अपडेट 
२०८० बैशाख ५, मंगलवार १४:५५

सर्लाहीको लालबन्दीबाट प्रहरीले ठूलो परिमाणमा नक्कली नोट बरामद गरेको छ।

मंगलबार बिहान लालबन्दी नगरपालिका-७, स्थित भित्री गल्लीबाट एक हजार दरका पाँच सय ३० थान (पाँच लाख तीस हजार) नक्कली नोट बरामद भएको हो। कसैले राति नै फालेको अवस्थामा स्थानीयले कालो ब्यागमा पैसा देखेपछि प्रहरीलाई खबर गरेका थिए। लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले उक्त नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।

उक्त नक्कली नोट कहाँबाट कसले ल्यायो ? किन फालेर भाग्यो भन्ने खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय लालबन्दीका प्रमुख डिएसपी सान्तराम कार्कीले जानकारी दिए। जिल्लामा पछिल्लो समय पाँच सय र एक हजार दरका नक्कली नोट निरन्तर फेला परिरहेको छ।

गत एक महिनाको अन्तरमा जिल्लाका विभिन्न स्थानबाट साढे आठ लाखको हाराहारीमा नक्कली नोट बरामद भएको जिल्ला प्रहरीका एसपी नरेशराज सुवेदीले जानकारी दिए। आपराधिक घटनामा संलग्नहरूले आपराधिक क्रियाकलाप प्रयोजनका लागि यस्ता पैसा ल्याएको हुन सक्ने एसपी सुवेदीको भनाइ छ।

सर्लाही प्रहरीले पछिल्लो समय मिसनकै रूपमा नक्कली नोट कारोबार गर्ने गिरोहको पहिचान र खोजी सुरु गरेका कारण यसरी पैसा फलेर भाग्ने कार्य भएको उनले बताए। जिल्लामा नक्कली नोट पटक–पटक बरामद भए पनि यस्तो नोट बाहिरबाट ल्याउने गरेको आशंका प्रहरीले गरेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको एसपी सुवेदीले बताए।

Comment


Related News

Latest News

Trending News