
कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरी कडा सजाय दिन पीडित परिवारजनले माग गरेको छ ।
धनुषा जिल्लाको बहुअर्वामा विगत दुई वर्ष पूर्व छुरा प्रहार भएर उपचारको क्रममा मृत्यु भएका ३६ वर्षीय सरोज कुमार मण्डलकी श्रीमती चाँदनी मण्डलले सो माग गर्दै न्यायको लागि गुहार लगाएकी छिन् । बिहीबार मृतक सरोजको दोस्रो वार्षिक श्राद्ध समेत रहेको थियो ।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी चाँदनीले फरार रहेको आफ्नो श्रीमान्को हत्याका आरोपी मनिष कुमार मण्डललाई पक्राउ गरी कडा सजाय दिएर राज्यले न्यायको अनुभूति गराउनु पर्ने माग गरिन् । उनले भनिन्‘हत्या आरोपी खुलेआम घुमिरहेको छ मेरो त दुनिया नै उजाड भयो मलाई न्याय चाहियो ।’
२०७८ साल भदौ २६ गते धनौजी गाउँपालिका–५ बहुअर्वामा गणेशपूजाको मेला आयोजना गरिएको थियो । मेला हेर्न पुगेको भीडमा स्थानीय रामनन्दन मण्डलका छोरा सरोज मण्डल पनि थिए ।
मेलामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । राति करिब २ बजे अचानक दुई समूहबीच विवाद भयो । सरोजले त्यो झगडा मिलाउने प्रयास गरेका थिए । तर, अचानक सरोजको पेटमा धारिलो हतियारले प्रहार गरियो । मेलामा नाच हेरिरहेका बेला सोही गाउँका अमितकुमार मण्डल, मनिषकुमार मण्डल, राजीवकुमार मण्डल बीच आपसी विवाद भएको थियो । सोही विवादमा प्रतिवादी मनिष र राजिवले अमितको टाउकोमा हतियार प्रहार गरेको थियो ।
अमितलाई जोगाउने उद्देश्यले बजरंग राउत र सरोजकुमार मण्डल त्यहाँ पुगेको सरोजका बाबु रामनन्दन मण्डलले बताए ।
‘त्यहाँ पुग्ने बित्तिकै उनीहरूमाथि पनि छुरा प्रहार गरियो । बजरंगको तिघ्रामा र सरोजको पेटमा छुरा प्रहार गरी घाइते बनाइयो । सरोजको सोही बेलादेखि काठमाण्डुस्थित ट्रमा सेन्टर पछि ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो ।
उनी उपचारमै रहेको बखत १८ वर्षीय मनिषकुमार मण्डल र वडा नम्बर–४का २३ वर्षीय छोरा राजीवकुमार मण्डलमाथि ‘ज्यान मार्ने उद्योग’ मा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरियो ।
जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले हत्या अभियोग (ज्यान मार्ने उद्योग) मुद्दालाई सामान्य कुटपिटमा परिणत गरी प्रतिवादीलाई मुक्त गर्ने फैसला सुनाइएको थियो ।
फैसलामा प्रतिवादी राजीवकुमार मण्डलले गम्भीर घाइते सरोज मण्डलको उपचार खर्च बापत ४ लाख ९२ हजार २५९ रुपैयाँ, घाइते अनिल मण्डललाई ६९ हजार ३ सय र बजरंग प्रसाद राउतलाई ३ हजार १३० रुपैयाँको बिल भरपाईअनुसार उपचार खर्च उपलब्ध गराउने निर्णय गरियो ।
अदालतको आदेशबाट रिहा भएका व्यक्ति केही दिन नबित्दै विदेश गएको पीडित परिवारजनले बताए । यता, घाइते सरोजको उपचार कै क्रममा मृत्यु भयो ।
ज्यान मार्ने उद्योग मुद्दालाई कुटपिटमा परिणत गरी पक्राउ प्रतिवादीहरू मनिष कुमार मण्डल र राजीव कुमार मण्डल कारागारबाट थुनामुक्त भएका थिए । सरोज उपचार कै क्रममा रहेको अवस्थामा २०७८ चैत २८ गते बिहान ९ बजेको समयमा उनको काठमाण्डु स्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको थियो ।
छोराको मृत्युपश्चात् सरोजका बुबा रामनन्दन मण्डलले २०७९ वैशाख ४ गते प्रतिवादीहरूलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा आवश्यक कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए ।
प्रहरीले जाहेरी दर्ता गरी फरार प्रतिवादीहरू मनिष कुमार मण्डल र राजीव कुमार मण्डललाई पक्राउ गर्न जिल्ला अदालतबाट वैशाख ५ गते पक्राउ अनुमति पाएका थिए ।
प्रतिवादीहरू मध्येका राजीव कुमार मण्डल २०७८ फागुन १३ गते वैदेशिक रोजगारीको सिलसिलामा कतार गइसकेका थिए ।
उनी कतारको स्नेहीया राइट साइड स्टेट नं.४५ क्याम्पको कतार मास्टर कम्पनीमा काम गरिरहेको कुरा धनुषा प्रहरीले अनुसन्धानको क्रममा पत्ता लगाई उनलाई कतारबाट पक्राउ गरेर ल्याउन नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखालाई पत्राचार गरेको थियो । राजीवलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलाश तथा पक्राउ गर्नका लागि ‘रेड कर्नर नोटिस’ जारी गरी उनलाई तालुक कार्यालयको समन्वयमा नेपाल ल्याइएको थियो ।
मनिष कुमार मण्डल अझै पनि खुलेआम घुमिरहेको भन्दै उसलाई नेपाल प्रहरीले पक्राउ गर्नु पर्ने माग पीडित परिवारजनको रहेको छ । मृतक मण्डलको ९ वर्षीय एक छोरा र ६ वर्षीया छोरी रहेको छ । उनका दाइको पनि केही दिन अघि जनकपुरधाम उपमहानगरपालिका–४ क्याम्पस चोकस्थित विद्युतको करेन्ट लागि मृत्यु भएको थियो ।
आरोपी मनिष कुमार मण्डल वैदेशिक रोजगारीको क्रममा कतारमा रहँदै आएको स्थानीयवासीहरुले बताएका छन् ।