वैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनको प्रचार प्रसार तथा घरदैलो कार्यक्रमहरु बिहीबार राति १२ बजेपछि बन्द हुने भएको छ ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अन्तर्गत बिहीबार राति १२ बजेपछि मौन अवधि शुरु हुने र प्रचार प्रसार तथा घरदैलो कार्यक्रमहरु बन्द हुने निर्वाचन आयोगले जनाएको छ । मधेश प्रदेशका जिल्लाहरुमा अहिले ४० देखि ४५ डिग्री तापक्रम छ तर, गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बुधबार दिनभरि प्रचार प्रसार तथा घरदैलोमा व्यस्त थिए । उनी गर्मी बढी भए पनि जनता आफ् नो घरदैलोमा हेरेपछि खुशी हुने भएकाले आफू घरदैलोमा पुग्ने गरेको बताए । उनले आफू अमेरिकामा पलाए पोसाएको होइन् मधेशकै जिल्लामा बाल्यकालदेखि बसोबास गरेका कारण यो गर्मीले कुनै फरक नपर्ने बताए । गर्मीका कारण बारा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका कतिपय उम्मेदवारले दिउँसो प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई स्थगित गरेका थिए ।
बारा निर्वाचन क्षेत्र नम्बर २ मा बिहीबार ४५ डिग्री तापक्रम मापन गरिएको थियो । गठबन्धनका उम्मेदवार जसपाका अध्यक्ष यादवले भने–‘जनताको दरबारमा पुग्न ४५ के ५०/६० डिग्री भए पनि फरक पर्दैन् । गोरो छाला हुनेलाई कालो हुने डर हुन्छ मलाई के को डर बारा निर्वाचन क्षेत्र नम्वर २ मा १ लाख ५ हजार २९८ मतदाता रहेका छन् । यहाँ दल र स्वतन्त्र तर्फबाट ३६ जनाको उम्मेदवारी परेको छ । उक्त क्षेत्रको अधिकांश भूभाग दक्षिणतर्फ पर्छ ।
बारा–२ अन्तर्गत कोल्हवी नगरपालिकाका वडा नम्बर–८ का अतिरिक्त महागढीमाई नगरपालिका, देवताल गाउँपालिका, सुवर्ण नगरपालिका, पर्चौता गाउँपालिका, करैयामाई नगरपालिका पर्दछन् । बारा २ मा गएको मंसिर ४ को निर्वाचनमा १ लाख ५ हजार २९८ मतदाता रहेकोमा करिब ६९ हजार मत खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यस पटकको निर्वाचनमा बारा २ मा मतदाता रहेका कर्मचारीलाई नखटाउने निर्णय गरेको छ । यस पटक करीब ८० हजार मत खस्ने अनुमान रहेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले गरेका छन् । ती पालिका अन्तर्गत ४४ वटा वडा यो निर्वाचन क्षेत्रमा पर्दछन् ।
गठबन्धनका उम्मेदवार जसपाका अध्यक्ष यादवको प्रचार प्रसारमा तथा नेता कार्यकर्तालाई सम्वोधन गर्नका लागि बिहीबार महागढीमाईमा आयोजना हुने विशाल आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, नेकपा एसका अध्यक्ष माधबकुमार नेपाल लगायतका शीर्ष नेताहरु बारा आउने कार्यक्रम रहेको छ । महागढीमाइमा आयोजना हुने सो विशाल सभाको तयारी पूरा भएको जनाइएको छ । त्यहाँ २० हजार भन्दा बढी अटाउने हिसाबले पण्डाल लगाइएको छ भने सबारी साधनको पार्किङ्ग, यहाँ पुग्ने नेता कार्यकर्ताहरुको लागि पानी लगायतको व्यवस्थापन गरिएको नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णाप्रसाद यादवले जानकारी दिए । उनले भने–‘हामी प्रचारप्रसारमा अहोरात्र खटिरहेका छौं, आम जनतालाई आउन सक्ने समस्याहरुको बारेमा राम्ररी थाहा छ यहाँ आउनेलाई समस्या नहोस त्यस प्रकारको व्यवस्था गरिएको छ । बिहीबार हुने सो विशाल सभामा माओवादी केन्द्र, नेपाली कांग्रेस, लोसपा, जसपा, नेकपा एस लगायत गठबन्धनमा आबद्ध दलका नेता कार्यकर्ताहरु यहाँ पुग्ने जनाइएको छ । हुनत मधेश प्रदेश लगायत देशभरका नेता कार्यकर्ताको ध्यान यस क्षेत्रमा केन्द्रित छ उनले भने–‘व्यवस्थापन पनि त्यसै प्रकारले गरेका छौं ।’ त्यस्तै नेकपा एमालेले पनि बिहीबारनै आमसभा गर्ने कार्यक्रम निर्धारण गरेको थियो तर, पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आपूm अस्वस्थ्य रहेको जानकारी दिएपछि उनको बारा आउने कार्यक्रम रद्द गरिएको छ । त्यस्तै जनमत, रास्वपा लगायतका पार्टीहरुले समेत आमसभा गर्ने र पार्टीका अध्यक्षहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।