अपडेट 
२०८० बैशाख ७, बिहीबार ०७:२८

बैशाख १० गते हुने बारा क्षेत्र नं २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अग्रस्थानमा देखिएका छन्।

जनकपुर टुडेकर्मीसहित अन्य सञ्चारकर्मीहरुको एक टोलीले बारा क्षेत्र नं २ को सबै पालिकामा गरेको स्थलगत सर्वेक्षणको आधारमा बारा क्षेत्र नं २ को चुनावी दौडमा पाँच दलीय गठबंधनका संयुक्त उम्मेदवारसमेत रहेका जसपा अध्यक्ष यादव अन्य उम्मेदवार भन्दा निकै अगाडि रहेको देखिएका छन्। बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनबाट जसपा अध्यक्ष यादव,नेकपा एमालेबाट पुरुषोतम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्व डिआईजी रमेश खरेल, आम जनता पार्टीबाट अरुण ज्ञवाली लगायत विभिन्न दल र स्वतंत्र बाट गरी ३४ जना चुनावी प्रतिस्पर्धामा रहेका छन्। यस निर्वाचन क्षेत्रमा पचरौता, महागढीमाई र कोल्हवी गरी तीनवटा नगरपालिका रहेका छन् भने सुवर्ण, करैयामाई र देवताल गरी तीनवटा गाउँपालिकासमेत रहेका छन्। छ वटै पालिकाको गरी यस निर्वाचन क्षेत्रमा जम्मा ४४ वटा वडाहरु रहेका छन्।

यी ४४ वटा वडा मध्ये अधिकांश वडामा पत्रकारहरुको टोलीले आम मतदाताहरुसंग कुरा गर्दा ४३.५६ प्रतिशत मतदाता जसपा अध्यक्ष यादवलाई मत दिने बताएका छन्। त्यस्तै, दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार पुरुषोतम पौडेललाई २४.३ प्रतिशत, तेस्रो स्थानमा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई १९.४ प्रतिशत, चौथौ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेललाई ५.१ प्रतिशत, पाँचौं स्थानमा आम जनता पार्टीका उम्मेद्वार अरुण ज्ञवालीलाई ४.२ प्रतिशत जनताले मत दिने बताएका छन् । त्यस्तै,बाँकी ३.४४ प्रतिशत मत कसलाई दिने भन्ने निर्णय गरिनसकेको पाइएको छ। मत सर्वेक्षणको आधारमा बारा–२ मा जसपा अध्यक्ष यादव र एमालेका पुरुषोतम पौडेलबीच नै प्रतिस्पर्धा हुने आम मतदाताहरुले बताएका छन्। यादव र पौडेल बीच प्रतिस्पर्धा हुने देखिए पनि अन्ततः यादवले नै सहजै जित निकाल्ने मतदाताहरुको भनाइ छ । बाहिर बाहिर यादवसंग सीके राउतको पार्टी जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाको प्रतिस्पर्धा हुने आंकलन गरिए पनि ग्राउण्ड जिरोमा बुझ्दा उपेन्द्र यादवसंग कुशवाहाको नभइ एमालेका पुरुषोतम पौडेलको प्रतिस्पर्धा हुने देखिएको छ।

बारा–२ मा जसपाको संगठन बलियो रहेको अर्थात् सबभन्दा राम्रो रहेको र त्यसमा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दलले जसपाका उम्मेदवार उपेन्द्र यादवलाई नै साथ दिएको कारण यादव सहजै जित्ने उनीहरूको भनाइ छ। त्यस्तै,एमालेका उम्मेदवार पुरुषोतम पौडेलभन्दा जनमतका उम्मेदवार कुशवाहाको प्रचार प्रसार बढी भएको पाइएको छ । ग्राउण्ड जिरोमा पौडेल भन्दा कुशवाहाको चर्चा बढी भएको देखिए पनि अन्त्यमा एमालेका पौडेलले जनमतका उम्मेदवार कुशवाहालाई पछाडि पार्ने प्रबल सम्भावना रहेको छ। सप्तरी २ मा सीके राउतले उपेन्द्र यादवलाई ठूलो मतान्तरले पराजित गरेका कारण बारामा पनि सीके राउतको पार्टीले यादवलाई पराजित गर्न सक्ने आंकलनसहित सीके राउतको नामबाट जनमतका उम्मेदवारको एमाले भन्दा बढी प्रचार भएको पाइएको छ तर बारा– २ मा सीके राउतको पार्टीको संगठन धेरै कमजोर रहेको छ भने एमालेका संगठन धेरै बलियो रहेको छ सोही कारण हल्ला सीके राउतको पार्टीको भए पनि राउतको पार्टीभन्दा एमालेका उम्मेद्वार पौडेलको पक्षमा बढी मत आउने बलियो सम्भावना रहेको छ। जसपाका अध्यक्ष यादव बाहिरिया भएको, पटक पटक चुनाव जितेर सत्तामा गएर पनि खासै केही नगरेको जस्ता विभिन्न आरोप लगाउँदै केही मतदाताहरु उपेन्द्र भन्दा सीके राउत नै राम्रो भएको तथा मधेश र मधेशी जनताको हक अधिकार सीके राउतले मात्र दिलाउन सक्ने भनी सीके राउतको पार्टीलाई नै मत दिएर जिताउने बताएका छन्।

