अपडेट 
२०८० बैशाख ७, बिहीबार ०७:२३

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व गृहमन्त्री विमलेन्द्र निधिले विद्यार्थीहरुले राजनीतिको साथसाथै अध्ययनलाई संगै लैजानुपर्ने आवश्यकता औंल्याएका छन् ।

नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा जनकपुरधाममा बुधबार आयोजित शिक्षा प्रणालीमा सुधार विषयक विचार गोष्ठीमा नेता निधिले सो आवश्यकता औंल्याएका छन् । राजनीतिक रुपमासमेत प्रवुद्ध हुनका लागि अध्ययन अत्यन्त आवश्यक रहेकोले राजनीतिको साथै अध्ययनमासमेत विद्यार्थीहरुले जोड दिनुपर्ने उनले बताए । विद्यार्थी संघको संगठन विस्तारका लागि अहिलेदेखि नै तीव्र गतिमा काम गर्न नेविसंघका विद्यार्थीहरुलाई उनले आग्रह गरे । कुनै पनि आन्दोलनको जननी विद्यार्थीहरु नै हुने गरेकोले संगठन निर्माणमासमेत विद्यार्थी नेताहरुको अग्रणी भूमिका हुनुपर्नेमा उनले जोड दिए । मानवस्रोतको विकासको आधारमै कुनै देशको प्रगति हुने गरेको दाबी गर्दै उनले बिग्रिंदै गएको शिक्षाको स्तर सुधारका लागि समेत विद्यार्थीहरुको महत्वपूर्ण भूमिका हुने जिकिर गरे ।

उच्च शिक्षाको अध्ययन गर्न नेपालबाट बाहिर जाने बाध्यताको समाप्त गर्नका लागि शिक्षामा चाहिने आवश्यक परिवर्तन गर्नुपर्ने आवश्यकतासमेत उनले जोड दिए । युवाशक्तिहरु बेरोजगारीको कारण विदेशिन बाध्य हुनुले देशको समग्र विकास प्रभावित भएको बताउँदै उनले भने,‘ अबको शिक्षा प्रणाली सीपमूलक हुनुपर्छ ,विभिन्न विषयका लागि विश्वविद्यालय यहाँ स्थापना गर्नुपर्छ अहिलेको घनिभूत आवश्यकता छ।’ नेपालमा कृषि केन्द्रित शिक्षा र धार्मिक पर्यटनको अत्यधिक सम्भावना रहेकोले यसमै जोड दिन आवश्यकता रहेको उनले चर्चा गरे । थला परिसकेको त्रिभुवन विश्वविद्यालयको शिक्षा प्रणालीमा सुधार गर्न ठूलो परिवर्तनको आवश्यकता रहेको बताउँदै उनले नयाँ शिक्षा प्रणालीका लागि सरकारले ठोस कदम अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

Comment


Related News