
आगामी बैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा बारामा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
एमालेको मत लिएर निर्वाचन जितेका जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको छ । त्यो क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका उम्मेदवार पुरुषोतम पौडेलबीच कडा प्रतिस्पर्धा देखिएको छ । उपचुनाव नजिकिँदै जाँदा बारा–२ मा उम्मेदवारहरुबीच प्रतिस्पर्धा गहिरिँदै गएको छ । बैशाख १० मा हुने उपचुनावका लागि उम्मेदवारहरु चुनावी भेला, सभा गर्न व्यस्त छन् । यादव समुदायको बाहुल्य रहेको यस क्षेत्रमा जातीय समीकरणले विगतमा चुनाव जित्दै आएकाले त्यो समूदायको मत तान्न उम्मेदवारहरु कसरतमा छन् । उनीहरुको सक्रियताले चुनावी महोल रोचक बन्दै गएको छ । १ लाख ५ हजार मतदाता रहेको यस क्षेत्रमा ६४ दशमलव ४४ प्रतिशत मत खसेकोमा अधिकांश यादव, त्यसपछि मुस्लिम, वैश्य, थारु र अन्य जाति छन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादव नै चुनावी मैदानमा उत्रिएपछि उनलाई रोक्ने रणनीतिमा अन्य दलका उम्मेदवार झन् सक्रिय बन्दा चुनावी माहोल झन् तातिएको छ । गत मंसिरको चुनावमा सप्तरीबाट चुनावमा पराजित भएका यादव र काठमाण्डुबाट चुनाव हारेका रमेश खरेल चुनावी क्षेत्र र दल बदलेर चुनावी मैदानमा उत्रेका छन् । गत मंसिरमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित जसपाका नेता रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपतिमा चयन भएसँगै यो निर्वाचन क्षेत्र खाली भएपछि सोही पदका लागि उपनिर्वाचन हुन लागेको हो । जसपा अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनका मुख्य दल कांग्रेस, माओवादी, नेकपा एस, लोसपा लगायतको समर्थनमा चुनावी मैदानमा छन् । त्यसो त यहा ३४ जना उम्मेदवार प्रतिस्पर्धामा भए पनि मुख्य प्रतिस्पर्धा भने जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेलबीच देखिएको छ भने जनमतका शिवचन्द्र कुशवाहा पनि प्रतिस्पर्धाको लाइनमा रहेका छन् । २९ जना पुरूष र ५ जना महिला चुनावी प्रतिस्पर्धामा छन् । ३६ जनाको उम्मेदवारी परेकोमा २ जनाले फिर्ता लिएका थिए । यही क्षेत्रका कुशवाहा गत मंसिरको चुनावमा माओवादीबाट उम्मेदवार भएर एमालेको समर्थनमा रहेका जसपाका रामसहायबाट ३ सय ५४ मतले हार बेहोरेका थिए । कुशवाहाले १३ हजार ४ सय ६८ मत ल्याई प्रतिद्वन्द्वी थिए भने रामसहायले १३ हजार ८ सय २२ मत प्राप्त गरी विजयी भएका थिए ।
यसपटक कुशवाहा माओवादी त्यागेर जनमतबाट चुनाव उठेका छन् । माओवादीबाट २०६४ मा त्यसै क्षेत्रबाट जितेका कुशवाहालाई २०७० को चुनावमा टिकट नदिएपछि राजेन्द्र महतोको तत्कालीन सद्भावना पार्टीमा प्रवेश गरी उम्मेदवार बन्दा हारेका थिए । यसपालि माओवादी केन्द्रले टिकट नदिँदा जनमत पार्टीबाट उम्मेदवार बनेका छन् । कुशवाहाको पार्टी हेरफेरले उनको छवि क्षेत्रमा दिनप्रतिदिन खराव हुँदै गएको छ । उनी आपूm जित्ने दाबी गर्दा पनि क्षेत्रमा पार्टी हेरफेरका कारण छविमा व्यापक ह्रास आएको छ । २०४८ बाटै चुनाव लड्दै र पटकपटक सांसद र मन्त्री बनेका जिल्लाबासी एमाले उम्मेदवार पौडेल पनि तीव्र प्रतिस्पर्धामा रहेका छन् । उनले अरु उम्मेदवारलाई जनताले हराएर अस्वीकार गरिसकेका आफू यो क्षेत्रका लागि नयाँ उम्मेदवारसँगै जिल्लाबासी भएकाले जित्ने दाबी गर्दै मत माग्न व्यस्त छन् । उपेन्द्रले आफ्ना पार्टीका तत्कालीन निर्वाचित सांसद रामसहायको तिनै मत, पार्टीका २ प्रदेशसभा सदस्य, बागी उठेका रामकिशोर यादवसहित क्षेत्रका ५ पालिकामध्ये २ गाउँपालिका र अधिकांश वडाहरु आफ्नो पोल्टामा रहेकाले उनी जित्ने दाबी गर्दै आएका छन् ।
यो क्षेत्रमा ५ पालिकामध्ये जसपा नेतृत्वको पालिका प्रमुख, उपप्रमुख २, कांग्रेस २ र एमाले १ पालिकाको प्रमुख र उपप्रमुखमा छन् । निर्वाचन क्षेत्रमा पुरुष ५८ हजार ७ सय ४२ र महिला ४६ हजार २ सय ६९ छन् । मतदानस्थल ८२ र मतदान केन्द्र १ सय ३६ छन् । यस क्षेत्रमा पचरौता र महागढीमाई गरी २ नगरपालिका छन् । देवताल, सुवर्ण र करैयामाई गरी ३ गाउँपालिका छन् ।