अपडेट 
२०८० बैशाख ६, बुधबार १९:४८

देशका ३१ वटा जिल्लाका दुई सय ३४ ठाउँमा डढेलो लागिरहेको वन तथा भूसंरक्षण विभागले जनाएको छ ।

विभागका अनुसार दाङमा मात्रै ४२ ठाउँमा डढेलो लागिरहेको छ । यस्तै प्युठानका २८, अर्घखाँचीका १६, सुर्खेतका १६ र मकवानपुरको १४ ठाउँमा डढेलो लागिरहेको छ । गएकाे २४ घण्टामा देशका तीन सय ७९ ठाउँमा डढेलो लागेको छ भने एक हप्तामा सात सय ६३ ठाउँमा डढेलो लागिसकेको छ । केही दिन अघिसम्म तराई र मध्यपहाडी क्षेत्रमा रहेको डढेलो अहिले उच्च पहाडी र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ ।

डढेलोसँगै प्रदूषण पनि उच्च भएको छ । केही दिनयता काठमाण्डौ उपत्यकासहित तराई तथा देशको मध्य र पूर्वी भागमा बाक्लो तुवाँलोको तह देखिएको छ । यो वायु प्रदूषण भएको वातावरण विभागले जनाएको छ ।

यसैबीच आज पनि देशभर गर्मी कायमै रहेको छ । केही दिनदेखि बढिरहेको गर्मी आज पनि कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भैरहवाको अधिकतम तापक्रम आज ४२ दशमलव दुई डिग्री सेल्सियस भएको छ । भैरहवाको अधिकतम तापक्रम हिजो (मङ्गलवार) ४२ दशमलव चार डिग्री सेल्सियस पुगेको थियो । यस्तै नेपालगञ्ज, सिमरा, जनकपुरलगायतका ठाउँको तापक्रम आज पनि ४० डिग्री सेल्सियसभन्दा बढी रहेको छ । दिपायल, धनगढी, विराटनगरलगायतका ठाउँको तापक्रम पनि ४० डिग्री सेल्सियस नजिक पुगेको छ ।

यस्तै आज काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव आठ डिग्री सेल्सियस पुगेको छ । हिजो काठमाण्डाैकाे अधिकतम तापक्रम ३२ दशमलव सात डिग्री सेल्सियस थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार अप्रिलमा काठमाण्डाैकाे औसत तामक्रम २८ दशमलव दुई डिग्री सेल्सियस हुने गरेको छ । आजको तापक्रम औसतभन्दा चार दशमलव छ डिग्री सेल्सियसले धेरै हो ।

Comment


Related News

Latest News

Trending News