उपेन्द्र यादवले यस अघि आफूहरुको क्षेत्रबाट निर्वाचित सांसद रामसहाय प्रसाद यादवलाई नेपालकै सबभन्दा उच्च ओहोदाको पद उपराष्ट्रपति बनाएर आफूहरुको क्षेत्रका गौरव बढाउनुका साथै ठूलो मान सम्मान गरेको तथा बारा–२ का सरोज कुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाएको भन्दै आफूहरु उपेन्द्र यादवलाई नै मत दिने पचरौता नगरपालिका – ७ बेनौलिकी शारदा देवीले बताएकी छन्। उनले भनिन् उपेन्द्र यादवले विगतदेखि नै मधेश र मधेशी जनताको हक अधिकारका लागि लड्दै आएको र उनले गरेको मधेश जनविद्रोहको बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएको, प्रदेश २ को नाम मधेश प्रदेश नामकरण भएको, मधेशीले गर्वले मधेशी भन्न पाएको, सरकारी जागिरमा मधेशी कोटा निर्धारण गरिएको छ। मधेशका लागि लड्ने एक मात्र नेता उपेन्द्र यादव नै भएकोले हामी उपेन्द्र यादवलाई नै मत दिन्छौ उनले भनिन् । उपेन्द्र यादवले उपराष्ट्रपतिमा आफ्ना क्षेत्रका सांसद रामसहाय प्रसाद यादवलाई उम्मेदवार बनाउँदा उनलाई उपराष्ट्रपति बन्न बाट रोक्न सीके राउतले ममता झालाई उम्मेदवार उठाएकोले आफूहरु कुनै हालतमा सीके राउतको पार्टीका उम्मेदवारलाई मत नदिने करैयामाई गाउँपालिका – ८ बेलाहिका धर्मेन्द्र साह कलवारले बताए । आफ्ना क्षेत्रका सांसद रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बन्नबाट रोक्न खोज्ने सीके राउतसंग चुनावमाअब हिसाब किताब लिने बेला आएको कलवारले बताए । सीके राउतले मधेशको लागि केही गर्न नसक्ने बताउँदै अर्का स्थानीय किशोरी साहले मधेश र मधेशी जनतालाई उपेन्द्र यादवले मात्र अधिकार सम्पन्न बनाउन सक्ने भन्दै आफूहरु उपेन्द्र यादवलाई नै मत दिने बताए ।

किशोरी साह जस्ता विभिन्न पालिकाका अधिकांश व्यक्तिले मधेशको मुक्ति उपेन्द्र यादवले मात्र दिलाउन सक्ने भन्दै यादवलाई नै चुनाव जिताउने धारणा राखेका थिए। उपेन्द्र यादवले आफ्ना क्षेत्रका सांसद रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएर विकासको ढोका नै बन्द गरिदिएको र बाहिरबाट आएर चुनाव लडेको कारण त्यस्तो व्यक्ति चुनाव जितेर जाँदा विकास नगर्ने भन्दै आफूहरु आफ्नै धर्तीपुत्र जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहालाई नै मत दिएर जिताउने सुवर्ण गाउँपालिका – ३ का विजय कुशवाहाले बताए । अधिकांश व्यक्तिसंग हामीले चुनावको माहोल कस्तो छ, चुनाव जित्ने सम्भावना कसको छ भन्ने प्रश्न गर्दा पहिलो नम्बरमा जसपालाई नै रहेको बताएका थिए । त्यस्तै हल्ला जसपा र जनमतकै बढी भएको भए पनि जित जसपाकै हुने अधिकांशले बताएका थिए। उपनिर्वाचनमा अधिकांश मतदाताले उपेन्द्र यादवलाई नै मत दिएर जिताउने मनस्थिति बनाएको देखिएको छ । त्यस आधारमा छाताका उम्मेदवार उपेन्द्र यादवले करिब ७ देखि लिएर १५ हजार मतान्तरले चुनाव जित्ने सम्भावना रहेको देखिन्छ । जसपा अध्यक्ष उपेन्द्र यादव चुनाव जित्नका मुख्य आधारहरु बारा–२ यादवको बाहुल्य क्षेत्र भएको, जसपा संगठनमा पनि सबभन्दा मजबुत भएको, अन्य उम्मेदवार भन्दा उपेन्द्र यादव हेविवेट उम्मेदवार भएको, पाँच दलीय गठन्धनको समर्थन रहेको, यसै क्षेत्रबाट उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई बनाएको, मधेश प्रदेशका मुख्यमन्त्रीसमेत यसै जिल्लाका सरोज कुमार यादवलाई बनाएको छ । यी आधारका कारण उपेन्द्र यादवलाई चुनाव जित्न कुनै कठिनाई नहुने देखिएको छ।

Comment


Related News

Latest News

Trending News