
मधेश प्रदेशमा प्रहरीले नै चोरीको मोटरसाइकल चढ्ने गरेको पाइएको छ ।
सर्लाही खुटौना बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) अंगद खड्का चोरीको मोटरसाइकल चढ्ने गरेको पाइएको छ । इन्सपेक्टर खड्कालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको सर्लाहीका प्रहरी उपरीक्षक नरेश सुवेदीले जानकारी दिए । उनको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । एसपी सुवेदीका अनुसार उक्त मोटरसाइकलमा मलंगवा नगरपालिका –९ का राकेश राउत पटेलको दाबी छ । गत फागुन १२ गते प्रदेश–२–०२–००३ प ७७२ ९ नम्बरको उनको सो टिभिएस अपाचे मोटरसाइकल चोरी भएको थियो । चारी भएको भोलि पल्टै उनले सवारी खोजतलासको लागि निवेदन दिएका थिए । इन्सपेक्टर खड्कासहित अर्का एक जना सशस्त्र प्रहरी जवान पेट्रोल लिन मलंगवा नगरपालिका– ४ शिवसागर चोकमा रहेका नुतन आयल स्टोर्समा पुगेपछि सवारी धनीले मोटरसाइकल पहिचान गरेका थिए । इन्सपेक्टरसंग सोधपुछ गरेपछि उनीहरु भाग्न खोजेको थियो । त्यसपछि उनीहरुलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको थियो । मोटरसाइकल चोरी भएपछि गत फागुन १३ गते सवारी धनीले खोजतलास गरिदिन लिखित निवेदन दिएका थिए । सशस्त्र प्रहरीले सर्लाहीको व्यस्त बजारबाट चोरी भएको मोटरसाइकललाई सवारी धनीलाई फिर्ता दिनुको साटो गैरकानूनी कार्य गरी उक्त मोटरसाइकल सेतोमा बा–२ ब ९७२६ सरकारी नम्बर प्लेट राखेर निर्वाध रुपमा चढदै आएका थिए ।
यस अघि चोरीको भारतीय नम्बरको टाटा सुमोमा मारुती भ्यानको नेपाली नम्बर लगाएर प्रयोग गरिरहेका वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई भने कारबाही गरिएको छैन् । यद्यपि सो सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अध्यक्ष साहले मारुती भ्यानको बा.११ च ६३९६ नम्बरलाई टाटा सुमोमा लगाएर चढ्ने गरेको पाइएको थियो ।