अपडेट 
२०८० बैशाख ४, सोमबार ०७:४६

भारतको जयनगरमा रहेको एउटा घर कहिले निर्वासन कालमा नेपाली कांग्रेसका नेताहरुको आश्रयस्थल बनेको थियो । शहीद सरोजप्रसाद कोइराला, प्रजातन्त्र सेनानीहरु निर्गुन यादव, महाविर शर्मा, सुरेशमान जोशी, जलन्धर यादव सहितका नेताहरु लामो समय सम्म त्यहाँ बस्नु भएको थियो । विपि कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला जयनगर पुग्दा त्यही घरमा बैठकहरु गर्नु हुन्थ्यो । सय वर्ष पुरानो यो घर अहिले भूतबंगला बनेका छ । त्यको रेखदेख गर्ने कोही छैन जस्तो लागि रहेको छ । ‘दूई तले सो भवनमा बुवासँगै आफूहरु पनि बसेको,’ प्रजातन्त्र सेनानी निर्गुन यादवका माइलो छोरा साहित्यानन्द यादवले वताए । १० वर्षसम्म निर्गुन यादव त्यहाँ बसेका थिए ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला वि.सं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । जीवनको लामो समयसम्म काँग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । वि.सं २०१७ पुस १ गते तत्कालिन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महीनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद् का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो । त्यो बेला बीपी सरोजप्रसाद कोइरालालाई एक भरपर्दो सहयोगीका रूपमा हेर्नुहुन्थ्यो । सातौँ महाधिवेशनपछि बीपीले सरोजलाई कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्यको जिम्मेवारी दिनुभएको थियो ।

२०१७ पुस १ को घटनापछि उहाँलाई पक्राउ गर्न ठूलो प्रयत्न भयो तर काठमाडौँबाट पूर्वी पहाडैपहाड र भित्री मधेशको अनकन्टार भाग पार गरेर, कठोर भूमिगत रूपमा उहाँ पटना पुग्नुभयो । नेपाली कांग्रेसका सांसद र अरू धेरैलाई गिरफ्तारबाट जोगिएर भारतमा आउन उहाँले आग्रह गर्नुभएको थियो । नेपाली कांग्रेसका धेरै जिम्मेवार व्यक्तिहरू राजा महेन्द्रको निरंकुशताको विरोधमा संघर्ष गर्न तत्पर भएर भारतमा पुगेका थिए । सुवर्ण शमशेरले २०१७ साल माघ १२ गते भारतको पटनामा नेपाली कांग्रेसको सम्मेलन बोलाउनुभयो । त्यो ऐतिहासिक सम्मेलनले राजा महेन्द्रको पुस १ को कदमलाई देश र जनताको हितलाई पछि घकेलेर निरंकुश शासन कायम गर्ने एक राष्ट्रघाती घटनाका रूपमा लियो र त्यसको विरोध ग¥यो । त्यो सम्मेलनले नेपालमा प्रजातन्त्र पुनस्र्थापना गर्न अविलम्ब संघर्ष गर्ने प्रतिबद्धता व्यक्त ग–यो र संघर्षलाई सहयोग गर्न सबैलाई अपिल ग¥यो । त्यसले सम्पूर्ण कार्यसञ्चालनको जिम्मेवारी सुवर्ण शमशेरलाई सुम्प्यो । त्यही सम्मेलनले सुवर्ण शमशेरलाई नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पनि दियो । सरोजप्रसाद कोइरालाले जयनगरमा नेपाली कांग्रेसको सम्पर्क कार्यालय राख्नुभएको थियो ।

सो कार्यालयमा प्रजातन्त्र सेनानीहरु निर्गुन यादव, महाविर शर्मा, सुरेशमान जोशी सहितका नेताहरु बस्नु हुन्थ्यो । नेपालको मध्यपूर्वी भागका कार्यकर्तासित सम्पर्क स्थापित गरेर कोइरालाले प्रजातान्त्रिक संघर्षलाई नेतृत्व प्रदान गर्नुहुन्थ्यो । जयनगरमा सैन्य परिचालनका जिम्मा निर्गुनको रहेको थियो । यही घरमा राजा महेन्द्र माथि २०१८ माघ ९ गते वम प्रहार गर्ने योजना बनेको थियो । धनुषाको विदेहनगरपालिकाको करमाही घर भएका ९३ वर्षिय प्रजातन्त्र सेनानी जलन्धर यादवका अनुसार शहीद दुर्गानन्द झालाई निर्गुनजीले शैन्य तालिम दिएका थिए । तालिमपछि वम लिएर अरविन्द ठाकुर र दुर्गानन्द झा जनकपुरधाम आएका थिए ।

दुर्गानन्दले जानकी मन्दिर नजिक सेना र गुप्तचरका आँखा छल्दै ग्रिनेड प्रहार गरेका थिए । प्रहारबाट राजा महेन्द्र चढेको ल्याण्डरोभर गाडीको पछाडिपट्टि क्षति भएपनि राजालाई केही भएन । पछि सोही अभियोगमा झालाई मृत्युदण्ड र ठाकुरलाई आजिवन कारावास भएको थियो । जयनगरमा त्यो बेलाको अधिकांश घर टुटिसकेको छ त्यहाँ नयाँ शैलीका घरहरु निर्माण भइसकेको छ तर त्यो घर त्यतिकै रहेको छ । ‘परिवारिक विवादका कारण घरको मर्मत सम्भार हुन नसकेको,’ घर धनी डा. सुनिलकुमार राउतले स्वीकार गरेका छन् । सो घर डा. राउतका बुबा गोपालप्रसाद राउतसँग निर्गुणले भाडामा लिएका थिए । ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा राउत परिवारको यति श्रद्धा थियो कि पैसा नहुँदा पनि घर छोडनु नपरेको निर्गुणका छोरा साहित्यानन्दले वताए । एकातिर त्यो घर भूतबंगला बनेको छ भने अर्कोतर्फ नेपाल सरकारले संग्रहालयको रुपमा विकास गर्नुपर्ने माँग पनि उठी रहेको छ ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य रामगोविन्द यादवले त्यो घरलाई त्यतिकै छाडनु हुँदैन, नेपाल सरकारले भारत सरकारसँग कुरो गरेर संग्रहालय तर्फ कार्य अगाडी बढाउनु पर्ने सुझाव दिनु भएको छ । ‘जयनगर मात्रै नभइ निर्वासनकालमा भारतमा नेपाली नेता बसेको हरेक ठाउँलाइ संग्रहालय बनाउनुपर्छ,’ निर्गुणका छोरा साहित्यानन्दले पनि माँग गर्नुभयो । जयनगर धनुषा जिल्लासँग जोडिएको सीमावर्ती भारतीय शहर रहेको छ । दैनिक जनकपुरधामबाट त्यहाँ रेल जाने गरेको छ । रेलवाट सयौ नेपाली दैनिक त्यहाँ पुग्ने गर्छन । धेरैलाई त्यो घर सम्बन्धि जानकारी छैन तर जसलाई छन् त्यो हेर्न त्यहाँ पुग्ने गरेको छ । ‘म आफै त्यो घर हेर्न यसैसाता जयनगर गएको थिए,’ जसपा नेता यादवले वताए ।

Comment


Related News

Latest News

Trending News