
नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका बाँकी मन्त्रीहरूको शपथ अब उपनिर्वाचनपछि मात्रै हुने भएको छ । राष्ट्रपति निर्वाचनसँगै बनेको सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँट भएको तीन साता बित्न लाग्दा पनि दलहरूले मन्त्रीको नाम नदिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् लाई पूर्णता दिन सकेका छैनन् । आइतबार परराष्ट्रमन्त्रीमा एनपी साउदले शपथ लिए । तर अझै पनि पाँच मन्त्रालय प्रधानमन्त्रीकै जिम्मामा छ । हाल स्वास्थ्य तथा जनसंख्या, कानून, न्याय तथा संसदीय मामिला, खानेपानी, वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय मन्त्रीविहीन छन् । ती मन्त्रालयको कार्यभार महिनौँदेखि प्रधानमन्त्री दाहालले नै लिएका छन् । गठबन्धनमा भएको सहमति बमोजिम कांग्रेसले अझै चार मन्त्रीको नाम टुंग्याउन सकेको छैन भने जनता समाजवादी पार्टीले एक मन्त्रीको नाम दिएको छैन ।
अब बाँकी मन्त्रीहरूलाई उपनिर्वाचनपछि मात्रै शपथ गराउने तयारी रहेको एक मन्त्रीले बताए । ‘कांग्रेसमा आन्तरिकरुपमा सहमति भइसकेको छैन । चुनावको मुखमा मन्त्री छान्दा त्यसले चुनावलाई पनि असर गर्ने हुन सक्छ । त्यसैले अब उपचुनावपछि मात्रै मन्त्रीहरूलाई शपथ गराउने तयारी छ,’ कांग्रेसका ती मन्त्रीले भने ।
आगामी आइतबार चितवन, बारा र तनहुँमा उपनिर्वाचन हुँदैछ । कांग्रेसका शीर्ष नेताहरू नै उपनिर्वाचनका लागि ती क्षेत्रहरूमा केन्द्रित भएका छन् । चैत १५ मा सत्ता गठबन्धनमा कांग्रेसले ८, माओवादी केन्द्र ५, जसपा र नेकपा एस २÷२, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीबाट १/१ जना मन्त्री बन्ने सहमति भएको थियो । त्यसबेला जसपाले एक मन्त्रीको नाम पठाउन बाँकी राखेको थियो भने कांग्रेसले पार्टीभित्रको किचलोका कारण चार मन्त्रीलाई मात्रै शपथ गराएको थियो । तर, जनमतबाट मन्त्री रहेका अब्दुल खानले मन्त्रालय बाँडफाँटमा असन्तुष्टि जनाउँदै खानेपानी मन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री दाहालले त्यो मन्त्रालय समेत कांग्रेसलाई दिएर मन्त्रिपरिषद् विस्तारलाई छिटो टुंग्याउन प्रयास गरेका थिए । तर, फेरि पनि कांग्रेसले मन्त्रीको नाम टुंग्याउन सकेका छैन । जसपाका अध्यक्ष उपेन्द्र यादव भने उपनिर्वाचनमा बारा–२ बाट उम्मेदवार छन् ।
चुनाबको मुखमा यताबाट मन्त्री दिँदा विवाद उत्पन्न हुन सक्ने भएकाले पनि जसपा र कांग्रेसले मन्त्री नदिएको स्रोतको भनाइ छ । जसपाबाट मन्त्री दिँदा त्यसको प्रभाव उप निर्वाचनमा पर्ने भएकाले निर्वाचनपछि जसपाले मन्त्रीको नाम सार्ने भएको छ भने मधेशी अनुहार राख्ने वा नराख्ने निर्णय गर्न नसकेको र सवै मन्त्री पहाडबाटनै दिँदा त्यसको पनि प्रभाव पर्ने भएकाले यी दलहरुले उप निर्वाचनपछि मन्त्री पठाउने तयारीमा छन् । जनमतले पाएको खानेपानी मन्त्रालयले जनताको प्रत्यक्ष काम गर्न नसक्ने भएकाले पार्टीबाट मन्त्री बनाएका खाँन सरकार बाहिर छन् भने लोसपाबाट शरत सिंह भण्डारी यस भन्दा पहिलानै शपथ ग्रहण गरी सकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भएपछि आइतबार आठौ पटक मन्त्रीपरिषद् विस्तार भएको छ ।
आइतबार परराष्ट्रमन्त्रीको रुपमा नेपाली कांग्रेसका नेता एनपी साउदले शपथ ग्रहण गरे । गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यतिबेला ५ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैं सम्हालेका थिए । साउद परराष्ट्रमन्त्री बनेपछि पनि सरकार अझै अपुरो छ ।