको समयभित्र सूचना नदिएपछि पत्रकार यादवले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन पत्र दर्ता गराएका थिए । आयोगमा फागुन २७ गते पुनरावेदन दर्ता भएको थियो भने ९४२ /०७९/८० नम्बरको मुद्दामा निर्णय हुँदै निमित प्रमुख प्रशासकीय अधिकृत यादवलाई दफा १० (२) बमोजिम ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिइएको छ ।

Comment


Related News